काठमाडौं- महिला, बालबालिका र चालक दलका ७ सहित १ सय १८ यात्रु बोकेर आन्तरिक उडानमा रहेको लिबियाको अफ्रिकिया एअरलान्सको एअरबस 'ए' ३२० शुक्रबार साँझ अपहरणमा परेको छ। उक्त एअरबस सबा भन्ने स्थानबाट दक्षिणी लिबियाको उडानमा थियो।
लिबियाका सरकारी अधिकारीले एअरबस अपरहणमा दुई जना व्यक्ति संलग्न रहेको प्रारम्भिक सूचना प्राप्त भएको जनाएका छन्। अपहरणकारीले विमानमा बम रहेको धम्की दिँदै यात्रु र चालकदलका सदस्यलाई नियन्त्रणमा लिएका थिए।
उनीहरूले आफूले भनेको नमाने विमानमा विस्फोट गर्नेसम्मको धम्की दिएका थिए। त्यसपछि जहाज छिमेकी मुलुक माल्टाको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ। लिबियाका प्रधानमन्त्री जोसेफ मस्कटले एअरबस अपहरणमा परेपछि यात्रुलाई सकुशल मुक्त गराउन सुरक्षा संयन्त्र बलियो र तम्तयारी अवस्थामा राख्न पहल भइरहेको जानकारी दिएका छन्।
तत्कालीन राष्ट्रपति कर्णेल गद्दाफी चार वर्षअघि सत्ताच्यूत भएपछि आन्तरिक द्वन्द्वमा रुमल्लिएको लिबियामा अझै द्वन्द्व अन्त्य भइसकेको छैन। केही समयअघि लिबियाका लागि अमेरिकी राजदूतलाई समेत हतियारधारी समूहले गोली हानी हत्या गरेको थियो। माल्टा विमानस्थलका अधिकारीले एअरबस अवतरणपछि टि्वटमार्फत 'गैरकानुनी हस्तक्षेप' भएको जानकारी दिएका छन् जहाँ आपतकालीन उद्धार समूह परिचालन गरिएको छ।
माल्टामा रहेका रोयर्टसका फोटोग्राफर डरिन जम्मिट लुपीले बिबिसीलाई विमानस्थलमा विशेष सुरक्षा दस्ताका सैनिक र तिनका गाडी देखिएको बताएका छन्। उक्त जहाज माल्टामा अवतरण गराइएपछि त्यहाँ आउने अन्य जहाजलाई इटालीका विभिन्न विमानस्थल पठाइएको छ।
यसैबीच, पिपुल्स डेली चाइनाको अनलाइन संस्करणले माल्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ जना यात्रु मुक्त गरिएको जनाएको छ। यद्यपि, कुन सर्त र कसरी ती यात्रु मुक्त भए भन्ने खुलाइएको छैन।
प्रकाशित: ९ पुस २०७३ ०२:४५ शनिबार