२० आश्विन २०७९ बिहीबार
स्वास्थ्य

अस्पतालको ५१ लाखबढी राजस्व हिनामिना

सुर्खेतको मेहलकुना अस्पतालमा सेवाग्राहीबाट संकलन भएको मध्ये ५१ लाख बढी राजस्व रकम अस्पतालका प्रशासन प्रमुखले हिनामिना गरेका छन्। आर्थिक वर्ष २०७८/०७९ संकलित राजस्व मध्ये ५१ लाख ३९ हजार ८२७ रुपैयाँ ५० पैसा अस्पतालका प्रशासन प्रमुख डा.सुजन सापकोटाले हिनामिना गरेका हुन्।  

अस्पतालका लेखा प्रमुख लोकेन्द्र खत्रीका अनुसार गत आर्थिक वर्ष आन्तरिक आम्दानीतर्फ एक करोड ६ लाख ६८ हजार ५५३ रुपैयाँ ५० पैसा संकलन भएको थियो। ‘संकलित रकम मध्ये ५५ लाख २८ हजार ७२६ रुपैयाँ मात्रै बैंकमा दाखिला भएको छ,’ लेखा प्रमुख खत्रीले भने, ‘बाँकी ५१ लाख ३९ हजार ८२७ रुपैयाँ ५० पैसा अस्पताल प्रमुख सापकोटाले नगदै लिए पनि अस्पताल विकास कोषको खातामा दाखिला गरेको देखिएन्।’ उनले अस्पताल प्रमुख सापकोटाले दैनिक संकलन भएको रकम नगदै लिँदा समस्या भएको बताए।  

‘असार मसान्तभित्रै उहाँ (सापकोटा)ले नगद लिएको पैसा खातामा दाखिला गरिसक्नुपर्ने हो,’ खत्रीले भने, ‘हालसम्म बैंक खातामा नगद लिएको रकम जम्मा भएको छैन्।' अस्पतालका राजस्व शाखा प्रमुख स्मृति माझीले दिनभर सेवाग्राहीबाट संकलन भएको नगद अस्पताल प्रमुख सापकोटालाई दिने गरेको बताइन्। ‘पहिले बैंक दाखिला हुन्थ्यो, सापकोटा अस्पताल प्रमुख भएर आएपछि उहाँले नगदै दिन भन्नुभयो,’ माझीले भनिन्, ‘अस्पताल प्रमुखको निर्देशन मानेर दिनभर संकलन भएको नगद हातमै बुझाउने गरेकी छु। ’

माझीले सेवाग्राहीबाट संकलन भएको रकम इन्ट्री गरेर अस्पताल प्रमुखलाई दिने गरिएको बताइन्। ‘सेवाग्राहीलाई विल दिएर नगद लिन्छौं,’ उनले भनिन्, ‘दिनभर संकलन भएको नगद अस्पताल प्रमुख डा. सापकोटालाई दिने गरेकी थिएँ।’ उनले डाक्टर सापकोटाले आफै बैंकमा दाखिला गर्ने भन्दै नगद दिने गरेका थिए।  ‘उहाँ (सापकोटा) अस्पताल प्रमुख भएर आएको दुई वर्ष भयो, एक वर्षसम्म म आफै बैंकमा रकम जम्मा गर्थे,’ उनले भनिन्, ‘अघिल्लो साउनदेखि नगदै दिनु भन्नु भएकाले सोही अनुसार गर्दै आएकी छु। ’

आर्थिक कार्यविधि अनुसार १० हजारमाथि रकम सेवाग्राहीबाट उठेको खण्डमा कार्यालयभित्रै बैंक भएमा सोही दिन र नभए भोलिपल्ट बैंकमा दाखिला गरिसक्नुपर्छ। अस्पताल प्रमुख सापकोटाले हातले विल काटेर दुरुपयोग भएको पाइएकाले दैनिक संकलन भएको राजस्व आफूलाई दिन भनिएको बताए।  उनले अस्पतालमा कर्मचारीको कमि भएकाले नगद आफैले राख्ने गरेको पनि बताए। ‘गलत उद्देश्यले पैसा लिएर अरु ठाउँमा लगानी गरेको छैन्,’ अस्पताल प्रमुख सापकोटाले भने, ‘अहिलेसम्म केही रकम जम्मा भइसकेको छ, केही जम्मा हुने प्रक्रियामा छ। ’ सापकोटाले साउन र भदौमा गरेर २२ लाख रुपैयाँ जम्मा गरेको बताएपनि राष्ट्रिय बाणिज्य बैंकमा रहेको अस्पतालको बैंक खातामा रकम जम्मा भएको देखिँदैन्।  

छानविन समिति गठन

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालमा भएको अनियमितताको विषयमा छानविन गर्नका लागि तीन सदस्यीय छानविन समिति गठन गरेको छ। मन्त्रालयका उपसचिव विनोद आचार्यको संयोजकत्वमा छानविन समिति गठन गरिएको मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए। ‘अस्पतालमा सेवाग्रहीले राजस्ववापत दिएको रकम हिनामिना भएको सुन्नमा आएकाले सत्यतथ्य छानविनका लागि समिति गठन गरेका छौं,’ सचिव काप्रीले भने, ‘छानविन समितिको प्रतिवेदनको आधारमा कारवाही प्रक्रिया अघि बढाउँछौं।'

प्रकाशित: ५ आश्विन २०७९ १८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App