९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

चितवनका अस्पतालमा डेंगु र स्क्रबटाइफसका बिरामी बढे

चितवनमा डेंगु र स्क्रबटाइफसका बिरामी बढेका छन्। चितवनमा एक महिनाको बिचमा  ७६ जनामा डेंगु र ३२ जनालाई स्क्रबटाइफस देखिएको छ।  साउन महिनामा गरिएका ९९९ जनाको नमूनामा ७६ जनामा डेंगु देखिएको हो। सोही अवधिमा २१७ जनाको परीक्षण गर्दा ३२ जजनामा स्क्रबटाइफस देखिएको छ।  

स्वास्थ्य कार्यालय चितवनका अनुसार, भदौ महिनाको तथ्यांक संकलन भइरहेको छ। भरतपुर अस्पताल, नारायणी सामुदायीक, पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेज, माडीको बकुलहर अस्पतालमा आएका बिरामीको नमूना संकलन गर्दा उनीहरुमा डेंगु र स्क्रबटाइफसको देखिएको हो। अहिले भरतपुर अस्पतालमा डेंगु र स्क्रबटाइफसका बिरामीको संख्या बढ्दै गएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेले बताउँछन्। ‘अस्पतालमा ज्वरोका बिरामीहरु बढी आउँछन्। डेंगु र स्क्रवटाइफस परीक्षण गर्दा धेरै बिरामीलाई देखिन्छ’, उनले भने।  

बिशेष गरेर चितवनमा जेठ, असार, साउन, भदौँ र असोजसम्म डेंगु र स्क्रबटाइफसका बिरामी देखिने गरेका छन्। जिल्लामा आर्थिक वर्ष २०७८÷२०७९मा ३०३ जना डेंगु देखिँदा २८१ जनालाई स्क्रबटाइफस देखिएको थियो। नेपालमै पहिलो पटक सन् २००४मा चितवनमा पृष्टि भएको डेंगु रोग दुई तीन बर्षको अन्तरालमा महामारीकै फैलिने गरेको स्वास्थ्य कार्यालय चितवका सूचना अधिकारी राम केसीले बताए।  

सन् २०१९मा चितवनमा सबैभन्दा धेरै ४ हजार ८०३ जनामा डेंगु देखिएको थियो। त्यस लगत्तै जिल्लामा कोरोना संक्रमण देखिन थालेको हो। त्यस्तै सोही अवधिमा तीन जनाको मृत्यु भएको थियो। चितवनमा सन् २००४मा पूरानो मेडिकल कलेजमा उपचारत विदेशी नागरिकलाई डेंगु देखिएको  थियो। त्यसपछि सन् २००६मा चितवन लगायतका तराईका जिल्लामा देखिन थाल्यो। सन् २००९मा चितवनमा ९ जनामा डेंगु देखियो। सन् २०१०मा देशभर ९००जनामा डेंगु देखिँदा ७००को हाराहारीमा चितवनमा देखा परेका थिए। त्यस्तै सन् २०१६मा चितवनमा डेंगु महामारीकै रुपमा फैलिएको थियो। सोही अवधिमा ६८७ जनामा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ।  

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो मध्ये एक डेंगु हो। यसको संक्रमणमा सुरुवाती दिनमा शरीरमा रातो रातो डावर आउने, एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, मासपेसी दुख्ने,  गिजा र पिसाबमा रगत देखिनेजस्ता लक्षण देखा पर्ने नारायणी सामुदायीक अस्पतालका फिजिसियन डा.किशोर गौतम बताउँछन्। अस्पतालमा बिरामीको संख्या बढेको उनले बताए।  

मुसामा हुने एकप्रकारको माइट भन्ने संक्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टेरियाको कारणले स्क्रब टाइफस हुने गौतमले बताए। ‘यो रोग वर्षाको समयमा देखिन्छ। उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ,उनले भने ‘यसमा विशेषरी उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने, पेट दुख्छ।’

डेंगु सार्ने लामखुट्टे  ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ। यसले ससाना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ। खासगरी बर्षाको पानी जम्ने टीनका डब्बाहरु, रंगका खाली डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, फुलदानी, गमला, पानीका ट्यांकी आदीमा फुल पार्दछ। सहरी क्षेत्रमा यी वस्तुहरु पाइने भएकाले डेंगु रोग यस क्षेत्रमा बढी गरेको उनले बताए। उनले घरवरिपरि सफा सुग्घर राख्ने र पानी जम्ने खाल्टा खुल्टी पुर्न सर्वसाधारणलाई समेत आग्रह गरेका छन्।

प्रकाशित: १५ भाद्र २०७९ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App