१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

‘अर्काे विश्वयुद्ध रोक्न राष्ट्रसंघ सफल’

तस्बिर : संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुन

न्युयार्क– संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको सक्रियताका कारण पछिल्लो ७० वर्षमा अर्काे विश्वयुद्ध नभएको र यसलाई रोक्ने काममा सफलता प्राप्त भएको बानले बुधबार संयुक्त राष्ट्रसंघमा आयोजित एउटा कार्यक्रममा बताए ।  ‘सन् १९४५ मा राष्ट्रसंघको स्थापना भएपछि विश्व समुदायले अर्काे विश्वयुद्ध रोक्ने कार्यमा सफलता प्राप्त गरेको हो, त्यसैले विश्वमा राष्ट्रसंघको प्रशंसा पनि हुने गरेको छ,’ पूर्वमहासचिव मुनले बताए।

उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा आफ्नो धारणा राख्दै यस्तो विषय राखेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । विश्वमा शान्ति स्थापना र कायम गर्ने कार्यमा संयुक्त राष्ट्रसंघको भूमिकाको विषय सुरक्षा परिषद्मा मुनले प्रवचन दिएका थिए।

‘यो नै एकमात्र विश्व संस्था हो जसले विश्वमा विभिन्न स्थानमा जारी रहेका द्वन्द्वको बाबजुद पनि अर्काे विश्वयुद्धको खतरालाई टार्न सकेको छ,’ वर्तमान विश्वमा शान्ति व्यवस्थाको स्थापना र कायम गर्ने कार्यमा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा उनले बताए।   

उनले विश्वमा शान्ति स्थापनाका साथै गरिबी निवारण, जनस्वास्थ्यको उपलब्धता र आवश्यकता तथा नागरिकमा शिक्षा र स्वास्थ्यको पहुँचजस्ता कार्यमा पनि विश्व संस्थाको रूपमा रहेको संयुक्त राष्ट्रसंघले ठूलो योगदान पु¥याइरहेको धारणा पनि सम्बोधनका क्रममा राखेका थिए । विश्वमा शान्ति स्थापना लगायतका कार्यका लागि उनले विश्व समुदायलाई विशेष धन्यवाद पनि दिए ।  गरिबी निवारण, शिक्षा तथा स्वास्थ्यको पहुँचजस्ता विषय र क्षेत्रहरुमा विश्व समुदायको समन्वयात्मक सहयोग र योगदान नभएको भए यसको कुनै सम्भावना हुँदैन थियो, सम्बोधनका क्रममा उनले बताए।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा राष्ट्रसंघको बडापत्रका बारेमा सन् २०१५ पछिको यो तस्रो बैठक हो । महासचिव मुनले सो बैठकमा विश्वमा शान्तिको अवस्था, यसका चुनौतीका साथै यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा विशेष मन्तव्य राखेका थिए।

दोस्रो विश्वयुद्धपछि विश्वमा शान्ति स्थापना गर्ने र सम्भावित अर्काे विश्वयुद्धको अवस्थालाई रोक्ने उद्देश्यका साथ सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको हो।

त्यसयता विश्वयुद्ध नै भनेर कुनै विश्वव्यापी युद्ध नभएको भए पनि राष्ट्रसंघले विश्वमा शान्ति र व्यवस्था कायम गर्ने उद्देश्यअनुरुप भने काम गर्न हुन नसकेको चर्चा हुने गरेको छ।विश्वयुद्धकै नाममा नभए पनि सिरिया, अफ्गानिस्तान, इराकलगायतका विश्वका कतिपय देशहरुमा लाखौं लाख नागरिक मारिएका छन् । यस्तो कार्यमा पनि विश्व संस्थाको रुपमा रहेको संयुक्त राष्ट्रसंघको भूमिका सशक्त हुनुपर्ने आवाज सर्वत्र उठ्ने गरेको पाइन्छ ।

प्रकाशित: ११ फाल्गुन २०७४ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App