वासिङ्टन- अमेरिकी राष्ट्रपति निर्वाचनका बेला वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि जासुसी गरेको आरोप लगाएकोमा ह्वाइट हाउसले बेलायती गुप्तचर निकायसँग माफी मागेको छ। निर्वाचनको समयमा बेलायती गुप्तचर निकायलाई ओबामालाई सघाउन ट्रम्पको फोन रेकर्ड गरेको आरोप लागेको थियो।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टरले बेलायती समकक्षीसँग कुरा गर्दै ह्वाइटहाउसका प्रेस सचिव सिन स्पाइसरले लगाएको आरोपका लागि माफी मागेका हुन्। अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजले आफ्नो रिपोर्टमा स्पाइसरले बेलायती गुप्तचर निकायमाथि लगाएको आरोप प्रसारण गरेको थियो। ह्वाइटहाउसका अधिकारीले स्पाइसरको उक्त अभिव्यक्ति व्यक्तिगत भएको स्पष्ट पारेका छन्।
बिहीबार भएको पत्रकार भेटघाट कार्यक्रममा स्पाइसरले फक्स न्युजले बेलायती गुप्तचर संस्था जिसीएचक्यूमाथि लगाएको आरोप पढेका थिए। उनले कानुनी सल्लाहकार एन्ड्रयु न्यापोलिटानोको भनाइ उद्धृत गर्दै बाराक ओबामाले चेन अफ कमान्ड तोड्दै ट्रम्पको जासुसी गरेको आरोप लगाएका थिए। आरोपपछि बेलायती गुप्तचर संस्था र बेलायती सरकार दुवैले अमेरिकाप्रति आक्रोश व्यक्त गरेपछि ह्वाइटहाउसले माफी मागेको सिएनएनले जनाएको छ।
प्रकाशित: ६ चैत्र २०७३ ०४:३४ आइतबार