coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा कोरोना लहर, अन्तर्राष्ट्रिय समुदाय चिन्तित

चीनबाहिर जान मास्क लगाई बिहीबार बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी एक यात्रु। तस्बिर: एपी

केन मोरिट्सुग/हुजङ यु

अमेरिका, जापानलगायतका विभिन्न देशले चीनबाट त्यहाँ जाने यात्रुले कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेका छन्। चीनमा देखिएको कोरोना भाइरसको लहर विश्वव्यापी फैलिन सक्ने चिन्ता बढेको छ। चीनले भाइरसको नयाँ भेरियन्टबारे यथेष्ट जानकारी नगराउँँदा विश्व समुदाय सशंकित छ।  

चीनमा भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्नेबारेमा त्यहाँको सरकारले अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक गरेको छैन। तर चीन सरकारको यसअघिकोे ‘ट्र्याक रेकर्ड’ राम्रो नभएका कारण उसले नयाँ भेरियन्टबारे तथ्यांक साझेदारी गर्नेमा विश्व संशकित बनेको छ। चीनमा फैलिएको भाइरसको यथार्थ अवस्थाबारे जानकारी नहुँदा विश्वभर यसको प्रकोप ह्वात्तै बढ्न सक्ने आकलन गरिएको छ।

अमेरिकी सरकारले चीनबाट जाने यात्रुले नेगेटिभ कोभिड–१९ रिपोर्ट पेस गर्नुपर्ने घोषणा गरेको छ। चीनमा देखिएको भाइरस संक्रमणको नयाँ लहर र भाइरसको नयाँ रूपको ‘जेनेटिक सिक्वेन्स’ लगायतका विषयमा यथेष्ट जानकारी नभएका कारण अमेरिकाले यस्तो निर्णय गरेको हो।  

ताइवानको इपिडेमिक कमान्ड सेन्टरका प्रमुख वाङ पी सेङले चीनको वर्तमान अवस्थाबारे यथेष्ट जानकारी नहुँदा ताइवानी सरकार चिन्तित बनेको बताए। ताइवानी सरकारले आउँदो जनवरी १ देखि चीनबाट ताइवान भित्रिने हरेकको भाइरस परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ। चिनियाँ नयाँ वर्षका अवसरमा त्यहाँ रहेका ३० हजार ताइवानी देश फर्कने अनुमान गरिएको छ।  

‘चीनमा हाल भैरहेको भाइरस संक्रमणको अवस्थाबारे पारदर्शिताको अभाव छ। हामीसँग सीमित जानकारी उपलब्ध छ, जुन ठ्याक्कै सही हो भन्ने अवस्था छैन,’ कमान्ड सेन्टरका प्रमुख वाङले भने।  

जापानका प्रधानमन्त्री फुमिओ किसिडाले पनि चीनमा फैलिएको कोरोना भाइरसबारे यथेष्ट जानकारी उपलब्ध नरहेको बताएका छन्। जापानले यो साताको सुरुदेखि आफ्नो देशमा चीनबाट जाने यात्रुले भाइरस परीक्षण रिपोर्ट देखाउनुपर्ने नयाँ व्यवस्था गरेको छ।  

यसैबीच विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले जोखिमको समीक्षा गर्न हाल चीनमा देखिएको महामारीको सघनता र अस्तपालका सघन उपचार कक्षमा भर्ना हुने दरबारे यथेष्ट जानकारी हुनुपर्ने बताएका छन्।  

भारत, दक्षिण कोरिया, ताइवान र इटालीले चीनबाट जाने यात्रुले अनिवार्य भाइरस परीक्षण गर्नुपर्ने घोषणा गरिसकेका छन् भने जर्मनीले पनि स्थितिको समीक्षा गरिरहेको बताएको छ।  

‘चीनमा फैलिएको नयाँ लहरमा खतरनाक भेरियन्टको प्रादुर्भाव भएको भन्ने विषय अझै प्रस्ट नभएकाले यात्रा प्रतिबन्ध लागु गर्नेबारे हामीले निर्णय गरिसकेका छैनौं,’ जर्मनीका स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेवास्टन गुल्डेले भने। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनले विश्व स्वास्थ्य संगठनसँग सधैं सूचनाहरूको साझेदारी गरेको बताएकी छन्। ‘हामी अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार छौं,’ प्रवक्ता माओे गत साता भनेकी थिइन्।  

चीनले कोरोना महामारी नियन्त्रणमा तीन वर्षदेखि लागु गर्दै आएको सख्त प्रावधानलाई केही साताअघि खुकुलो पारेको थियो। शून्य कोभिड नीतिको अकस्मात् परित्याग गरेपछि चीनमा भाइरस संक्रमण र फैलावटले तीव्रता पाएको मानिएको छ। अमेरिकाको वासिङ्टन डिसीको हड्सन इन्स्टिच्युटमा रहेको चाइना सेन्टरका निर्देशक माइल्स युका अनुसार चीनले भाइरसविरुद्धको सख्त प्रावधानलाई अकस्मात् परित्याग गरेका कारण विश्वव्यापी चिन्ता र आक्रोश बढेको हो।  

‘यति धेरै समयसम्म जिरो कोभिड नीति अख्तियार गरेको चीनले नियन्त्रणलाई अकस्मात खुकुलो पार्दा पिँँजडामा बसेका चिनियाँले विश्वलाई थप संक्रमणको जोखिममा धकेलेका छन्,’ निर्देशक युले भने।

कोरोना महामारी फैलिँदा चीनमा रुखाखोकीको औषधि अभाव हुन थालेको छ। चीनमा ज्वरो नाप्ने क्लिनिकहरूमा लामो लाइन देखिएको छ। अस्पतालका इमर्जेन्सी कक्षमा भर्ना हुन गएका बिरामी पनि भर्ना नपाएर घर फर्कनुपर्ने स्थिति सिर्जना भएकाे छ। शवदाह गृहमा पनि चाप बढेको छ।  

चीनका सरकारी सञ्चारमाध्यमले यो विषयमा विस्तृत समाचार प्रकाशन तथा प्रसारण गरेका छैनन्। पश्चिमा सञ्चारमाध्यमले यो विषयलाई बढाइचाढाइ प्रसारण गरेका चीनको आरोप छ। ‘चीनलाई पूर्वाग्रही दृष्टिकोणले हेर्ने र लाञ्छित गर्ने राजनीतिक उद्देश्यले यस्ता अफवाह फैलाइने गरेकाे छ,’ चीनको परराष्ट्र मन्त्रालयका अर्का प्रवक्ता वाङ वेनविनले बुधबार भनेका थिए। चीनले कोरोना महामारीसम्बन्धी सूचना नियन्त्रण गरेको आरोप छ। समाचार एजेन्सी एपीले गरेको एक अनुसन्धानले कोभिड–१९ उत्पत्तिका विषयमा भएका आन्तरिक अनुसन्धानका नतिजालाई चीनले सार्वजनिक नगरेको देखाएको थियो। यसैगरी विश्व स्वास्थ्य संगठनको एक विज्ञ समूहले पनि आफ्नो अध्ययन प्रतिवेदनमा चीनले महामारी उत्पत्तिसम्बन्धी तथ्यांकका महत्वपूर्ण विषयलाई सार्वजनिक नगरेको पाइएको जनाएको छ। संगठनले भाइरसको उत्पत्ति विषयमा अझै गहिरो अध्ययन हुनुपर्ने बताउँदै आएको छ। (एपी)

प्रकाशित: १५ पुस २०७९ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App