२१ मंसिर २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

अन्नपूर्णमा टोल-टोलमा पुगेर स्वास्थ्य परीक्षण

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल-टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ।

स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ नभएको टोलमा पुगेर रोग पहिचानका लागि स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरेका हुन्। गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले हरेक महिना स्वास्थ्यकर्मीहरू प्रत्येक टोलमा पुगेर सुगर (चिनीरोग) र प्रेसर (रक्तचाप)को परीक्षण गर्ने व्यवस्था मिलाएको जानकारी दिए।

'ज्येष्ठ नागरिक, बालबालिका र विपन्नहरूलाई लक्षित गरेर स्वास्थ्यकर्मी टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको हो,' उनले भने, 'रोगको पहिचान गरी उपचारको पहुँचमा ल्याउन टोलटोलमा स्वास्थ्यकर्मी कार्यक्रम प्रभावकारी बनेको छ।'

गत आर्थिक वर्षमा यो कार्यक्रमबाट एक हजार २०० जना लाभान्वित भएका थिए। परीक्षणका लागि सुरु गरेको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष पनि आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मीलाई टोलटोलमा परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख बरुवालले बताए।

स्वास्थ्य संस्थामा पाइने औषधि लिएर टोलमा पुग्ने स्वास्थ्यकर्मीहरूले परामर्शका साथै निःशुल्क औषधि उपलब्ध गराउने गरेका छन्। परीक्षणका क्रममा समस्या देखिएकालाई थप उपचारका लागि अस्पताल जान सुझाउने गर्छन्। टोलमा पुग्ने स्वास्थ्यकर्मीले बच्चाहरूलाई खोप, गर्भवती र नवजात शिशुको तौल पनि लिने गरेका छन्।

टोलमै सेवा पाउँदा समयको बचत र उपचारमा सहज पहुँच स्थापित भएको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतकी वीनाकुमारी तिलिजाले बताए। आठ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा आठ वटा स्वास्थ्यचौकी, छ वटा सामुदायिक स्वास्थ्य एकाइ र दानामा आयुर्वेद स्वास्थ्य केन्द्र छ।

छरिएका बस्तीहरू रहेको र स्वास्थ्यचौकी तथा एकाइमा पुग्न घण्टौँ हिँड्नुपर्ने टोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। तोकिएको समयमा गर्भ परीक्षण र संस्थागत प्रसूति हुनेलाई घरमै पुगेर भाले उपहार दिने गरिएको छ।

अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार दोस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ। यहाँ आव २०८१/०८२ मा ७९ र २०८०/८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्। आव २०७९/८० मा १३९ मध्ये १३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए।

प्रकाशित: २९ कार्तिक २०८२ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App