‘छोराले बुहारी ल्यायो भनेको त थाह पाएकी थिएँ,तर बुहारी देख्न पाएकी थिईन,तिमी बुहारी पो ! ठ्याप्पै दुबै आँखा बन्द भएको वर्षदिन पछि पहिलोपटक आँखा खुल्दा अगाडि आफ्नी बुहारी देखेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाकी विष्णुमाया लिम्बू भक्कानिईन् ।
उनको आँखा बन्द हुँदा छोराको बिहे भएको थिएन । छोराले बुहारी ल्याएको कुरा उनले सुनेरै मात्रै थाह पाएकी थिइन् । आवाजबाट बुहारी चिन्दै आएकी विष्णुमायाले वर्षदिनपछि दुबै आँखाको शल्यक्रिया गरेर संसार देख्दा आफ्नै आँखा अगाडि बुहारी देखिन् । भनिन् ‘आवाजले चिन्ने बुहारीलाई अब आफैँले देखेर चिन्ने छु ।’ केही समयदेखि दुवै आँखा बन्द भएका फुङलिङ-६ का पूर्णबहादुर भट्टराईले आँखाको शल्यक्रियापछि पट्टी खोल्नासाथ अगाडि रहेको विद्यालयको नाम सिलसिलेबार पढे ।

शल्यक्रिया गरिएका बिरामीको फुङलिङस्थित बाल मन्दिर आधारभूत विद्यालयको खेल मैदान अगाडि एकसाथ पट्टी खोलिएको थियो । पट्टी खोल्नासाथ विद्यालयको नाम प्रष्ट देखेपछि उनले आफुलाई पुर्नदृष्टि दिने डाक्टर सन्दुक रुइतको जयजयकार गरे । उनले भने, ‘तपाईंलाई मानिसले यसै आँखाका भगवान भनेका रहेनछन् ।’ आँखाको शल्यक्रिया गरेका डाक्टर सन्दुक र उनका छोरा डाक्टर सागरले बिरामीको जयजयकारप्रति अभिवादन फर्काए ।
डाक्टर सन्दुक दृष्टि फर्किएका आँखाका रोगीको बिचमा बसे र आफ्नो टिमसँगै मुस्कुराए । यो दृश्य देख्नासाथ शल्यक्रिया गरेका बिरामीका आफन्तले तालीले सम्मान गरे । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखाको आयोजनामा कात्तिक २९ देखि फुङलिङमा सञ्चालित शल्यक्रियासहितको आँखा शिविरका लागि डाक्टर सन्दुक नेतृत्वको तिलगंगा आँखा अस्पतालको टोली अहिले गृह जिल्ला फुङलिङ केन्द्रित छ ।
डाक्टर रुइतको जन्म ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका- ७ ओलाङचुङगोला हो । ओलाङचुङगोला नेपालको दुर्गम उत्तरी क्षेत्र तर मनोरम पर्यटकीय स्थल हो । करिव ५ सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बाबाट वालुङ समुदायको झुरुप्प बस्ति रहेको क्षेत्र ओलाङचुङगोलाबाट सदरमुकाम फुङलिङ आइपुग्न करिव तीन दिनको पैदल यात्रा पूरा गर्नुपर्छ । अहिले कच्ची सडक मार्ग बनेर यात्रा केही सहज भएपनि बाह्रैकाल सवारी कुद्ने तहको भने छैन ।

दुर्गम क्षेत्रमा जन्मिएर आँखा स्वास्थ्य क्षेत्रमा विश्वमा नाम कहलिएका डाक्टर रुईत नेतृत्वको तिलगंगा आँखा अस्पताल,तिलगंगा फाउण्डेसन,सेवा फाउण्डेसन र फुङलिङ नगरपालिकासंगको सहकार्यमा ताप्लेजुङमा नेपाल नेत्रज्योति संघले यसपटक शल्यक्रियासहितको आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीका आइतबार मात्र करिव १ सय ७ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
ती मध्ये ६ जनाको दुबै आँखाको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिए । शिविरमार्फत करिव २ सय जनाको आँखाको शल्यक्रिया गर्ने योजना रहेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङ बताउँछन् ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङको समन्वयमा फुङलिङ र दोभान गरी ताप्लेजुङका दुई स्थान तथा पाँचथरको थर्पु बजार र यासोक बजार गरी दुई स्थान समेत गर्दा अहिले ४ क्षेत्रमा आँखा उपचार केन्द्र रहेका छन् । फुङलिङको डिचेन डोङ्गला बाहेक बाँकी ३ स्थानका आँखा उपचार केन्द्र सम्वन्धित क्षेत्रका पालिकाको आर्थिक साझेदारीमा सञ्चालनमा रहेको कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । आफ्नो प्रत्यक्ष नियमनमा १ तथा समन्वयमा ३ गरी ४ वटा आँखा उपचार केन्द्र रहेकोले डिचेन डोङ्गलालाई आधारभूत आँखा अस्पतालको रुपमा स्तरोन्नती गरी फुङलिङबाट अब हरेक महिना शल्यक्रियासहितको उपचार सेवा थाल्ने योजना बनाईएको नेपाल नेत्रज्योति संघले जनाएको छ ।
नेत्रज्योति संघले तिलगंगा फाउण्डेसनमार्फत डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शल्यक्रिया कक्ष(ओटी रुम)स्थापनाका लागि सहयोगको याचनासहित अनुरोधपत्र समेत बुझाएको छ ।
प्रकाशित: १ मंसिर २०८२ १७:२६ सोमबार





