१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

चुलियो कतार संकट : फोन वार्तापछि साउदी आक्रोशित

रियाद- लामो समयदेखि जारी रहेको कतार संकट समाधानका लागि कतारका नरेश र साउदीका राजकुमारबीच टेलिफोन वार्ता भएको केही समयपछि साउदी अरबले कतारसँगको वार्ता स्थगित गरेको बताएको छ । कतार र उसका छिमेकी साउदी अरब, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्सबीच लामो समयदेखि विद्यमान कूटनीतिक समस्या समाधानका लागि वार्ता गर्ने विषयमा कतारका नरेश सेख तामिम बिन हमाद अल–थानी र साउदीका राजकुमार मोहम्मद बिन सलमानबीच टेलिफोन वार्ता भएको थियो ।  दुई पक्षबीच टेलिफोनमा संकट समाधानका विषयमा छलफल भएको केही सयमपछि कतारले फोन वार्ताबारेका तथ्य तोडमोड गरेको साउदी अरबले आरोप लगाउँदै दोहासँगको वार्ता अन्त्य गरेको बताएको छ ।

साउदी अरब, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्सले आतंकवादलाई समर्थन र सहयोग गरेको आरोप लगाउँदै जुन ५ देखि कतारसँगका सम्पूर्ण कूटनीतिलगायतका सम्बन्ध विच्छेद गरेका छन् । यति मात्रै नभई कतारसँगको नजिकको छिमेकी साउदीले जमिन, हवाई र सामुद्रिक नाका सबै बन्द गरेको छ भने अन्य तीन देशले पनि हवाई र सामुद्रिक नाका बन्द गरेका छन् । कतारले भने आफूले आतंकवादलाई सहयोग गरेको भन्ने छिमेकीको आरोपलाई  अस्विकार गर्दै आएको छ ।

जारी संकट समाधान गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार दुवै पक्षसँग अलग अलग कुराकानी गरेपछि उनीहरुबीच फोन वार्ता भएको थियो । शुक्रबार ट्रम्पले खाडी क्षेत्रमा स्थायित्व कायम गर्न र इरानको चुनौतिलाई सामना गर्नका लागि संयुक्त राज्य अमेरिका र अरब राष्ट्रबीच एकता हुनुपर्ने विषयमा जोड दिएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपति ट्रम्पले आतंकवादलाई परास्त गर्न, उनीहरुलाई आर्थिक सहयोग बन्द गर्न र अतिवादी विचारलाई समर्थन नगर्न सबै राष्ट्रले प्रतिबद्धता व्यक्त गर्नुपर्ने विषयमा जोड दिएको ह्वाइट हाउसले जनाएको छ ।

कतारी नरेश र साउदीका राजकुमारको फोनमा कुराकानी भएपछि जारी संकट समाधानमा महत्वपूर्ण कदम हुने ठानिएको थियो । उनीहरुबीचको टेलिफोन कुराकानी जुन महिनाबाट सुरु भएको खाडी संकटपछि पहिलो पटक रियाद र दोहाबीच भएको औपचारिक कुराकानी थियो । साउदी अरबले एक्कासी कतारसँगको वार्ता स्थगित गरेको घोषणा गरेपछि भने दुई देशबीचको सम्बन्ध थप बिग्रिएजस्तो देखिएको बिबिसीले जनाएको छ ।

दुवै देशका राज्य सञ्चालित सञ्चारमाध्यमले कतारका नरेश सेख तामिम बिन हमाद अल–थानी र साउदीका राजकुमार मोहम्मद बिन सलमानले टेलिफोन कुराकानीमा कतार संकट समाधानका लागि वार्ताको आवश्यकता रहेको विषयमा कुराकानी भएको जनाएका थिए ।

साउदी अरबको सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीले कतारका नरेशले चार राष्ट्रले राखेको मागका बारेमा छलफल गर्न वार्ताको टेबलमा बस्न इच्छा व्यक्त गरेको उल्लेख गरेको थियो । यस विषयमा साउदी अरबले बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्ससँग थप छलफल गरेपछि विस्तृत जानकारी दिने विषयमा कुराकानी भएको जनाइएको थियो । यसैबीच कतार समाचार एजेन्सीले भने साउदीका राजकुमारले दुवै देशको सार्वभौमिकतालाई प्रभावित नपार्ने गरी विवादित विषयमा समाधान गर्नका लागि दुई जना विशेष दूत नियुक्त गर्ने प्रस्ताव गरेको उल्लेख गरेको थियो । तर केही समयमा नै साउदी अरबले वार्ताका लागि कतार गम्भीर नभएको आरोप लगाउँदै दुई देशबीचको सम्पर्क तत्कालका लागि स्थगित गरेको घोषणा गरेको थियो । कतारी सञ्चारमाध्यमले कतारी नरेश र साउदीका राजकुमारबीच भएको टेलिफाने कुराकानी दोहाको पहलमा भएको प्रष्ट नपारेको भन्दै रियाद रुष्ट भएको विभिन्न पर्यवेक्षकले अनुमान गरेको बिबिसीले जनाएको छ ।

कतारमाथि नाकाबन्दी लगाइरहेको साउदी अरब, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्सले समस्या समाधानका लागि कतारसमक्ष १३ बुँदे शर्त अगाडि सारेका छन् । जसमा कतारको आर्थिक सहयोगमा सञ्चालन भइरहेको अल–जजिरा टेलिभिजन बन्द गराइनुपर्ने र इरानसँगको उसको कूटनीतिक सम्बन्ध खारेज गरिनुपर्ने लगायतका छन् ।

प्रकाशित: २५ भाद्र २०७४ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App