१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

पूर्वराष्ट्रपति पार्ककी साथीलाई २० वर्ष जेल सजाय

सोल– दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हायकी नजिककी साथी चोई सुन–सिललाई २० बर्षको जेल सजाय तोकेको छ ।

पूर्व राष्ट्रपति पार्ककी सल्लाहकारसमेत रहेकी चोईलाई भ्रष्टाचार र राजनीतिक शक्तिको दुरुपयोग गरेको आरोपमा मंगलबार अदालतले उक्त निर्णय गरेको हो । पूर्वराष्ट्रपति पार्क ग्युन हायविरुद्ध महाभियोग लगाउने दक्षिण कोरियाली संसदको निर्णयलाई अदालतले सदर गरेको दुई दिनपछि राष्ट्रपतिबाट पदच्युत गरिएकी पार्ककी साथी चोई सुन–सिललाई जेल सजाय तोकिएको छ ।

लामो समयसम्म पूर्व राष्ट्रपति पार्कलाई सघाएकी चोईलाई हिरासतमा राखिएको १५ महिनापछि अदालतले २० वर्षको जेल सजाय ताकेको हो । राष्ट्रपतिलाई प्रभावमा पारी आर्थिक अपचलन तथा भ्रष्टाचार गरेको आरोपलाई पुष्टि गर्दै अदालतले चोईलाई २० बर्षको जेल सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका  छन् ।
 
दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति पार्कलाई महाभियोगसम्म लागेको ठूलो भ्रष्टाचार काण्डको चोई मुख्य केन्द्रविन्दु रहेकी थिइन् । महाभियोग लागेर पदच्युत भएकी पार्कविरुद्ध आधा दर्जनभन्दा बढी मुद्दामा अदालतमा सुनुवाई चलिरहेको भएपनि उनले आफूले केही गल्ती नगरेको बताउँदै आएकी छिन् ।

२० वर्षको सजाय तोकिएकी चोईको वकिलले सजायको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।चोईमाथि राष्ट्रपतिसँगको सम्पर्कको दुरुपयोग गर्दै सामसुङ इलेक्टोनिक्स र लट्टेसहित विभिन्न व्यापारिक संस्थालाई आफूले सञ्चालन गरिरहेको गैर सरकारी संगठनलाई चन्दा दिन दबाब दिएको आरोप लागेको छ ।

राजधानी सोलस्थित केन्द्रीय जिल्ला अदालतले चोईलाई एक करोड ६६ लाख डलर बराबरको विगो भर्नसमेत आदेश दिएको छ । पूर्व राष्ट्रपति पार्कलाई चोईसँग मिलेर भ्रष्टाचार  गरेको आरोप लागेको छ । उनी अहिले हिरासतमा नै छिन् र उनीविरुद्धको मुद्दामा यस महिनाको अन्त्यतिर फैसला हुने अपेक्षा गरिएको छ ।

मंगलबार २० वर्षको जेल सजाय पाएकी चोईलाई अर्को फरक भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय तोकि सकिएको छ । आफ्नी छोरीको इच्छालाई पूरा गर्नका लागि आफ्नो पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोपमा उक्त सजाय भएको थियो ।

सोही मुद्दामा, लट्टे समूहका अध्यक्ष सिन डोङ–विनलाई पनि चोईलाई करोडौं घुस दिएको आरोपमा दोषी ठहर गर्दै अदालतले दुई वर्ष ६ महिना जेल सजाय तोकेको थियो । त्यसैगरी सोही मुद्दामा नै सामसुङ कम्पनीका उपाध्यक्षलाई राजनीतिक प्रभावमा परेर चोईलाई चन्दा दिएको आरोपमा जेल हालिएको थियो, तर उनी यसै महिनाको सुरुमा जेलमुक्त भएका छन् ।

पार्कलाई २०१७ को मार्च महिनामा दक्षिण कोरियाको संसद्ले महाभियोग लगाउँदै पदच्युत गरेको थियो । उनी पदबाट हट्न बाध्य बनाइएकी दक्षिण कोरियाको प्रथम प्रजातान्त्रिक राष्ट्रपतिसमेत हुन् ।राष्ट्रपतीय उन्मुक्ति गुमाएपछि पार्कविरुद्ध घुस लिएको, राज्य शक्तिको दुरुपयोग गरेको र गोप्य सूचना चुहावट गरेको आरोपमा मे महिनाबाट अदालतमा जाँचबुझ कार्य भइरहको छ ।

 

प्रकाशित: २ फाल्गुन २०७४ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App