७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकाको भर्जिनियामा हिंसा, एकको मृत्यु

अमेरिकाका भर्जिनियास्थित चार्लोटेस्भिल्लामा गोरा राष्ट्रवादीको प्रदर्शनका क्रममा कारले ठक्कर दिएर भागेपछि घाइते भएकाको प्राथमिक उपचार गरिँदै । तस्बिर ः एएफपी

वासिङ्टन– अमेरिकाको भर्जिनिया राज्यको चार्लोटेस्भिल्लामा गोरा जातिको सर्वोच्चताको माग गर्ने समूह र विपक्षीबीच तनाव चर्किएपछि भएको हिंसामा एक महिलाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्।

गोरा जातिले आफ्नो सर्वोच्चताको माग गर्दै गरेको आन्दोलनको विरोधमा उत्रिएका प्रदर्शन विरोधीहरुको समूहमा एउटा कारले ठक्कर दिँदा ती महिलाको मृत्यु भएको र १९ जना घाइते भएको बिबिसीले जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनाको निन्दा गरेका छन् । उनले हिंसालाई विभिन्न कोणबाट भत्सर्ना गरेपनि अतिवादीहरुको विरोध गरेनन् । गोरा राष्ट्रवादी समूहको आन्दोलनको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी प्रतिक्रिया दिएको भन्दै त्यसको चौतर्फी विरोध भएको छ। 

रिपब्लिकन सिनेटर कोराी गार्डेनरले राष्ट्रपति ट्रम्पलाई खराब व्यक्ति भएको भनेर सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रदर्शनमा गोरा अतिवादी समूहको हात रहेको र त्यो घरेलु आतंकवाद भएको सिनेटर गार्डेनरको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनको भनाईलाई अन्य रिपब्लिकन सिनेटरहरुले पनि समर्थन गरेका छन्। 

शनिबार सयौं गोरा राष्ट्रवादीहरुले ‘युनाइट द राइट’ नाम दिइएको प्रदर्शन गरेका थिए । अमेरिकाको दक्षिणी गृहयुद्धका नायकको शालिक हटाउने सरकारी निर्णयको विरोधमा उनीहरुले उ्रक्त प्रदर्शनको आयोजना गरेका थिए । अति दक्षिणपन्थी प्रदर्शनकारीमा नव नाजिवादी र कु क्लक्स क्लानका सदस्य रहेका थिए । प्रदर्शनका क्रममा ती अतिवादी समूहको प्रदर्शन विरोधी समूहसँग झडप भएपछि प्रदर्शनले हिंसाको रुप धारण गरेको थियो । आन्दोलनकारी र आन्दोलन विरोधी व्यक्तिबीच भएको आन्दोलनका क्रममा एकले अर्कालाई मुक्का प्रहार गरेका थिए । त्यसैगरी उनीहरुले एक अर्कालाई मरिचको धुलोको स्प्रे छर्केका थिए । जब प्रदर्शनकारीको र्‍याली फैलिँदै गयो त्यही बेला प्रदर्शन विरोधी समूहलाई लक्षित गरी एउटा कारले जथाभावी दौडाउँदा घटना भ्रएको थियो । कार चालक आहायो राज्यका २० वर्षे जेम्स फिल्ड्सलाई हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ र घटनाको न्यायिय छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (एफबिआई)ले अनुसन्धान सुरु गरेको बिबिसीले जनाएको छ।

प्रदर्शनका क्रममा कारले ठक्कर दिएर भएको घटना बाहेक पनि अति दक्षिणपन्थी समूहको मार्चपासको कार्यक्रममा कम्तीमा १५ जना घााइते भएको चार्लोटेस्भिल्ला प्रहरीले जानकारी दिएको छ । भर्जिनिया राज्यका गभर्नर टेरी म्याअलफीले चार्लोटेस्भिल्लामा आएका गोरा जातिको सर्वोच्चता चाहने प्रदर्शनकारीलाई घर जान भनेका छन् । उनले भने, ‘तपाईंहरुले सबैलाई दुःखी बनाउनु भयो । मेरो सन्देश स्पष्ट छ । हामी बलिया छौं । तपाईंहरु सफल बन्नु हुँदैन । तपाईंहरुलाई यहाँ कुनै ठाउँ छैन । तपाईंहरुलाई अमेरिकामा कुनै ठाउँ छैन।’

चार्लोटेस्भिल्लामा प्रदर्शनमा उत्रिएका गोरा राष्ट्रवादीहरु मिलिसिया समूह, रंगभेदी र नव नाजिवादी समूह हुन् र उनीहरु आफ्नो दक्षिणी इतिहासलाई जोगाउन चाहेको बताउने गरेका छन् । शनिबार बिहानै उनीहरु इमानिसिपेसन पार्कमा जम्मा भएका थिए । गोरा राष्ट्रवादीहरुले चार्लोटेस्भिल्ला नगरबाट रोबर्ट इ ली नाम गरेका अमेरिकी गृहयुद्ध ताकाका जनरलको सालिक हटाउने निर्णयको विरोध कार्यक्रम गरेका थिए।

उक्त पार्कमा जनरल लीको सालिक रहेको थियो जसलाई सरकाले ढालेको थियो । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी मध्ये केहीले खुला रुपमा राइफल बोकेका थिए भने केहीले कालो सर्ट, हेल्मेट र बुट लगाएका थिए । पार्कमा लाइनमा बसेका उनीहरुले लौरो बोक्दै उनीहरुको प्रदर्शन विरोधीलाई पार्कको गेटभित्रबाट प्रवेशमा रोकेका थिए । पार्कमा कु क्लुक्स क्लानका नेता डेभिड ड्युक प्रवेश गर्ने बित्तिकै त्यहाँ जम्मा भएका भीडले उनको नाम लिँदै नाजी पार्टीको शैलीमा उनलाई अभिवादन गरेका थियो । कैयौं दशकपछि अमेरिकामा गोरा राष्ट्रवादीहरु एक ठाउँमा जम्मा भएका थिए । त्यस कारणले पनि उनीहरु खुशी देखिन्थे । कतिपय विश्लेषकले भने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको उदय नै अति दक्षिणपन्थी गोरावादीहरुलाई पुनर्शक्ति मिलेको छ । 

शनिबारको प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पले निन्दा गर्दै हिंसा घृणाको प्रतिविम्ब भएको भनेका थिए । ‘घृणा र विभाजित मानसिकताम तत्काल रोकिनुपर्छ,’ वार्षिक बिदा मनाउने क्रममा न्युजर्सीमा रहेका बेला संवाददातासँग राष्ट्रपति ट्रम्पले बताए । अमेरिकालाई माया गर्दै सबै अमेरिकी नागरिक एकै ठाउँमा आउनुपर्नेमा पनि ट्रम्पले जोड दिएका थिए । तर उनको भनाई अमेरिकी सदनमा प्रतिनिधित्व गर्ने डेमोक्र्याट र उनकै रिपब्लिकन पार्टीका सिनेटरले पनि आलोचना गरेका छन् । उनका आलोचकले गोरा जातिको सर्वोच्चता चाहनेकाविरुद्ध आवाज उठाउन ट्रम्पलाई आग्रह गरेका छन् ।

 

प्रकाशित: ३० श्रावण २०७४ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App