१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इटालीमा रेल दुर्घटना, कम्तीमा तीनको मृत्यु

मिलान– इटालीको आर्थिक सहर मिलान नजिकै बिहीबार भएको रेल दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।रेल दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको अग्निनियन्त्रक अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

रेल ट्रयाकबाट छुटिएपछि दुर्घटना भएको इटालीको रेल कम्पनी फेर्रोभी डेल्लो स्टाटोले विज्ञप्तिमार्फत जनाएको छ । ट्रेनोर्डले सञ्चालन गरिरहेको क्षेत्रीय रेल पियोटेल्लो लिमिटो स्टेसनमा आफ्नो ट्रयाकबाट बाहिरिएपछि दुर्घटना भएको थियो । रेल दुर्घटना भएको क्षेत्र मिलानबाट करिब ४० किलोमिटर पर रहेको बताउँदै ती अधिकारीले सम्भावित अन्य क्षतिका बारेमा भने केही नबताएको रोयटर्सले जनाएको छ ।

‘दुर्घटनामा तीनदेखि पाँच जनाको मृत्यु भएको छ भन्ने हालसम्म हामीले पाएको जानकारी हो,’ अग्निनियन्त्रण कार्यालयका अधिकारीले रोयटर्सलाई बताए । राइन्युज २४ र स्काइटिजि २४ टेलिभिजन च्यानलले आपतकालीन सेवालाई उद्धृत गर्दै कम्तीमा दुईको मृत्यु भएको र १० जना गम्भीर घाइते भएको रिपोर्ट सार्वजनिक गरेका छन् । टेलिभिजनमा देखाइएको दृश्यमा अग्निनियन्त्रकहरुले दुर्घटनाग्रस्त रेलको डिब्बाबाट घाइतेलाई बाहिर निकाल्न प्रयास गरिरहेको देखाइएको छ ।

‘दुर्घटनापछि मिलान र नजिकैको सहर ब्रेससिया सञ्चालन हुने रेलसेवा स्थगित गरिएको छ,’ फेर्रोभी डेल्लो स्टाटोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ट्रेनोर्ड रेलवे सेवा एफएनएम र राज्यको रेलवे अपरेटरको एउटा इकाई समूह फेर्रोभी डेल्लो स्टाटाको संयुक्त लगानी हो ।एफएनएमले पनि विज्ञप्ति निकाल्दै पियोटेल्लोमा भएको रेल दुर्घटनाको पुष्टि गरेको छ । उसले आफ्नो अध्यक्ष एन्ड्रिया गिबेल्ली घटनास्थलको निरीक्षणमा गरेको बताएको छ । दुर्घटनामा भएको क्षतिका बारेमा भने एफएनएमले केही पनि जानकारी दिएको छैन ।

 

 

प्रकाशित: १२ माघ २०७४ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App