१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

एन्टार्टिकाको रस क्षेत्रमा विशाल समुद्री जीव आरक्ष बनाउने सहमती

अन्ततः वर्षौं लामो अन्तर्राष्ट्रिय वार्तापश्चात २४ देश तथा यूरोपेली युनियनका प्रतिनिधिबीच एन्टार्टिकाको रस समुद्री क्षेत्रमा विश्वकै सबभन्दा विशाल सामुद्रिक जीव आरक्ष बनाउने सहमति भएको छ।

उक्त इलाकाको क्षेत्रफल साढे पन्ध्र लाख वर्ग किलोमिटर बराबर छ र अब त्यहाँ ३५ वर्षका निम्ति जथाभावी माछा मार्न पाइने छैन।

उक्त स्थानको सुरक्षा प्रशासनको जिम्मा अमेरिका र न्यूजील्याण्डलाई दिइएको छ।

यसअघि यस विषयमा रुसले सहमति जनाएको थिएन। तर न्यूजील्याण्डका विदेशमन्त्री मुर्रे मक्कल्लीले २४ सहभागी राष्ट्रहरुमाझ दिगो ढंगले माछा मार्ने तथा वैज्ञानिक अनुसन्धान गर्ने विषय र सामुद्रिक जीव संरक्षणलाई सन्तुलन मिलाउने गरी अब सहमति भएको बताए।

यस निर्णयको स्वागत गर्दै वातावरणवादीहरुले उक्त सहमतिले  पृथ्वीको सबैभन्दा सुन्दर सामुद्रिक जैविक विविधताको संरक्षण हुने बताएका छन्।

उनीहरुले अन्तर्राष्ट्रिय जल क्षेत्रमा थप यस्ता आरक्ष पनि अब बन्ने विश्वास व्यक्त गरेका छन्।

अष्ट्रेलियाको होबार्टमा भएको सहमतिमा एकमतले रस समुद्रलाई मराइन प्रोटेक्टेड एरिया घोषणा गरिएको छ।

रस समुद्रले दक्षिणी महासागरको केवल दुई प्रतिशतमात्र ओगट्छ तर त्यहाँ विश्वभरका एडिली प्रजातिका पेन्गुइन मध्ये ३८ प्रतिशतको वासस्थान छ।

सो आरक्षको प्रस्ताव भने न्यूजिल्याण्ड तथा अमेरिकाले गरेका थिए।

यस सहमति अन्तर्गत अब सो ठाउँबाट कुनै पनि सामुद्रिक जीव तथा खनिज लैजाने पाइने छैन।

तर अनुसन्धानका निम्ति भने केही विशेष स्थलबाट विशेष खालका माछा लग्न पाइनेछ। -बीबीसी

प्रकाशित: १२ कार्तिक २०७३ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App