१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

अमेरिका -रुसबीच तनाव

सिरिया- पछिल्ला घटनाक्रमले अमेरिका र रुसबीच तनाव बढ्दै गएको संकेत गरेका छन् । सिरिया युद्ध विरामपछि बिग्रिएको दुवै देशको सम्बन्ध दिन दिनै नयाँ घोषणासँगै बिग्रने मोडमा पुगेको अनुमान गर्न थालिएको छ ।  आइतबार मात्र रुसले अस्त्र बनाउन सकिने गुणस्तरको प्लुटोनियम नष्ट गर्ने बारे संयुक्त राज्य अमेरिकासंग भएको एक सम्झौता निलम्बन गरेको थियो ।

प्रतिउत्तरमा अमेरिकालेरुससंगका वार्ताहरु स्थगित गर्ने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्रालयले युद्धविराम लागु गर्न गत महिना भएको सम्झौताका प्रावधानहरु मस्कोले पालना नगरेको आरोप लगाउँदै रुससँग वार्ता नगर्ने जनाएको हो । उसले उक्त सम्झौतामा सिरियाली सरकारलाई अडिग राखिरहन रुस विफल पनि भएको बताएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ता जन अर्नेस्टले भने, ‘सिरियामा हिंसा घटाउने सहमतिमा पुग्नका लागि प्रयास गर्ने सम्बन्धमा अमेरिका र रुसबिच थप वार्ता हुने सम्भावना छन । यो दुखद हो ।’

रुसी विदेश मन्त्रालयले पछिल्लो अमेरिकी कदमप्रति खेद जनाउंदै अमेरिका स्वयम् सम्झौतामा अडिन नसकेपछि मस्कोमाथि आरोप थुपारेको जवाफ दिएको छ । सन् २००० मा भ्लादिमिर पुटिन सत्तामा आएको केहि महिना पछि नै अमेरिका र रुसले अस्त्र गुणस्तरको ३४ टन प्लुटोनियम नष्ट गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यति मात्राको प्लुटोनियमबाट १७ हजार वटा परमाणु अस्त्र निर्माण गर्न पर्याप्त हुने बताइएको छ । तर राष्ट्रपति पुटिनले अब त्यो सम्झौता स्थगित भएको घोषणा गरेका छन् ।

राष्ट्रपतिय अध्यादेश जारी गर्दै उनले संयुक्त राज्य अमेरिकाले रुस विरुद्ध अमैत्रीपूर्ण कदमहरु चालेको र त्यसबाट रुसको रणनीतिक स्थीरतालाई जोखिम पुगेको दोष लगाएका छन् ।  


जिहादी समूहहरुविरुद्ध मिलेर हवाई आक्रमण गर्नेबारे अमेरिका र रुसका अधिकारीहरुबिच जिनेभामा वार्ता गर्ने तय भएको थियो । तर पछिल्लो कदमसंगै अमेरिकी अधिकारीहरुलाई घर फर्कन आदेश दिइएको छ । सिरियाको एलेप्पो शहरको विद्रोही नियन्त्रित भागस्थित सबैभन्दा ठूलो अस्पतालमाथि पुनः हवाई हमला भएको बताइएको छ । एक सातामा उक्त अस्पतालमा यो तेस्रो आक्रमण हो ।

अभियानकर्मीहरुले उपलब्ध गराएको भिडियोमा ‘एम टेन’ अस्पतालको एउटा भागमा पर्खाल भत्किएको र ठूलो खाल्डो परेको देखिन्छ । अस्पताललाई सहयोग गर्दै आएको एउटा परोपकारी संस्थाले सोमबारको आक्रमणमा मर्मतसम्भार सम्बन्धी तीन जना कर्मचारीको ज्यान गएको बताइएको छ ।

दुई साताअघि युद्धविराम भंग भएयता एलेप्पोमा भीषण हवाई हमला भइरहेको छ ।
त्यहाँ सरकारी फौजले गरेको कारबाहीमा बालबालिकासहित सयौं मानिसको ज्यान गइसकेको छ । पूर्वी एलेप्पोमा करिब २ लाख ५० हजार मानिस फसिरहेको अनुमान गरिएको छ ।

 

प्रकाशित: १९ आश्विन २०७३ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App