७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

दोस्रो विश्वयुद्धको बम भेटिएपछि लन्डन विमानस्थल बन्द

लन्डन – लन्डनको थेम्स नदीमा दोस्रो विश्वयुद्धको दुईवटा बम भेटिएपछि सोमबार लन्डन सिटी विमानस्थलमा आउने र विमानस्थलबाट बाहिरिने सबै उडान रद्ध भएका छन् ।नपड्किएको आधा टन वजनका ती बम थेम्स नदीले बगाएर थुप्रिएको माटोमुनि गाडिएको अवस्थामा भेटिएपछि विमानस्थल बन्द गरिएको अधिकारीहरुले बताएका छन् ।

पूर्वी लन्डनको जर्ज भी डकमा रहेको ती बम मंगलबार बिहानसम्ममा हटाइसक्ने प्रहरीले अपेक्षा गरेका छन् । आइतबार विमानस्थलमा काम भइरहेको बेला ती बम भेटिएपछि करिब दुई सय मिटर आसपासको क्षेत्रलाई निषेधित क्षेत्र बनाइएको थियो ।

निषेधित क्षेत्रभित्रका सम्पत्तिलाई सुरक्षित स्थलतर्फ सारिएको र कैयौं सडकलाई प्रहरीले सुरक्षा दिएको लन्डन महानगरीय प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।‘ती बमहरु हटाउन लाग्ने समय नदीको छालमा भर पर्छ, तरपनि अहिलेको अवस्थासम्म हामीले उक्त क्षेत्रबाट ती बमहरु भोली बिहानसम्म हटिसक्ने अनुमान गरेका छौं,’ प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रहरीले ती बम नदीको माटोको बाक्लो तहमुनि रहेको बताएको छ ।

लन्डन सिटी विमानस्थल लन्डनको पाँचौं ठूलो विमानस्थल हो । यो विमानस्थल विशेष गरेर व्यापारिक यात्रुका लागि प्रख्यात रहेको रोयटर्सले जनाएको छ । लन्डन सहरको प्रमुख आर्थिक जिल्ला नजिकै रहेको उक्त विमानस्थल लन्डनको सबैभन्दा केन्द्रविन्दुमा रहेको विमानस्थल हो ।

लन्डनको पूर्वी डकल्यान्ड क्षेत्र सन् १९४० को दशकमा प्रमुख व्यापारिक केन्द्रस्थल थियो । दोस्रो विश्वयुद्धमा जर्मन विमानले उक्त क्षेत्रमा ठूलो मात्रामा बम खसालेको थियो । व्यापक पुनर्निर्माणपछि लन्डन सिटी विमानस्थल सन् १९८७ मा सुचारु गरिएको थियो ।

नपड्किएको अवस्थाका दोस्रो विश्वयुद्धका बम भेटिएपछि विमानस्थलले यात्रुलाई सोमबार त्यहाँ यात्रा नगर्न आग्रह गरेको थियो । क्षेत्रीय विमान कम्पनी सिटीजेटले उक्त विमानस्थलबाट हुने सम्पूर्ण उडानहरु लन्डन साउथेन्ड विमानस्थलबाट गर्ने तालिकाको विवरण सार्वजनिक गरेको थियो भने इटालीको एलीटालिया विमान कम्पनीले लन्डनको स्टान्सटेड विमानस्थलबाट उडान भरेको थियो ।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App