८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

रुपन्देहीको सियारीमा भेटेनरी अस्पताल बन्दै

रुपन्देहीको सियारी गाउँपालिकामा पशु सेवा केन्द्र (भेटेनरी अस्पताल) निर्माण गरिने भएको छ। नेपाल लाईभस्टक सेक्टर ईनोभेसन प्रोजेक्टको आयोजनामा सेवा केन्द्र भवन निर्माण हुन लागेको हो। उक्त प्रोजेक्ट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र विश्व विकास बैंकको सञ्चालित आयोजना हो।

भेटेनरी अस्पताल भवनको शिलान्यास गर्दै गृहमन्त्री बालकृष्ण खाँणले कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि कृषि सम्बन्धी पूर्वाधार निर्माणमा जोड दिनु पर्ने बताए। सियारीमा निर्माण हुने भेटेनरी अस्पतालले पशु तथा पशुजन्य उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले भेटेनरी अस्पताल निर्माण भएपछि सियारीबासी कृषकहरुको आर्थिक उपार्जनमा महत्वपुर्ण योगदान पुग्ने बताए। गाउँ-ठाउँमै भेटेनरी अस्पताल बन्दाकिसानलाई सहज हुनुका साथै कृषि उद्यम फष्टाउन मद्दत पुग्ने बताए।

गाउँपालिका उपाध्यक्ष तारा थारुले नेपाल लाईभस्टक सेक्टर इनोभेसन प्रोजेक्टले सियारीमा पशु हाट बजारको निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको जानकारी दिइन्। भेटेनरी अस्पताल सियारीका लागि दोश्रो महत्वपूर्ण आयोजना भएको उनले बताइन्।

आयोजना निर्देशक डा. उमेश दाहालले सो परियोजना पशु सेवाको क्षेत्रमा नविन प्रबिधिको माध्ययमबाट पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व बृद्धि, मूल्य श्रृंखलाको बिकास गरी कृषकलाई उद्यमी बनाउन तथा ग्रामिण क्षेत्रका जनताको जिविको पार्जन एवं खाद्यन्न र पोषण सुरक्षामा काम गर्ने सस्था भएको जानकारी दिए। उनले उक्त आयोजनाले देशका २८ जिल्लाका २८९ गाउँपालिका/नगरपालिकामा काम गर्दै आएको बताए।

आयोजनाको बुटवलस्थित कार्यालयले लुम्बिनी प्रदेशका सातवटा जिल्लामा काम गर्दै आएको आयोजना प्रमुख डा. गान्धीराज उपाध्यायले जानकारी दिए। प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका ६९ वटा गाउँपालिका तथा नगरपालिकामा पशुपालक कृषकलाई लगानी गर्दै आएको डा. उपाध्यायले बताए।

आयोजनाले पशुपालक कृषकलाई खसीबोकाको मासु, गाई भैंसीको दुध उत्पादनमा साना र मझौला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजनाको तर्फबाट ५० प्रतिशत (अधिकतम एक करोड) सम्म पुरक अनुदान दिने व्यवस्था गरिएको र त्यसका लागि कृषकले २० प्रतिशत र वित्तीय संस्थाको तर्फबाट ३० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान राखिएको डा. उपाध्यायले जानकारी दिए।

प्रकाशित: २० भाद्र २०७९ १३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App