८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

डेंगुका बिरामीले पाएनन नेपाली पारासिटामोल, बजारमा चौतर्फी अभाव

बुद्धनगरस्थित एक फार्मेसीमा सोमबार पारासिटामोल किन्न जाँदा फार्मेसी सञ्चालकले भने ‘नेपाली कम्पनीले उत्पादन गरेको पारासिटामोल छैन्, भारतीय कम्पनीले उत्पादन गरेको मेडामोल छ, लानुहुन्छ त?’  

पछिल्लो समय डेंगी संक्रमण बढेसँगै बजारमा पारासिटामोलको अभाव छ। चिकित्सकहरुले सिटामोलबाहेकका औषधि सेवन नगर्न सिफारिस गरेपछि बिरामीहरु सिटामोल खोज्दै फार्मेसी धाइरहेका छन्। तर बजारमा भारतको उत्पादनबाहेक नेपालमा उत्पादित सिटामोलहरु पाइएको छैन्।

सोमबार लगनखेलस्थित पाटन अस्पतालको फार्मेसीमा पारासिटामोल लिन पुग्दा त्यहाँ पनि पारासिटामोल छैन् भन्ने जवाफ आयो। प्रायः सबै फार्मेसीले सुरुमै ‘नेपाली सिटामोल छैन’ भन्छन। अस्पताल वरपरका फर्मेसीहरुले समेत बिरामीलाई सिटामोल बिनानै फकाइरहेका छन्।  

यता अस्पताल बाहिरका फर्मेसीहरुको हालत पनि त्यही छ। अस्पताल बाहिर रहेको श्रीराम फार्मेसीका सहायक फर्मासिस्ट रुद्र श्रेष्ठ पहिलाको तुलनामा अहिले पारासिटामोल कम आइरहेको बताउँछन्। उनी भन्छन्, ‘पहिलाको तुलनामा अहिले हामीलाई नै पारासिटामोल कम आइरहेको छ। दैनिक १५० देखि २०० सयको हराहारीमा पारासिटामोल खोज्न आउँनुहुन्छ। तर हामीसँग त्यतिधेरै पारासिटामोल छैन्।’

फार्मेसीहरुले अभाव सिर्जना गर्न पारासिटामोल लुकाएको भनेपनि त्यो सत्य नभएको उनी बताउँछन्। ‘विभागबाट अनुगमन गरिरहनु भएको छ। फार्मेसीहरुले पारासिटामोल लुकाएको भनेर उहाँहरुले अनुगमन गरिरहनु भएको छ। तर फार्मेसीहरुले पारासिटामोल लुकाएका छैनन्। बजारमा नै पारासिटामोल कम आइरहेको छ’, श्रेष्ठले भने

पछिल्लो समय बजारमा नेपाली कम्पनीहरुको भन्दा बिदेशी कम्पनीहरुले उत्पादन गरेको पारासिटामोल धेरै देखिने गरेको उनी बताउँछन्। ‘हाम्रोमा नेपाली कम्पनी चेमी ड्रग इन्ड्रष्ट्रीको पोलार छ।’ तर बाहिर कतिपय ठाउँमा भारतीय कम्पनीको मेडोमोल पाइन्छ भन्ने सुनेको छु।

यता, अल्का अस्पतालको फर्मेसीमा पनि पारासिटामोल अभाव नै रहेको बताउँछन् फार्मेसीका साहायक फार्मासिस्ट रञ्जीत श्रेष्ठ। उनी भन्छन्, ‘पहिलाको तुलनामा पारासिटामोल लिन आउनेको संख्या बढी छ। तर पारासिटामोल छैन्। डेंगी संक्रमण बढ्दा पारासिटामोल प्रयोगकर्ता पनि बढे। त्यसैले नी पारासिटामोल अभाव भएको हुन सक्छ।’ पारासिटामोलको मूल्य विवादले उत्पादनमा कमी आएको हुनसक्ने उनको भनाइ छ।  

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाह बजारमा पारासिटामोलको अभाव भएको सुनिएपनि लिमिटेडले भने पारासिटामोल उत्पादन गरिरहेको बताउँछन्। उनी भन्छन्, ‘हामीले सिटामोल अभावका सुचना सञ्चार माध्यमबाट थाहाँ पाइरहेका छौं । तर लिमिटेडले उत्पादन गर्ने औषधिहरु उत्पादन गरी बजार पठाइरहेका छौं। हामीले महिनाको करिब ५० लाख भन्दा बढी पारासिटामोल उत्पादन गरी पठाइरहेका छौं।’

औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी बजारमा पारासिटामोलको माग धेरै भएर अभाव सिर्जना भएको बताउँछन्। डेंगी संक्रमणले गर्दा पारासिटामोलको माग उच्च भएको र उत्पादन पहिलाकै तुलनामा हुँदा पारासिटामोल अभाव भएको उनको भनाइ छ।  

केसी भन्छन्, ‘बजारमा पारासिटामोल अभाव भनेपछि हामीले बजार अनुगमन गरिरहेका छौं। अनुगमनमा हामीले पारासिटामोल लुकाएको भेटेका छैनौं। पारासिटामोल उत्पादन गर्ने कम्पनीहरुसँग पनि विवरण माग गरेका थियौं। उहाँहरुले उत्पादन पनि पहिलाकै अनुसार गरिरहनु भएको छ। अहिले डेंगी संक्रमण बढेकाले पारासिटामोलको माग उच्च भयो। त्यसैले अलिअलि अभाव भएको हो। अबको केहि दिनमै यो समस्या समाधान हुन्छ।’

साउन महिनायता मात्र १ करोड ३६ लाख पारासिटामोल बजारमा पठाएको केसी बताउँछन्। बजारमा पारासिटामोल नेपाली कम्पनीको भन्दा भारतीय कम्पनीको धेरै छ हो भन्ने प्रश्नमा केसी त्यस्तो नभएको बताउँछन्। अनुगमनको क्रममा बजारमा पारासिटामोल भारतीय भन्दा नेपाली कम्पनीहरुको बढी भेटिएको उनको दाबी छ।  

कति लाग्छ एउटा सिटामोल उत्पादन गर्न ?  

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाह अनुसार लिमिटेडले अहिले  एउटा सिटामोल उत्पादन गर्न १ रुपैया ३५ पैसामा उत्पादन गरिरहेको छ।  औषधि बजारमा पठाउनु भन्दा अगाडि औषधि उत्पादन गर्न चाहिने कच्चा पदार्थदेखि प्याकेनिङ्ग, ओभरहेड, विज्ञापन, कमिशन निर्यातसम्मको कुराहरू औषधिको मूल्यमा जोडिने सफिउल्लाह बताउछन्।  

उनी भन्छन्, ‘सिटामोललाई आवश्यक पर्ने कच्चा पदार्थ नेपालमा पाइदैन। कम्तिमा ४ देखि ५ वटासम्मको कच्चा पदार्थ प्रयोग गनुपर्ने हुन्छ। नेपालमा धेरैजसो भारत र चीनबाट कच्चा पदार्थहरू आउने गर्दछ। कम्पनीअनुसार कच्चा पदार्थको मुल्य तोकिएको हुन्छ। त्यसैले यति नै लाग्छ भन्न गाह्रो छ।’  

सफिउल्लाहका अनुसार नेपाल औषधि लिमिटेडले अहिले ७४ पैसामा सिटामोल बजारमा पठाइरहेको छ। उनी भन्छन्, ‘हामी सिधै बिक्री गर्न सक्दैनौ, होलसेलरलाई दिनुपर्छ, उसले १० प्रतिशत राख्छ। त्यसपछि सरकारले नै तोकेको छ जसले औषधि बेच्छ। उसले १६ प्रतिशत मार्जिन राख्न पाउने । त्यसरी औषधि बजारमा जाँदा महगो पर्न जान्छन्।’  

लिमिटेडले मासिक रुपमा लगभग ४५ देखि ५० लाख सिटामोलको ट्याबलेट बजारमा पठाउने गरेको छ। तर, अहिले बजारमा सिटामोलको माग धेरै तर उत्पादन कम भएर अभाव सिर्जना भएको हुनसक्ने  सफिउल्लाहको भनाइ छ। कतिपय औषधि उत्पादन गर्ने फर्माहरूले उत्पादन लागत बढी लाग्ने र बिक्री कममा गर्नुपर्दा उत्पादन नै गर्न छाडेकोले नी सिटामोलको अभाव भएको हुनसक्ने उनी बताउछन्।

प्रकाशित: ४ आश्विन २०७९ ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App