८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सत्याग्रहको तेस्रो दिन ,डा. केसीको स्वास्थ्य अवस्था जटिल

स्वास्थ्य अवस्था जटिल बनेपछि सेती प्रादेशिक अस्पतालको बेडमा डा. केसी। तस्बिर : दिलबहादुर छत्याल: नागरिक

धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा २०औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहित ७ बँुदे माग राखेर सत्याग्रहमा बसेका डा. केसीको बुधबार तेस्रो दिन स्वास्थ्य अवस्था जटिल भएपछि बेलुकी एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पतालमा लगिएको छ।

उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिए पनि डा. केसीले औषधिको प्रयोग गर्न मानिरहेका छैनन्। सत्याग्रहमा बसेकाले औषधिको प्रयोग नगर्ने बताइरहेका डा. केसीको जिउ दुख्ने, रिँगटा लाग्ने भएर गाह्रो भइरहेको छ।  

डा. केसीको बुधबार नियमित चेकगर्दा रगतमा ग्लुकोजको मात्रा एकदमै कम देखिएको चिकित्सक शेरबहादुर कमरले बताए। यसैगरि सेतो रक्त कोषिका पनि कम देखिएको छ। ‘डा. केसीको स्वास्थ्य अवस्था चेकजाँच गर्दा अवस्था जटिल देखिएको छ,’ डा. कमरले भने,‘उहाँको पिसावमा पनि किटोन देखिएको छ।’ डा. केसीको अवस्था जटिल भएपछि चिकित्सक टोलीले निगरानीमा राखेको चिकित्सक अमृत जैसीले बताए। डा. केसीले औषधिको प्रयोग गर्न नमानिरहेको बताउँदै उनले भने, ‘उहाँले औषधि सेवन गर्न नमानेका कारण हामीले स्लाइन पानी प्रयोग गर्न खोज्यौं, त्यो पनि मान्नु भएन।’

अहिले डा. केसीलाई सेती प्रादेशिक अस्पतालमा लगिए पनि उनले औषधिका साथै स्लाइन पानी समेत प्रयोग गर्न मानेका छैनन्। जसले गर्दा उनको स्वास्थ्य अवस्था झनझन जटिल बन्दै गएको छ।  

डा. केसीको सत्याग्रहप्रति एक्यबद्धता जनाउँदै दैनिक भेटघाट गर्न तथा उपस्थितिमा हस्ताक्षर गर्नेको संख्या बढ्दो छ। ‘डा. केसीका माग जायज छन्,’ स्थानीय सन्दु आचार्यले भनिन्, ‘उहाँको सत्याग्रहमा समर्थन गर्न म पनि यहाँ आइपुगेकी हुँ।’ उनी मात्रै हैनन् दैनिक सयौं स्थानीयहरू डा. केसीको सत्याग्रह स्थल पुगेर समर्थन जनाइरहेका छन्।

 नेपाल सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको र स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सुधारका मागमा बेवास्था गरेको भन्दै २०औं सत्याग्रह गर्न गत सोमबार उनी धनगढी आइपुगेका थिए। स्वास्थ्य र चिकित्सा शिक्षाका क्षेत्रमा सुधार तथा सुशासनको मुद्दा लिएर डा. केसीले धनगढीमा पुनः सत्याग्रह सुरु गरेका हुन्।  

तीन साताको समयसीमा दिएर भदौ १२ गते अनशन बस्ने भनेकोमा सरकारी पक्षले केही समय पर्खन भनेपछि उनले थप दुई हप्ता समय दिएको बताएका उनी गत सोमबार मात्रै सत्याग्रहका लागि धनगढी हिँडेका थिए। धनगढी पुगेकै दिन बेलुकी पत्रकार सम्मेलन गरेर उनी सत्याग्रहमा बसेका थिए। शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच हुनुपर्ने संविधानमै उल्लेख भए पनि माफियासँग सबै दलका नेताहरू मिलेका कारण गरिब जनताले शिक्षा र स्वास्थ्यबाट वञ्चित हुनु परेको भन्दै आफूले सत्याग्रह गरेको उनको भनाइ थियो।

गरिबले तिरेको करबाट नेताहरूले विदेशमा गई महँगो अस्पतालमा उपचार गर्ने, तर तिनै नेतालाई भोट दिने र कर तिरेर उनीहरू उपचार नपाएर मर्नु पर्ने यो अवस्थाको अन्त्य होस् भन्ने आफ्नो माग रहेको उनले यसअघि पत्रकार सम्मेलनमार्फत बताएका थिए।

 माफियाहरूसँग मिलेर निजी अस्पतालमा नेताहरूले नै लगानी गरेका कारण अहिलेसम्म सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानहरू सञ्चालन हुन नसकिरहेको उनले बताएका थिए। यसपटकको सत्याग्रहमा डा. केसीको सरकारसँग ७ बुँदे माग रहेको छ।

आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरिनुपर्ने लगायतका ७ बुँदामा आफूले २०औं पटक सत्याग्रह गर्नुपरेको उनको भनाइ थियो।

प्रकाशित: ३० भाद्र २०७९ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App