coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेतान्याहुद्वारा इरानको कडा आलोचना

म्युनिख – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान विश्वका लागि ठूलो चुनौती भएको भन्दै कडा शब्दमा आलोचना गरेका छन् । जर्मनीको म्युनिखमा आयोजना भएको सुरक्षा सम्मेलनमा बोल्दै इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानप्रति कडा शब्दमा आलोचना गरेका हुन् । उनले इरानले आतंकको माध्यमबाट मध्यपूर्व क्षेत्रमा प्रभाव जमाउन खोजिरहेको आरोपसमेत लगाएका छन्।

सुरक्षा सम्मेलनमा सम्बोधन राख्दै नेतान्याहुले इरानको शासनलाई आफ्नो घाँटी वरपर आतंकको सिर्जना गर्न इजरायलले कुनै पनि हालतमा नदिने बताएका छन् । नाटकीय शैलीमा मन्तव्य राखेका नेतान्याहुले इजरायलले गोली हानेर खसालेको भनिएको इरानी ड्रोनको टुक्रा आफ्नो हातले उचालेर इरानका विदेशमन्त्री मोहम्मद जाबेद जरिफलाई देखाएका थिए।

‘जरिफ तपाईं यो बस्तुलाई चिन्नु हुन्छ? तपाईंले यो चिन्नु पर्छ । यो तपाईंकै हो,’ नेतन्याहुले इरानी विदेश मन्त्री जरिफतर्फ संकेत गर्दै सोधेका थिए । उनले निरंकुश इरानी शासनलाई इजरायलको परीक्षण नगर्ने सन्देश लगिदिन पनि जरिफलाई आग्रह गरेका थिए । इजरायली प्रधानमन्त्री नेतान्याहुको आरोपलाई इरानी विदेश मन्त्री जरिफले भने ‘कार्टुन जस्तै’ भएको भन्दै प्रतिक्रिया दिन लायक नरहेको टिप्पणी गरेका थिए।

म्युनिखमा भएको सुरक्षा सम्मेलनमा नेतान्याहुले इजरायलको सुरक्षालाई चुनौती दिने गरी सिरियामा अखडाहरु बनाउने इरानी योजनालाई विफल तुल्याइदिने प्रतिबद्धतासमते व्यक्त गरका छन् । गत साता इरानी ड्रोनलाई गोली हानी खसालिएको घटनालाई इजरायल र इरानी सेनाबीचको पहिलो भीडन्त मानिएको छ।

नेतान्याहुले सन् २०१५ मा विश्वका विभिन्न देशले इरानसँग गरेको परमाणु सम्झौताको आलोचनासमेत गरे । उक्त सम्झौताले ‘इरान रूपी बाघलाई झनै खतरनाक’ बनाइदिएको नेतान्याहुले सम्बोधनका क्रममा बताएका छन्  । अमेरिकाको पूर्व विदेशमन्त्री जोन केरीले इजरायली प्रधानमन्त्री नेतान्याहुले भनेको जस्तै इरान अबको एक दशकमा आणविक बम सम्पन्न राष्ट्र हुन्छ भन्ने भनाइलाई वास्तविक रूपमै सही नभएको भन्दै प्रतिवाद गरेका छन्।

नेतान्याहुपछि सुरक्षा सम्मेलनमा बोलेका इरानी विदेशमन्त्री जरिफले खाडी क्षेत्रमा रहेको राष्ट्रहरुका लागि नयाँ सुरक्षा व्यवस्थाको माग गरेका छन् । उनले खाडी क्षेत्रमा नयाँ सुरक्षा व्यवस्था भएन भने अशान्ति फैलने चेतावनीसमेत दिएको बिबिसीले उल्लेख गरेको छ । उनले इरानले समग्र खाडी क्षेत्रमा अस्थीरता फैलाइरहेको भन्ने आरोपको समेत खण्डन गरेका छन् । उनले खाडी क्षेत्रमा इरानले अस्थीरता फैलाउन सक्ने सम्भावना नभएको भन्दै यस विषय आफ्नो देशको राष्ट्रिय स्वार्थसमेत नभएकाले आफूहरुले वार्ताको माग गरेको बताए।
उनले इजरायलले छिमेकी राष्ट्रहरुविरुद्ध उदण्डताको नीति लिएको आरोप लागाए।

प्रकाशित: ७ फाल्गुन २०७४ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App