८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कन्डमको विज्ञापन राति अबेर

नयाँ दिल्ली- भारतीय टेलिभिजनमा अबदेखि कन्डमको विज्ञापन राति अबेर मात्रै दिन पाइने भएको छ ।
बालबालिकाले कन्डमको विज्ञापन हेर्न अनुचित हुने भन्दै कन्डमको विज्ञापन अबेर राति मात्रै प्रसारण गर्न मिल्ने नयाँ प्रतिबन्ध सोमबारबाट लागू गरिएको बताइएको छ ।
नयाँ प्रतिबन्धअनुसार भारतीय टेलिभिजनहरुले समाचार बुलेटिन प्रसारण गर्नु अगाडिको सर्वाधिक हेरिने समय (प्राइम टाइम) मा कन्डमको विज्ञापन प्रसारण गर्न नपाउने भएका हुन् । भारतको सूचना तथा प्रसारण मन्त्रालयले अब कन्डमको विज्ञापन राति १० देखि बिहान ६ बजेसम्म मात्रै प्रसारण गर्न पाउने बताएको छ । कन्डमको विज्ञापनलाई बालबालिकाले नहेरुन् भनेर यस्तो नियम ल्याइएको बताउँदै भारतीय सञ्चार मन्त्रालयले सबै टेलिभिजन प्रसारकलाई सरकारको नियम मान्न आग्रह गरेको छ । मन्त्रालयले सबै टेलिभिजन च्यानलका नाममा जारी गरेको सुझावमा कन्डम निश्चित उमेर समूहका मानिसका लागि भएकाले बालबालिकाले हेर्नु उचित नहुने बताएको छ ।

साँझ प्राइम समयमा भारतका बालबालिकामात्र नभएर सबैजसो परिवारले नै टिभी हेर्ने र यसरी परिवारसँगै बसेर टिभी हेर्दा अशिष्ट लाग्ने भएकोले त्यस समयमा नभएर अरु नै बेलामात्र कन्डमको विज्ञापन गर्न मन्त्रालयले सूचना जारी गरेको छ । भारतमा करिब नौ सय टेलिभिजन च्यानल छन् । भारतीय सञ्चार मन्त्रालयले जारी गरेको सूचना भारतभरका सबै टेलिभिजन च्यानलका लागि भएको बताइएको छ ।
भारतका सबै टेलिभिजन च्यानललाई बिहान र बेलुकाकोे समयमा विज्ञापन गर्न नपाउनेगरी उक्त मन्त्रालयले सूचना जारी गरेको बताइएको छ ।
भारत सरकारले उसको यस्तो निर्णय बालबालिकाको सुरक्षामा कुनै खतरा नआओस् वा अस्वस्थ परम्परामा बालबालिको कुनै इच्छा नजागोस् भन्ने नियममा आधारित भएर ल्याइएको बताएको छ ।

यौन र गर्भ निरोधक बारेमा खुला रुपमा कुराकानी गर्न भारतमा अझै पनि बन्देज रहेको छ । भारतको संकिर्ण सामाजिक मान्यताका कारण अझैपनि धेरै पुरुष तथा महिला पसलमा गएर कन्डम किन्न हच्किन्छन् । जसका कारण भारतको ग्रामीण क्षेत्रमा कन्डमको न्यून प्रयोग रहेको छ । भारत सरकारले उसको समुदायमा आधारित एड्स रोकथाम कार्यक्रमअन्तर्गत सित्तैमा कन्डम वितरण गर्ने गरेको छ ।

 

प्रकाशित: २७ मंसिर २०७४ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App