coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरबियाबाट

साउदी अरबको भ्रमणमा निस्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बीच) लाई रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै साउदीका राजा सलमान (दायाँ) । तस्बिर : एएफपी

रियाद – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो औपचारिक विदेश भ्रमणका क्रममा शनिबारबाट साउदी अरबिया पुगेका छन् । 

साउदी अरबियाको स्थानीय समय अनुसार शनिबार बिहान अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियासहतिको भ्रमण टोलीलाई साउदी अरबियाका राजा सलमानले राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

आठ दिने भ्रमणका लागि निस्केका ट्रम्पले साउदी अरेबिया पछि इजरायल, प्यालेस्टाइनका भूभाग, बेल्जियमको राजधानी ब्रसेल्स, भ्याटिकन सिटी र सिसिलीको भ्रमण गर्ने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । 

केन्द्रीय अनुसन्धान विभाग (एफबिआई) प्रमुख जेम्स कोमीलाई पदच्युत गरेपछि अमेरिकाभर विरोध भइरहेका बेला ट्रम्प विदेश भ्रमणमा निस्केका हुन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा रुसी संलग्नताको अनुसन्धान गर्न विशेष व्यक्ति नियुक्ति गर्ने उनको निर्णयको अमेरिकाभर चौतर्फी आलोचना भइरहेका बेला ट्रम्प आठ दिन लामो भ्रमणमा निस्केका हुन् । ट्रम्प र पुटिनबीचको सम्बन्धका बारेमा भइरहेको अनुसन्धानले राष्ट्रपतिका रुपमा उनको पहिलो विदेश भ्रमण छायाँमा परेको बताइएको छ । 

ट्रम्प भ्रमणका बेला अमेरिका र साउदी अरबियाबीच अरबौं डलर बराबरको व्यापार सम्झौताको पनि टुंगो लगाइने अपेक्षा गरिएको बिबिसीले जनाएको छ । अमेरिकाको जेनरल इलेक्ट्रिक समूहले यसअघि नै साउदी अरबियासँग १५ अर्ब डलर बराबरको सम्झौताको घोषणा गरिसकेको छ ।

ट्रम्पको भ्रमणमा उनकी श्रीमती प्रथम महिला मेलानिया, उनकी छोरी तथा ह्वाइट हाउसका बेतलवी सल्लाहकार इभान्का तथा उनका श्रीमान् एंव ट्रम्प क्याबिनेटका एक प्रमुख पात्र जारेद कुसनरपनि सहभागी रहेको बिबिसीले जनाएको छ । 

पछिल्ला समय बेलायती प्रधानमन्त्री थेरेसा मे र जर्मन चान्सलर एन्जिला मर्केलले जस्तै साउदी अरेबियाको भ्रमणका क्रममा प्रथम महिला मेलानिया र उनकी छोरी इभान्काले पनि टाउको स्कार्फ लगाएका छैनन् । 

सन् २०१५ को जनवरीमासाउदी अरेबियाको भ्रमणका क्रममा तत्कालीन प्रथम महिला मिचेल ओबामाले टाउकोमा स्कार्फ नलगाउँदा वर्तमान राष्ट्रपति ट्रम्पले आलोचना गरेका थिए । त्यो बेला ट्विट गर्दै ट्रम्पले मिचेलले साउदी अरेबियाको बेइज्जत गरेको आरोप लगाएका थिए । 

आइतबार राष्ट्रपति ट्रम्पले साउदी अरेबियको राजधानी रियादमा आयोजना हुने अरब इस्लामिक अमेरिकन सम्मेलनमा भाग लिने र उक्त सम्मेलनमा ‘इस्लामको शान्तिपूर्ण नीतिको आशा’ विषयमा धारणा राख्ने बताइएको छ । राष्ट्रपति ट्रम्पका सहायकले राष्ट्रपतिको मन्तव्य विश्वभर गुन्जिने र शान्ति, प्रगति र उन्नतिका साझा अवधारणा बन्ने अपेक्षा गरिएको बताए । 

राष्ट्रपति पदको शपथ लिएको केही दिनमै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको सुरक्षाको कारण देखाउँदै मुसलमानलाई अमेरिका प्रवेश नदिने अस्थायी नीति लिएका थिए जसको चौतर्फी विरोध भएको थियो । ट्रम्पको यस्तो खालको नीतिको विभिन्न अदालतले रोक लगाएका थिए । आइतबार हुने सम्मेलनमा ४० भन्दा बढि देशको सहभागिता हुने बताइएको छ । सम्मेलनमा अतिवादी समूहहरुविरुद्ध लड्ने देशको बाहुल्यता रहने साउदी अरबियाले जनाएको छ । सम्मेलनको प्रमुख अजेन्डा मुसलमान अतिवादीलाई रोक्ने र इरानको बढ्दो क्षेत्रीय प्रभावमा केन्द्रीत हुने अपेक्षा गरिएको बिबिसीले जनाएको छ । 

आफ्ना पूर्ववती बाराक ओबामा जस्तो ट्रम्पले साउदी भ्रमणका क्रममा मानवअधिकारको विषयलाई प्राथमिकतामा नराख्ने आशंका गरिएको छ ।

साउदी अरबियाका राजा सलमानले ट्विट गर्दै  अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गरेका छन् । उनले ट्रम्पको भ्रमणले दुई देशबीच रहेको रणनीतिक सम्बन्ध प्रगाढ हुनेमा आफू विश्वस्त रहेको पनि ट्विटमा लेखेका छन् । 

शनिबार नै साउदीका राजा सलमानले एउटा विशेष समारोहबीच अमेरिकी राष्ट्रपति ट्रम्पलाई साउदी अरबियाको सर्वोच्च नागरिको पदवी, ‘राजा अब्दुलाजिज मेडल’बाट सम्मान गरेका थिए । 

 

प्रकाशित: ७ जेष्ठ २०७४ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App