पाकिस्तानको दक्षिणपश्चिममा पर्ने प्रान्तीय राजधानी क्वेटामा शनिबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा चार बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन्।
प्राप्त समाचारअनुसार देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटाको स्याटेलाइट टाउन क्षेत्रमा एक परिवारका सदस्यले हिटर बाल्ने प्रयास गर्दा विस्फोट भएको थियो।
उद्धार टोली घटनास्थलमा पुगेर शवलाई अस्पतालमा लगिएको छ। विष्फोटमा परी एक दम्पती र उनीहरुका चार सन्तानसहित सबैको घटनास्थलमै मृत्यु भएको उद्धारकर्मीले जनाएका छन्।
सिलिण्डरबाट ग्यास चुहिएर विष्फोट भएको र घरमा समेत गम्भीर क्षति पुगेको स्थानीय प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ। क्वेटा लगायत बलुचिस्तानका धेरैजसो भागमा माइनस १५ डिग्री सेन्टिग्रेडसम्मको तापक्रमले तीव्र चिसो मौसमको सामना गरिरहेको छ।
प्रकाशित: १ माघ २०७९ ०८:०८ आइतबार