coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘ट्रम्पले रुसलाई गोप्य सूचना उपलब्ध गराए’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहसँग सम्बन्धित एकदमै गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन्।

अमेरिकाको एउटा मित्र शक्तिबाट आएको वायुयानमा ल्यापटप प्रयोग गर्ने बारेको उक्त सूचना रुसलाई पनि उपलब्ध गराउन अनुमति नदिइएको ‘द वासिङ्टन पोष्ट’को जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

अघिल्लो साता राष्ट्रपति ट्रम्पले रुसी विदेश मन्त्री सार्गेइ लाभ्रोभसँग ओभल अफिसमा भेटघाट गर्दा उक्त सूचना रुसलाई उपलब्ध गराएको ‘द वासिङ्टन पोष्ट’ ले बताएको छ । 

राष्ट्रपति ट्रम्पले रुसलाई सूचना बाँडेको विवरण प्रकाशित भएपछि रुसी विदेश मन्त्रीसँगको बैठकमा सहभागी अमेरिकी उच्च सुरक्षा अधिकारीले समाचार झुठ भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति ट्रम्प र रुसी विदेश मन्त्री बीचको बैठकमा सहभागी अमेरिकी उप राष्ट्रिय सुरक्षा सल्लाहकार डिना पावेलले समाचारमा आएजस्तो केही पनि विवरण नबाँडिएको बताइन् । उनले राष्ट्रपति ट्रम्पले दुवै देशले भोगिरहेका साझा खतराहरुका बारेमा मात्रै कुरा गरेको पनि बताइन् । 

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले पनि समाचार गलत भएको प्रतिक्रिया दिएको बिबिसीले जनाएको छ । 

राष्ट्रपति चुनावका क्रममा ट्रम्पको अभियान र मस्कोबीच साँठगाँठ रहेको आरोप ट्रम्पले खेपिरहेका छन् र त्यसमाथि अहिले पनि अनुसन्धानहरु भइरहेका छन् । तर राष्ट्रपति ट्रम्पले ती आरोपहरुलाई अस्विकार गर्दै आइरहेका छन् । चुनावी अभियानका क्रममा ट्रम्पले डेमोक्र्याटिक दलकी आफ्नी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई गोप्य सूचनाहरु ठिक ढंगले व्यवस्थापन नगरेको भन्दै आलोचना गर्ने गरेका थिए ।

पछिल्लो समाचारबाट ट्रम्पलाई ठूलो क्षति पुग्न सक्ने बिबिसीले जनाएको छ । विगतमा गोप्य सूचनाहरु सुरक्षित रुपमा नराखेको भनेर रिपब्लिकन नेताहरुले हिलारी क्लिन्टनको आलोचना गरेका थिए । रुससमेत जोडिएकाले पछिल्लो विवाद थप बढ्ने स्पष्ट रहेको बिबिसीले जनाएको छ । 

अमेरिकी संघीय जाँच ब्युरो एफबिआईले रुससँगको सम्बन्धबारे ट्रम्पको चुनावी अभियानमाथि छानविन गरिरहेको छ । यसअघिका राष्ट्रिय सुरक्षा सल्लाहाकार माइकल फ्लिनको बर्खस्तीसँग पनि रुसी राजदूत सर्गेइ किसल्याकसँगको भेटवार्ता मूख्य रुपमा जोडिएको थियो ।

यस घटनाले सूचनाको स्रोतलाई जोखिममा राखिएको अवस्थामा अमेरिकाका साझेदारहरुले एकदमै संवेदनशील गुप्तचरी सूचना उपलब्ध गराउन आगामी दिनमा संकोच मान्ने अवस्था आउनसक्ने पनि बिबिसीले जनाएको छ । 

राष्ट्रपति ट्रम्पलाई विदेश नीति संचालनको जटिलताबारे ज्ञान नरहेको र अनुभवको कमी रहेको उनका आलोचकहरुले टिप्पणी गरिरेहका छन् । राष्ट्रपति ट्रम्प र अमेरिकी गुप्तचर समुदायबीच तनावपूर्ण सम्बन्ध रहेको थियो ।

एफबिआई प्रमुखलाई हटाउने निर्णय आएको केही समयमै बाहिरिएको यस विवरणका कारण राष्ट्रपति ट्रम्पलाई एकदमै अप्ठेरो अवस्था आउन सक्ने बताइएको छ । 
रुसी विदेशमन्त्री र रुसी राजदूतसँग ओभल अफिसमा भएको भेटघाटमा राष्ट्रपति ट्रम्पले सूचनाको स्रोतसमेत खुल्ने हिसाबमा जानकारी उपलब्ध गराएको ‘द वासिङ्टन पोष्ट र ‘द न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीको भनाई उद्धृत गर्दै समाचार प्रकाशित गरेका छन् । 

इस्लामिक स्टेटले बनाएको हमलाको योजनासँग सम्बन्धित उक्त सूचना अरु अमेरिकी साझेदारहरुलाई सुनाउँदा पनि एकदमै संवेदनशील हुनुपर्ने प्रकृतिको भएको ती अखबारहरुले लेखेका छन् ।

बैठकमा सहभागी अरुहरुले गल्ती महसुस गरेको र त्यसबाट हुनसक्ने सम्भावित क्षतिबाट जोगिन भेटवार्ताका विवरणहरु अमेरिकी गुप्तचर निकाय सिआइए र नेसनल सेक्युरिटी एजेन्सीलाई उपलब्ध गराएको वासिङ्टन पोष्टले उल्लेख गरेको छ ।

अमेरिकी सिनेटका डेमोक्र्याट तर्फका दोस्रो उच्च नेता डिक डर्बीनले राष्ट्रपति ट्रम्पको गतिविधि खतरनाक र लापरबाहीपूर्ण भएको बताएका छन् ।

सिनेटको अन्र्तराष्ट्रिय सम्बन्ध समितिका रिपब्लिकन नेता बब कोर्करले समाचारमा आएजस्तो अमेरिकी राष्ट्रपतिले रुसलाई सूचना बाँडेको प्रमाणित भए अमेरिकी राजनीतिमा एकदमै ठूलो समस्या निम्त्याउने उल्लेख गरे ।

ह्वाइट हाउस बाहिर बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार म्याकमास्टरले  समाचारमा आएको आरो झुठो भएको भन्दै आफू उक्त बैठकमा रहेको र त्यहाँ राष्ट्रपतिले स्रोत, विधि र सैन्य कारबाहीबारे छलफल नगरेको जनाएका छन् ।

‘द वासिङ्टन पोष्ट’ले म्याकमास्टरको प्रतिक्रियाले समाचारको पूर्ण रुपमा खण्डन नगरेको उल्लेख गरेको छ ।
यसैबीच रुससँग सूचना बाँडेको समाचार बाहिरिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै राष्ट्रपतिका रुपमा आतंकवाद र विमान कम्पनीको सुरक्षाका विषयमा रुससँग जानकारी आदानप्रदान गर्ने पूर्ण अधिकार रहेको प्रतिक्रिया दिएका छन् । 

यद्यपि राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट (आईएस) समूहका बारेमा अमेरिकासँग रहेको गोप्य सूचना रुसलाई उपलब्ध गराएको वा नगराएको भन्ने बारे भने केही खुलाएका छैनन् । रुसले भने अमेरिकाले सूचना उपलब्ध गराएको भन्ने विषय निराधार रहेको प्रतिक्रिया दिएको बिबिसीले जनाएको छ । 

    

प्रकाशित: ३ जेष्ठ २०७४ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App