६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

सिआइएको नयाँ प्रमुख बने माइक पम्पियो

वसिङ्गटन- संयुक्त राज्य अमेरिकाली संसद्को माथिल्लो सदन–सिनेटले राष्ट्रको प्रमुख गुप्तचरीय संस्था–सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) को निर्देशक पदमा माइक पम्पियोको मनोनयनलाई अनुमोदन गरेको छ।

गतः सोमबार साँझ (नेपाली समयानुसार मङ्गलबार बिहान) बसेको, एकसय सदस्यीय सिनेटको बैठकमा मतदान हुँदा माइकको समर्थनमा छैसठ्ठी मत र विपक्षमा बत्तीस मत परेको थियो।

माइकले हासिल गरेको छैसठ्ठी मतमध्ये एकाउन्न मत रिपब्लिकन सिनेटरहरुको, चौध मत डेमोक्र्याट सिनेटरहरुको र एक मत स्वतन्त्र सिनेटरको भएको जनाइएको छ।

अमेरिकी राष्ट्रपतिले राष्ट्रिय महत्वका ठूला पदहरुमा कसैलाई नियुक्त गर्नुभएपछि सिनेटको सामान्य बहुमतले यसको अनुमोदन गर्नु आवश्यक छ।

सिनेटको यस मतदानबाट सिआइए निर्देशक पदमा माइकको नियुक्तिले औपचारिकता पाएको छ।

गत शुक्रबार राष्ट्रपति ट्रम्पले पदबहाली गरेकै दिन सिआइएका पूर्वनिर्देशक जोन ब्रेनानले राजिनामा दिइ उनलाई सजिलो पारिदिएका थिए र सोही दिन माइकले नियुक्ति पाएका थिए।

राष्ट्रपति ट्रम्प गतः शनिबार सिआइएको प्रधान कार्यालय गएर त्यहाँ एक सद्भाव वक्तव्य समेत दिएका थिए।

वक्तव्यका क्रममा, राष्ट्रपति ट्रम्पले सिनेटले आफ्ना नियुक्तिहरु अनुमोदन गर्न विलम्ब गर्ने गरेको गुनासो गरेको दुई दिनपश्चात् सिनेटले माइकको नियुक्ति अनुमोदन गरेको छ।

सिआइए निर्देशकको यस अनुमोदन नवनिर्वाचित डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा राष्ट्रपतीय कार्यकाल सुरु भएपछि ठूला पदहरुमा नियुक्तिको तेस्रो अनुमोदन हो ।

यसअघि राष्ट्रपति ट्रम्पले जेम्स म्याटिसलाई रक्षा मन्त्रीमा र जोन केलिलाई आन्तरिक सुरक्षा (होमल्याण्ड सेक्युरिटी) मन्त्रीमा गर्नुभएको नियुक्तिलाई सिनेटले यसैगरी अनुमोदन गरिसकेको छ।

क्यासास राज्यबाट रिपब्लिकन पार्टीको टिकटमा सन् २०११ देखि अमेरिकी काङ्ग्रेसमा प्रवेश गरेका ५२ वर्षीय माइक पम्पियो एक कट्टरपन्थी रिपब्लिकनको रुपमा परिचित छन्।

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि दिइने उम्मेदवारी मनोनयनमा उनले ट्रम्पलाई सघाएका थिए। रासस/सिन्ह्वा

 

प्रकाशित: ११ माघ २०७३ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App