१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

देवाही गोनाही नगरपालिकामा करिब दश लाखको औषधि स्टोरमै खराब

फाइल तस्बिर।

रौतहटको देवाही गोनाही नगरपालिकामा करिब दश लाख मूल्य बराबरको औषधि स्टोरमै खराब भएको छ। नगरपालिका कार्यालयको लापरवाहीले समयमै ध्यान दिन नसक्दा सर्वसाधारणलाई काम लाग्ने लाखौँ मूल्यको औषधि स्टोरमै म्याद गुज्रिएर खराब भएको हो।

नगरपालिकाको स्टोरमा एजिथो माइसिन, सलाइन, मेट्रोन डिएफलगायत अन्य विभिन्न प्रकारका औषधिहरुको म्याद गुज्रिएको छ। गत वर्षको कात्तिक महिनादेखि नै केही औषधिहरु स्टोरमा रहेका छन्। नगरका स्वास्थ्य चौकीहरुलाई औषधि उपलब्ध नगराइ स्टोरमै राखिरहनाले हजारौँ विपन्नलाई काम लाग्ने औषधि म्याद गुज्रिएर समाप्त भएको हो।

लाखौँको औषधि उपयोगमा नआएर खेर जाँदा जिल्लामा देवाही गोनाही नगरपालिकाको आलोचना भएको छ। औषधिको म्याद गुज्रिएको सम्बन्धमा नगर प्रमुख प्रेमलाल साहसित सम्पर्क गर्दा स्वास्थ्य शाखाको लापरवाहीले लाखौँ मूल्यको औषधि म्याद गुज्रिएको अवस्थामा फेला परेको बताएका छन्।

नगरका स्वास्थ्य चौकीहरुले औषधिको लागि ताकेता गर्दै आएको र आफूले पटकपटक स्वास्थ्य शाखालाई औषधि पठाउन निर्देशन दिए पनि सम्बन्धित निकायमा औषधि नपठाउँदा आफूले नै स्टोर खोल्न लगाएर हेर्दा लाखौँ मूल्यको औषधिको म्याद गुज्रिएको देखिएको बताएका छन्।

आफूहरु नगरपालिकाका आएको केही महिना मात्र भएको र आफूहरु निर्वाचित भएर आउनुभन्दा पहिले नै म्याद गुज्रिएको अवस्थाका औषधिहरु स्टोरमा रहेको बताउँदै नगर प्रमुख साहले स्वास्थ्य शाखाका कर्मचारीहरुले म्याद गुज्रेको औषधि नै किनेर स्टोरमा थन्क्याएको आशंका रहेको बताउँछन्।

सर्वसाधारणले औषधि नपाएको र लाखौँको औषधि म्याद गुज्रिएर खराब भएको विषयमा तत्काल विज्ञसहितको छानविन समिति गठन गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने नगर प्रमुख साहले दाबी गरेका छन्।

प्रकाशित: २२ भाद्र २०७९ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App