coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका सिरिया शान्तिको बाधकः रुस

सिरिया– रुसले अमेरिका र बेलायतले राष्ट्रसंघको आपतकालीन बैठकमा आफूलाई गम्भीर आरोप लगाएको भन्दै खेद प्रकट गरेको छ । सोमबार राष्ट्रसंघका लागि अमेरिकी राजदूत समेन्था पावरले सुरक्षा परिषदमा बोल्दै रुसले सिरियामा गरिरहेको कारबाही बर्बरतापूर्ण भएको बताएकी थिइन् भने ब्रिटेनका विदेशमन्त्री बोरिस जोनसोनले यदि आक्रमणमा रुसको संलग्नता प्रमाणित भए युद्ध अपराधको भागी हुनुपर्ने चेतावनी दिएका थिए ।

तर रुसी राजदूतले मस्कोविरुद्धका आरोपहरुको खण्डन गर्दै अमेरिकाकै कारण सिरियामा शान्ति कायम गर्न कठिन भइरहेको जवाफ दिएका छन् । सिरियाका राजदूतले सम्बोधन गर्न थालेपछि अमेरिका, फ्रान्स र ब्रिटेनका प्रतिनिधीहरु सुरक्षा परिषदको बैठकबाट बाहिरिएका थिए ।

एलेप्पोमा गएको एकसातामा लडाइँ जारी रहँदा २०० भन्दा बढी गैरसैनिक मारिएको विवरणहरु आएका छन् । सुरक्षा परिषदको बैठकमा बोल्दै अमेरिकी राजदूत पावरले रुसले सिरियामा जारी उसका गतिविधिबारे सफेद झुटहरु बोलेको टिप्पणी गरेकी छन् ।

उनले राष्ट्रपति बसर अल असदलाई समर्थन गरिरहेको रुससँग उक्त लडाइँ रोक्ने सामर्थ्य धेरै अघिदेखि रहेको बताइन् ।

उनले भनिन् ‘कसैले पनि संयुक्त राज्य अमेरिकालाई आतंकवादीबाट हुनसक्ने खतराबारेमा सम्झाइ रहनुपर्दैन । संसारभर हाम्रा नगरिकलाई नै मुख्य निशाना बनाइने गरिएको छ, तर रुसले जब बनावटी कुरा गर्छ, हामीले त्यसविरुद्ध बोल्नैपर्छ, रुसले जे गरिरहेको छ र जसलाई प्रायोजन गरिरहेको छ त्यो प्रति आतंकवाद नभएर बर्बर घटना हो ।’

तर रुसले सिरियाली फौजहरुले कम भन्दा कम नागरिकलाई क्षति पुर्याएर एलेप्पोबाट आंतकवादीलाई धपाउने प्रयास गरिरहेको बताएको छ ।

रुसी राजदूत भिताली चुर्कीनले रुसी सैनिकहरु सिरियामा भइरहेको लडाइँमा संलग्न नरहेको जनाएका छन् । पाँच वर्षदेखि सिरियामा जारी गृहयुद्धमा उत्तरी शहर एलेप्पो प्रमुख रणभूमि बनिरहेको छ ।
आइतबार सेभ द चिल्ड्रेनले त्यहाँ रहेका मानवीय सहयताकर्मीलाई उद्धृत गर्दै भग्नावशेषबाट बाहिर निकालिने मानिस मध्ये आधा केटाकेटी रहँदै आएको जनाएको छ ।

ब्रिटेन मुख्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राईटसका अनुसार युद्धविराम भंग भएको पछिल्लो एक हप्तामा २१३ जना मानिसहरु मारिएका छन् ।

स्थानीय वासिन्दाले सिरायाली र रुसी युद्धविमानहरुले बम खसालिरहेको र कतिपय अवस्थामा भग्नावशेषमा फसेका मानिसको उद्धारमा संलग्न सहायताकर्मीलाई पनि हवाई हमलाको निशाना बनाइएको बताएका छन् ।

प्रकाशित: ११ आश्विन २०७३ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App