७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिका र क्यानाडामा हिमआँधी, १९ को मृत्यु

ठुलो हिमआँधीका कारण अमेरिका र क्यानडाका २५ करोड सर्वसाधारण जोखिममा परेका छन् भने कम्तीमा १९ जनाको मृत्यु भएको छ। अमेरिकाको उत्तरी राज्य मोन्टानामा शनिबार सर्वाधिक माइनस ४५ डिग्री तापक्रम मापन गरिएको छ। अमेरिकाका १५ राज्यमा यो विपद्को सामान गर्न संकटकालीन कदमहरू चालिएका छन्। अमेरिकाका १५ लाख घरमा विद्युत् आपूर्ति प्रभावित भएको छ भने हवाई उडान रद्द गरिएका छन्। यो आँधी अर्काे सातासम्म जारी रहने हुँदा क्रिसमस मनाउने सर्वसाधारणको योजनामा तुषारापात भएको छ।  

अमेरिकाको टेक्सासदेखि क्यानडाको क्युबेकसम्मको ३ हजार २ सय किलोमिटर क्षेत्रमा यो हिमआँधी फैलिएको छ।  

क्यानडाका ओन्टारिओ र क्युबेकका हजारौं घरमा पनि विद्युत् आपूर्ति कटौती भएको छ। क्यानडाको ब्रिटिस कोलम्बियादेखि न्युफाउन्डल्यान्डसम्मका क्षेत्रमा कठ्यांग्रिँदो चिसो हुने र आँधीबेहरी आउने चेतावनी दिइएको छ। अमेरिकाको राष्ट्रिय मौसम निकाय नेसनल वेदर सर्भिसले हालसम्मकै सर्वाधिक भीषण मौसमी चेतावनी दिएको हो। अत्यधिक चिसोका कारण मिचिगनमा रहेको हेल सहर पुरै अस्तव्यस्त भएको छ। हेल सहरमा एक सैलुनमा कार्यरत एमिलीले भनिन्, ‘यहाँ अत्यधिक चिसो छ, हामी एकखाले नर्कमा छौं।’

साउथ डकोटाको आदिवासी क्षेत्रमा इन्धन सकिएपछि सर्वसाधारणले न्यानोका लागि कपडा बालेर तापिरहेको स्थानीय अधिकारीहरूले बताएका छन्। न्युयोर्कको बफेलोमा ८९ सेन्टिमिटर बाक्लो हिउँ पर्ने आकलन गरिएको छ।  

नेसनल वेदर सर्भिसले उक्त क्षेत्रमा भिजिबिलिटी शून्य माइल रहेको जनाएको छ। यसैगरी न्यु इंगल्यान्ड, न्युयोर्क र न्युजर्सीको तटीय क्षेत्रमा बाढी आएको छ। त्यहाँका ८० लाख बासिन्दालाई सतर्क रहन भनिएको छ। आधीबेहरीसँग सम्बद्ध मृत्यु सडक दुर्घटनाका कारण भएका छन्।

प्रकाशित: १० पुस २०७९ ००:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App