१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

जियालाई रिहा गर्न माग गर्दै हजारौंको प्रदर्शन

ढाका – भ्रष्टाचारको अभियोगमा थुनामा रहेकी प्रतिपक्षी दलकी नेत्री तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइको माग गर्दै बंगलादेशका विभिन्न सहरमा सोमबार प्रदर्शन भएका छन् ।

 करिब १५ करोड जनसंख्या भएको बंगलादेशमा दुई पटकसम्म प्रधानमन्त्री रहेकी जियालाई बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको अन्तर्राष्ट्रिय सहयोग हिनामिना गरेको अभियोगमा गत साता विशेष अदालतले दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय तोकेलगत्तै जेल चलान गरिएको थियो ।

उनका समर्थकले भने अदालतको उक्त निर्णय राजनीतिबाट प्रेरित रहेकाले आदेश मान्न नसक्ने बताउँदै उनको रिहाइको माग गरेका छन् ।  बंगलादेश नेस्नालिस्ट पार्टी (बिएनपी)ले जियाविरुद्ध विशेष अदालतले गत साता गरेको फैसलामा पुनरावेदन गर्ने अपेक्षा गरिएको छ । जियाविरुद्ध अदालतबाट भएको निर्णयले आगामी डिसेम्बर महिनामा हुनेगरी तय भएको संसदीय निर्वाचनमा बिएनपीलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ ।

 बिएनपी समर्थक हजारौं नागरिकले ढाकास्थित जेलमा रहेकी जियाको रिहाइको पक्षमा देशैभर प्रदर्शन गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
 ‘हामी जियाको तत्काल रिहाइ र स्वच्छ तथा निष्पक्ष निर्वाचनको माग गर्दछौं,’ बिएनपी महासचिव फाखरुल इस्लाम अलामगिरले नेसनल प्रेस क्लब ढाकामा आयोजित विरोध कार्यक्रममा करिब पाँच हजार प्रदर्शनकारीबीच बताए ।

७२ बर्षीया जियाविरुद्धको फैसलामा पुनरावेदन भएमा उनी धरौटीमा रिहा हुने अपेक्षा गरिएको छ । तर उनलाई सत्ताधारी दलले अन्य आरोपमा पुनः पक्राउ गरी उनको ख्यातीमा दाग लगाउने खेल हुनसक्ने विपक्षी दलका समर्थकबीच भय रहेको एएफपीले जनाएको छ । जियाविरुद्ध दर्जनौं अपराध तथा भ्रष्टचारका अभियोग  लगाइएका छन् ।
उनीविरुद्ध लागेका अन्य मुद्दाका कारण उनले सन् २०१४ को निर्वाचनमा पनि सहभागी हुन पाएकी थिइनन् । त्यसबेला पनि उनको समर्थनमा बंगलादेशका विभिन्न क्षेत्रमा प्रदर्शन भएका थिए ।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App