७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

रुपन्देहीमा डेंगु नियन्त्रणका लागि 'खोज नष्ट गर' अभियान सुरू

डेंगुले प्रकोपकै रुप लिन थालेपछि बुटवल उपमहानगरले संचालन गरेको खोज र नष्ट गर अभियान अन्तर्गत लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्न औषधि छर्किंदै।

रुपन्देहीमा डेंगु संक्रमण प्रकोपकै रुपमा फैलीन थालेको छ। गत असारदेखि डेंगुको संक्रमण भएका बिरामी फाट्टफुट्ट भेटिन थालेकोमा साउन महिना लागेसँगै संक्रमण ह्वात्तै बढेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै अहिले दिनमा १६/१७ जना डेगुं संक्रमणमा बिरामी आउने गरेको प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.इन्द्र ढकालले बताए। असारसम्म फाट्टफुट्ट रुपमा देखा परेको डेंगुका बिरामीको संख्या साउन लागेपछि ह्वात्तै बढेको उनले बताए। ज्वरो आएर अस्पताल आउने बिरामी मध्ये परिक्षणका क्रममा ४० प्रतिशत बढीमा डेगुं संक्रमण देखिएको मेसु डा.ढकालले बताए। 

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार हाल सम्म रुपन्देहीमा २ सय ६९ जनामा डेंगु संक्रमण भएको छ। ती बिरामीहरु बिभिन्न अस्पतालहरुमा उपचारत रहेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिए।  

अघिल्ला वर्षहरुमा मध्ये साउनदेखि भदौ अन्तिमसम्म देखिने डेंगु संक्रमण यो वर्ष असारदेखि नै सुरु भएको शाहले बताए। विशेषगरी बुटवल, तिलोत्तमा, भैरहवा, सैनामैना, देवदह जस्ता शहरी क्षेत्रमा डेंगु प्रकोपकैरुपमा फैलिने खतरा रहेको उनले बताए। शहरी क्षेत्रमा भत्काएर असरल्ल छोडिएका सडकका पानी जम्ने खाल्डाखुल्डी, नाली, यत्रतत्र फलीएका पुराना डायर ट्युव, पुराना भाडाकुँडा, ओसीलो तथा पानी जम्ने झाडी आदिको समयमै सरसफाइमा ध्यान नदिदा डेंगु संक्रमण बढेको स्वास्थ्यकर्मीहरु बताउँछन्।  

डा.ढकालका अनुसार डेंगु संक्रमणको लक्षणहरुमा उच्च ज्वरो आउने,आँखा रातो भएर दुख्ने,टाउको, पेट, मांसपेशी,जोर्नी दुख्ने, वाकवाकी लाग्ने, पखाला लाग्ने आदि हुन्। डेंगुको समयमै उपचार नगरे लगातार उच्च ज्वरो आउने, शरीरमा आलस्यता बढ्दै जाने, नाक वा गिँजाबाट रगत बग्ने र शरीरमा रगत जमेको जस्ता दाग देखिने, बिरामी वेहोस हुने जस्ता जटिल समस्या देखिने भएकाले सुरुका लक्षण देखिने बित्तिकै बिरामीलाई तुरुन्तै अस्पताल वा स्वास्थ्य संस्थामा लैजानु पर्ने ढकालले बताए। विशेषगरी दिउँसो र साँझ पख घरबाहिर निस्कदा शरीरको पुरै भाग छोपिने गरी लुगा लगाउन र लामखुट्टेको टोकाइबाट बच्न डा.ढकालकाे सुझाव छ।  

डेंगु संक्रमण बढेपछि यसको नियन्त्रणकालागि बुटवल उपमहानगरले  खोज र नष्ट गर अभियान सुरु गरेको छ। जनप्रतिनिधिको नेतृत्वमा स्वासथ्यकर्मी, सरसफाइकर्मी, स्वयमसेविकाको सहभागीतामा अभियान सुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए। लामखुट्टे अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने अभियान चलाइएको उनले बताए। 

बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखीम कम गर्न र सावधानी अपनाउनकालागि समुदायमा पुगेर सचेतना जगाउने,सञ्चारमाध्यमबाट जनचेतनामुलक कार्यक्रम संचालन गर्ने लगायतका कार्यहरु नगरपालिकाले गरेको नगरप्रमुख पाण्डेले बताए। डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियानलाई निरन्तरता दिनुका साथै सचेतना मुलक कार्यक्रम मार्फत समुदायलाई सचेत बनाउने काम भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए। बुटवल उपमहागरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वडा नं. १,५,र ६ मा खोज र नष्ट गर अभियान सञ्चालन भइसकेको र सम्भावित अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको उनले बताए। पानी जम्ने ठाँउमा लामखुट्टेले लार्भा बनाउने भएकाले घर वस्ती वरपर पानी नै जम्न दिन नहुँने र निरन्तर सरसफाइ गर्नुपर्नेमा उनले जोड दिए।  

यसैबीच बुटवल उपमहानगरपालिकाले फेयरमेड फाउण्डेशन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र बुटवलको सहकार्यमा जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम समेत गरेको छ। नगरप्रमुख पाण्डेयले डेंगुको संक्रमण बढ्दै गएकाले सावधानी र सचेतना अपनाउन नगरबासीलाई आग्रह गरेका छन्। नगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले डेंगुबाट जोगिन सरसफाइका साथसाथै सावधानी अपनाउनुपर्ने बताइन्।

प्रकाशित: २६ श्रावण २०७९ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App