७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘अमेरिका आउने मुसलमानको रेकर्ड राख’

अमेरिका–अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अपराध नियन्त्रणका लागि कुनै जात वा समुदायको विशेष निगरानी गर्ने विधि अपनाउनु पर्ने माग गरेका छन् ।
गत साताको ओल्र्यान्डो गोलीकाण्डलाई लिएर राजनीतिक विवाद चर्किरहँदा ट्रम्पले मुसलमानको ‘प्रोफाइलिङ’ गर्नुपर्ने धारणा राखेका हुन् ।
कसैको जात, धर्म, बाहिरी रुपरेखा लगायतका आधारमा मानिसहरुले अपराध गर्न सक्ने अनुमानमा उनीहरुको विस्तृत विवरण संकलन गर्ने र निगरानी गर्ने प्रक्रियालाई ‘प्रोफाइलिङ’ भनिन्छ ।

त्यस्तै विधि अमेरिकाका मुसलमानहरुको हकमा पनि अपनाउनेबारेमा उनको धारणा के रहन्छ भनेर सोधिएको  प्रश्नमा ट्रम्पको यस्तो धारणा आएको हो ।
अमेरिकी टेलिभिजन सीबीएससँगको अन्तर्वार्तामा ट्रम्पले अन्य मुलुकले पनि त्यस्तो विधि सफलतापूर्वक अपनाएको दृष्टान्त पेश गरेका थिए ।
व्यक्तिगत रुपमा आफूले ‘प्रोपाइलिंङ’लाई नरुचाएको तर मुलुकको रुपमा अमेरिकाले त्यसबारे सोच्न ढिला भइसकेको उनले बताए ।

उनले भने, ‘इजरायललाई हेर्नुस, अरु मुलुकलाई पनि हेर्नुस् । उनीहरुले गरिरहेका छन् र सफलतापूर्वक गरिरहेका छन् । म व्यक्तिगत रुपमा प्रोफाइलिंङको अवधारणालाई घृणा गर्छु तर अब हामीले आफ्नो दिमागको प्रयोग गर्नुपर्छ ।’

न्यूयोर्कमा जन्मिएका ओमार मतिनले ओल्र्यान्डोमा ४९ जनाको ज्यान लिने गरी गराएको गोलीकाण्डपछि ट्रम्पले मुसलमान विरुद्ध लगातार आक्रमण गरिरहेका छन् । आक्रमणलगत्तै उनले अमेरिकाविरुद्धको आतंकवादको इतिहास भएका सबै मुलुकका मानिसहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने बताएका थिए ।

त्यसअघि उनले मुसलमानहरुलाई अमेरिका प्रवेशमा अस्थायी रोक लगाउने पक्षमा आफू रहेको पनि टिप्पणी गरेका थिए ।

अमेरिकी महान्यायधिवक्ता लोरेटा लिञ्च ले भने ‘प्रोफाइलिंग’ त्यस्ता रणनीतिले मुस्लिम समुदायलाई अलग्याउने भन्दै त्यसले थप हानी पुर्याउने चेतावनी दिएकी छन्।

 

प्रकाशित: ७ असार २०७३ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App