६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अर्को साता बेलायत युरोपियन युनियनबाट बाहिरिने

लन्डन- बेलायतकी प्रधानमन्त्री थेरेसा मेले युरोपियन यूनियनबाट बेलायतको बहिर्गमन बारे आउँदो हप्ताको बुधबार औपचारिक जानकारी गराउने भएकी छिन्। डाउनिङ स्ट्रिटले बताए अनुसार मेले युरोपियन काउन्सिललाई पत्र लेखेर युरोपियन यूनियनबाट बेलायत बाहिरने जानकारी दिनेछिन्। उनको पत्रमा युरोपियन यूनियनबाट बाहिरिनेबारेको विषयवस्तु हुने र बेलायतको बर्हिगमनपछि युरोपियन यूनियनसँगको भावी सम्बन्धका बारेको व्यहोरा हुने बताइएका्े छ।

बहिर्गमन प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ मा सुरु गरी कम्तिमा दुई वर्षभित्र बहिर्गमनका महत्वपूर्ण मुद्दाहरुलाई छलफलद्वारा टुङ्ग्याइने लक्ष्य तय गरेको ईयूका लागि बेलायतका राजदूत टिम ब्यारोले युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कसँगको भेटमा सोमबार बताएका छन्।

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले लिसबन सम्झौताको धारा नं. ५० लाई कार्यान्वयनका लागि लैजाने बारे उक्त पत्रमार्फत् जानकारी गराउने राजदूत ब्यारोले बताए। युरोपियन यूनियनलाई पठाइने भनिएको पत्र परम्परागत हुने वा इलेक्ट्रोनिक हुन्छ भन्ने बारे केही बताइएको छैन।

'हामी यस युगको बेलायती नागरिकका महत्वपूर्ण मुद्दाका सीमाबारे सम्झौता गर्दैछौं,' ब्रेक्जिट प्रक्रियाका लागि सचिव डेभिड ड्याभिसको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ। 'सरकार आफ्नो लक्ष्य बारे प्रष्ट छ। सम्झौताले संयुक्त अधिराज्य (यूके) का सबै राज्य र क्षेत्रका साथसाथै सम्पूर्ण युरोपेली मुलुकसँगको सम्बन्धबारे प्रष्ट पार्नेछ,' उनले थपे।

बेलायतमा युरोपियन यूनियनबाट बाहिरने वा नबाहिरिने भन्ने विषयमा नौ महिना अघि भएको जनमत संग्रहमा ५१.९ प्रतिशत जनताले बाहिरिने र ४८.१ प्रतिशत जनताले नबाहिरिने भोटिङ गरेपछि प्रधानमन्त्री मेले औपचारिक रुपमा नै युरोपियन यूनियनबाट बाहिरिने औपचारिक पत्र पठाउन लागेको बिबिसीले जनाएको छ। अब बेलायती प्रधानमन्त्री मेले मार्च २९ मा धारा नं. ५० कार्यान्वयन भएको घोषणा गरेसँगै युरोपियन यूनियनबाट बेलायतको बहिगर्मन प्रक्रियाको थालनी हुनेछ।

युरोपियन यूनियनका प्रवक्ताले बेलायतको बर्हिगमनको पत्रका लागि युरोपियन यूनियन तयार अवस्थामा रहेको र पत्र पर्खिरहेको प्रतिक्रिया दिएको बिबिसीले जनाएको छ। आर्टिकल ५० प्रक्रिया अर्न्तगत बेलायतले युरोपियन युनियनलाई औपचारिक रुपमा बाहिरिएको जानकारी नगराएसम्म बेलायतको युरोपियन यूनियनबाट बर्हिगमन भएको मानिदैन र भावी सम्बन्ध बारेपनि स्वीकृत गरिएको हुँदैन।

प्रकाशित: ८ चैत्र २०७३ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App