७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

डेंगु संक्रमितले भरिए भक्तपुरका अस्पताल

ख्वप अस्पतालको इमर्जेन्सीमा भरिभराउ बिरामीहरु।<br>

डेंगु महामारीसँंगै भक्तपुरका अस्पतालहरु डेंगु संक्रमितहरुले भरिएका छन्।  

विशेष गरेर भक्तपुर नगरपालिका क्षेत्रमा डेंगुको महामारी चलेको छ। यही कारण च्याम्हासिंहस्थित ख्वप अस्पताल र भक्तपुर अस्पतालमा बिरामीको चाप बढेको हो।

जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार भक्तपुर जिल्लामा १ हजार १ सय ४० डेंगु संक्रमित भएका छन। यसमा महिला चार सय ८६ र पुरुष ६ सय ३९ रहेका छन्।  

चार वटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिका क्षेत्रमा सबैभन्दा बढी विरामी छन्। भक्तपुर नगरपालिकामा पाँंच सय ५३ जना छन्। यसमा महिला दुई सय ३१ जना र पुरुष तीन सय ६ जना रहेका छन्। त्यसपछि मध्यपुर थिमिमा चार सय ५८ जना डेंगु संक्रमित छन्। यसमा महिला एक सय ९६ र पुरुष दुई सय ६२ जना छन्। तेस्रो बढीमा सूर्यविनायक नगरपालिकामा एक सय ४ जना छन्। यसमा महिला ४६ र पुरुष ५८ जना रहेका छन्। चाँगुनारायण नगरपालिकामा जम्मा २५ जना संक्रमित छन्। यसमा महिला १२ र पुरुष १३ जना रहेका छन्। साथै १५ जनाको नगरपालिका नछुटिए रहेको तथ्यांक छ।  

जनघनत्व बढी भएको कारण र खुल्ला क्षेत्र नभएको कारण भक्तपुर र मध्यपुर थिमिमा धेरै बिरामी भएको अनुमान छ। जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये भक्तपुर र मध्यपुर थिमि पुरानो नगरपालिकाहरु हुन् भने सूर्यविनायक र चाँगुनारायण नयाँं घोषित नगरपालिकाहरु हुन्। भक्तपुर र मध्यपुर थिमिका सबै वडाहरु झण्डै घरैघरले भरिसकेका छन् भने चांँगु र सूर्यविनायक क्षेत्रमा खाली ठाउँंहरु प्रशस्त छन्।  

भक्तपुर नगरपालिकाको स्वास्थ्य संयोजक डा. रत्तसुन्दर लासिवाले डेंगुबाट बच्न सचेत रहन आग्रह गरेका छन्।  बारम्बार चेकअप गर्न जाने,  समयसमयमा व्लड टेस्ट गरेर डब्लु बिसी प्लेटलेसको अवस्था हेर्ने, एकदम सिकिस्त भए भर्नाको लागि अस्पताल आउन उनले सुझाए। साथै उनले सबै स्थानीयबासीलाई झुलभित्र बस्न र लिक्युट बालेर बस्न पनि उनले सुझाए। 

भक्तपुर अस्पताल, भक्तपुर नगरपालिकाले सञ्चालन गरिराखेको ख्वप अस्पतालबाहेक मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरिराखेको कोरिया नेपाल मैत्री अस्पताल, सूर्यविनायक नगरपालिकाले सञ्चालन गरिराखेको सूर्यविनायक अस्पताल र चाँंगुनारायण नगरपालिकाले सञ्चालन गरिराखेको चाँंगुनारायण अस्पतालमा पनि उतिकै बिरामीहरु रहेको बताइएको छ। यसबाहेकका निजी अस्पतालहरुमा पनि बिरामीहरु आइरहेको जनाइएको छ।

डेंगुबारे जनचेतनामूलक र्‍याली

डेंगु संक्रमितहरुको संख्या बढ्दै गएपछि भक्तपुर नगरपालिकाले शनिबार डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक र्‍याली निकालेको छ। भक्तपुर नगरको दुधपाटीबाट सुरु भएको र्‍याली नगर परिक्रमा गरी ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरमा पुगेर सभामा परिणत भएको थियो। र्‍यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो। ठाउँ ठाउँमा चुन, फिंडेल छर्कदै, पर्चा वितरण र पम्प्लेटहरु झुण्ड्याउँदै डेंगु रोग रोकथाममा सचेतना अभियान सञ्चालन गरिएको थियो।

लामखुटे, भुसुना प्राणी हुन, यिनको टोकाईले स्वास्थ्यमा ठूलो खतरा ल्याउन सक्छ भन्दै विभिन्न जनचेतनामूलक प्लेकार्ड र ब्यानर बोक्दै सहभागी समुदायले दुधपाटीबाट  नासमना, टौमढी, सुकुलढोका, दत्तात्रय, सूर्यमढी हुँदै च्याम्हासिंहस्थित ख्वप अस्पताल पुगेका थिए। सहभागीहरुले डेंगु ज्वरोबाट सुरक्षित व्यवहारका लागि नगरवासीहरुमा अनुरोध गरेका थिए।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अगुवाईमा आयोजना भएको यालीपश्चातको सभामा नगर प्रमुख प्रजापतिले दशैंको मुखमा डेंगु रोग संक्रामक रुपमा जनस्तरमा फैलिएर अस्पताल भरिभराउ भइसकेकाले डेंगु रोगबाट बच्न नगरबासीहरुलाई सुरक्षित व्यवहारका लागि आग्रह गरे।  

ख्वप अस्पतालका डाक्टर अमर प्रजापतिले डेंगु रोगलाई सामान्य रोगको रुपमा मात्र नलिई लक्षण देखिने बितिक्कै चिकित्सकको सल्लाह लिएर मात्र औषधीको सेवन गर्न आग्रह गरे।

डेंगुलाई सामान्य रुपमा मात्र लिंदा धेरैको ज्यान गइसकेकाले लक्षण देखिने बितिक्कै सचेत रहन उनले आग्रह गरे। संक्रमितलाई टोकेको लामखुटेले टोकेपछि परिवारका अन्य सदस्य तथा छरछिमेकीलाईसमेत संक्रमण फैलिनसक्ने भएकाले संक्रमतिलाई झुलभित्र सुरक्षित रुपमा राख्न र आवश्यक उपचारमा सहयोग गर्न उनले आग्रह गरे। ख्वप असपतालका प्रमुख डाक्टर रत्नसुन्दर लासिवाले भक्तपुर नगरमा मात्रै पाँंच सय ५३ जनामा डेंगु संक्रमण पुष्टि भइसक्दा जिल्लाभर २० औं हजारमा संक्रमण फैलिसकेको हुनसक्ने भएकाले थप सचेतनाको आवश्यकतामा जोड दिए। सो अवसरमा जनप्रतिनिधिहरु रवीन्द्र ज्याख्व, उपेन्द्र सुवाल, हरिराम सुवाललगायतले नगरका ठाउँठाउँमा डेंगु रोगबाट सुरक्षित व्यवहारका लागि अनुरोध गरे।

प्रकाशित: १५ आश्विन २०७९ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App