१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

रुसलाई प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई प्रतिबन्ध लगाउने विषयको अमेरिकी दुवै सदनले पारित गरेको विधेयकमा हस्ताक्षर गरेका छन्। सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता रहेको भन्दै अमेरिकी दुवै सदनले रुसलाई नाकाबन्दी लगाउने विषयको विधेयक गत साता बहुमतले पारित  गरेको थियो।

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यालय ह्वाइट हाउसमा गोप्य रुपमा हस्ताक्षर गरेको विधेयकमा रुससहित इरान र उत्तर कोरियालाईसमेत नाकाबन्दी लगाउने विषय रहेको छ। रुससँग नजिकको सम्बन्ध रहेको भनिएका राष्ट्रपति ट्रम्पलाई विधेयकमा हस्ताक्षर गर्न देशको सदनले बाध्य बनाएको छ। देशको दुवै सदनको बहुमत सदनले रुसलाई प्रतिबन्ध लगाउने विषयको विधेयक पारित गरेपछि राष्ट्रपति ट्रम्पलाई नैतिक दबाब परेको थियो। उनले आफ्नो विशेषाधिकार 'भिटो' प्रयोग गरेर त्यस विधेयकमा हस्ताक्षर नर्गन पनि सक्ने प्रावधान थियो। तर त्यसो गर्दा रुससँग ट्रम्पको सम्बन्ध रहेको पुष्टि हुने डर पनि रहेको थियो।

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको संलग्नता रहेको आरोप लागिरहेपनि रुसले भने यस विषयलाई अस्विकार गर्दै आइरहेको छ। यसो त राष्ट्रपति ट्रम्पले पनि राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता नरहेको पटक पटक बताउँदै आएका छन्। दुवै सदनले पारित गरेपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले रुसलाई प्रतिबन्ध लगाउनेसम्बन्धि विधेयकमा ट्रम्पले हस्ताक्षर गर्ने यस अघि नै संकेत गरिसकेको थियो। तर मंगलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले राष्ट्रपति ट्रम्प रुसलाई प्रतिबन्ध लगाउनेसम्बन्धि विधेयकबाट धेरै खुशी नभएको बताएका थिए।

आफ्नो देशलाई प्रतिबन्ध लगाउने विधेयक अमेरिकी संसद्को दुवै सदनले पारित गरेपछि त्यसको प्रतिक्रिया स्वरुप रुसले पनि अमेरिकी दूतावास र महावाणिज्य दूतावासमा रहेका सात सय ५५ कूटनीतिज्ञलाई देश छोड्न चेतवानी दिइसकेको छ। रुसलाई नाकाबन्दी लगाउनेसम्बन्धि विधेयक अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले ३५ रुसी कूटनीतिज्ञलाई अमेरिकाबाट निकालेको केही महिनापछि आएको छ। 'हामीलाई लाग्छ रुससँगको सम्बन्ध सुधारमा हामीले गरिरहेका प्रयासलाई यस कदमले सहयोग पुर्‍याउँछ,' मंगलबार विदेशमन्त्री टिलरसनले पत्रकार सम्मेलनका क्रममा बताएका थिए।

प्रकाशित: १९ श्रावण २०७४ ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App