coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

विकट पहाडी ताप्लीमा पनि अब भिडियो एक्सरेबाट स्वास्थ्य जाँच

स्वास्थ्य प्रमुखलाई सामग्री हस्तान्तरण गर्दै अध्यक्ष विक र उपाध्यक्ष मगर।

जिल्लाको विकट पहाडी ताप्ली गाउँपालिकामा पनि अब भिडियो एक्सरेबाट स्वास्थ्य सेवा पाइने भएको छ। गाउँपालिकामा विद्युत लाइन विस्तार भएसँगै गाउँपालिका केन्द्र रुपाटारस्थित स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिन जडान गरेर सेवा विस्तारको तयारी भएको हो।

विद्युत सेवा पुगेसँगै अन्तराष्ट्रिय दातृ निकाय वल्र्डभिजन इन्टरनेशनल नेपालले रुपाटार स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन उपलब्ध गराएको हो। वल्र्डभिजनले उदयपुरस्थित साझेदार संस्था मानव अधिकार र विकास केन्द्र (हुरेण्डेक)सँगको समन्वयमा ५ लाख मूल्य बराबरको भिडियो एक्सरे उपलब्ध गराएको हो।

त्यसैगरी हुरेण्डेकले औषधि चिस्यान उपकरण (रेफ्रिजेरेटर) पनि प्रदान गरेको छ। लगभग ४ लाख मूल्य बराबरको रेफ्रिजेरेटर र पोषण कर्नर उपकरण वल्र्डभिजनले स्वास्थ्य चौकीलाई दिएको गाउँपालिकाले जनाएको छ। खासगरी गर्भवती महिलाको गर्भ जाँच तथा औषधिलगायत खोप भण्डारण गर्न रेफ्रिजेरेटर र बालबालिकाको पोषणसम्बन्धी काम गर्न पोषण कर्नर प्रदान गरेको गाउँपालिकाले जनाएको छ।

केही दिनअघि रुपाटामा आयोजित एक कार्यक्रमका बीच ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराज विक र उपाध्यक्ष धनमाया मगरले वल्र्डभिजनबाट प्राप्त उपकरणहरु स्वास्थ्य चौकीलाई हस्तान्तरण गरे। सामग्री हस्तान्तरण गर्दै अध्यक्ष विकले ताप्लीजस्तो विकट गाउँपालिकामा पनि भिडियो एक्सरेबाट गर्भजाँच गर्न पाउने वातावरण बन्नु र यसका लागि सहयोग गर्ने संस्था हुरेण्डेक र वल्र्डभिजनलाई धन्यवाद दिए।

यी सामग्रीको भरपुर उपयोग गर्न स्वास्थ्य चौकीलाई आग्रह गर्दै अध्यक्ष बिकले विद्युत विस्तार भएपछि स्वास्थ्य, शिक्षालगायत हरेक कुरामा सहयोग पुग्ने भएकैले विद्युतीकरणमा गाउँपालिकाले बढी ध्यान केन्द्रित गर्दै आएको बताए। अध्यक्ष विकले गाउँपालिकाले संघीय सांसद सुरेशकुमार राईको पहलमा ताप्ली गाउँपालिकाका सबै वडाका बस्तीहरुमा विद्युत विस्तार भइसकेको र अब ताप्ली अँध्यारोमुक्त भएको बताए।

उपाध्यक्ष धना मगरले यी सामग्री पाएपछि ताप्लीबासीलाई स्वास्थ्य सेवा लिन सहज भएको बताउँदै अब तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी व्यवस्थापन गरेर जनतालाई सहज स्वास्थ्य सेवा दिने योजना सुनाइन्। गाउँपालिकाबासीलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न दक्ष स्वास्थ्यकर्मी र प्रविधि व्यवस्था गर्न गाउँपालिका प्रयत्नशील भएको मगरको भनाइ छ।

खासगरी दुरदराज र बिकट गाउँबस्तीका जनतालाई सुलभ र सहज स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले वल्र्डभिजनसँगको साझेदारीमा आधुनिक स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने गरिएको हुरेण्डेकका अध्यक्ष शंकर थापाले बताए। थापाले वल्र्डभिजनसँग साझेदारीमा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गन हुरेण्डेकले सो सामग्री दिएको जानकारी दिएका छन्।

प्रकाशित: २८ भाद्र २०७९ ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App