coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोभिडको तयारीमा जुट्यो कर्णाली सरकार

कोभिड–१९ का संक्रमितहरु बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले यसको रोकथाम, नियन्त्रण र उपचारका लागि तयारी थालेको छ। 

प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य तीन वटा नाकाहरु सुर्खेतको बबई र कुइने तथा सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर र स्वास्थ्य सामाग्रीहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धि गठित प्रदेशस्तरीय निर्देशक समितिको बैठकले जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालना गर्न सरोकारवाला निकायहरुलाई आग्रह गर्ने निर्णय गरेको छ।

‘कर्णाली प्रदेशमा कोभिड–१९ का संक्रमित तथा शंकास्पद व्यक्तिहरुको संख्या बढ्दै गइरहेकाले आम नागरिकलाई जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालना गर्न, शंकास्पद व्यक्तिलाई प्रयोगशालामा परीक्षण गर्नका लागि जिल्ला तथा स्थानीय तह कोभिड–१९ संकट प्रतिकार्य व्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय भएको छ,’  सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले भने, ‘यसका साथै सामान्य संक्रमितहरुलाई होम आइसोलेशनमा बस्न र गम्भीर स्वास्थ्य अवस्था भएका बिरामीहरुलाई पायक पर्ने अस्पतालमा जान प्रेरित गर्न पनि प्रशासन र सबै स्थानीय तहलाई पत्राचार गरिनेछ।’

निर्देशक समितिले चाडपर्वसँगै मानिसहरुको भीडभाड बढ्न थालेकाले स्थानीय तह एवं जिल्ला प्रशासन कार्यालयमार्फत् भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नका लागि निरन्तर अनुगमन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।  

बैठकले कर्णाली प्रदेश अस्पतालसहित जिल्ला अस्पताल, आधारभूत अस्पताललगायत स्वास्थ्य संस्थाहरुलाई बिरामीहरुको उपचारका लागि अत्यावश्यक जनशक्ति, उपकरण तथा अन्य औषधीजन्य र सुरक्षा सामग्रीको व्यवस्थापन गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ।  

बैठकले कोभिड–१९ का गम्भीर प्रकृतिका संक्रमितहरुलाई थप उपचारका लागि तत्काल प्रेषण गर्नका लागि अस्पताल तथा स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा रहेका एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने, कोरोनाविरुद्धको खोप लगाउन समुदायस्तरमा स्वास्थ्यकर्मीहरु परिचालित गर्ने निर्णय पनि गरेको छ। यस्तै सञ्चार माध्यमार्फत समुदायस्तरमा जनचेतना फैलाउन तथा खोप सेवालाई प्रभावकारी बनाउनका लागि सञ्चार माध्यममार्फत् जनचेतनामूलक सामग्रीहरु प्रकाशन तथा प्रसारण गर्ने निर्णय पनि बैठकले गरेको छ।  

बैठकमा मुख्यमन्त्री शाहीले कोरोनाबाट हुने मानवीय क्षति कम गर्नका लागि कर्णाली प्रदेश सरकार गम्भीर रहेको बताए। उनले कर्णाली प्रवेश गर्ने मुख्य तीन वटा नाकाहरुमा चेकजाँच र परीक्षणलाई प्रभावकारी बनाउन, क्यारेन्टिन र अस्पतालहरुमा प्रयाप्त जनशक्ति र स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन गर्न, अक्सिजन प्लान्टहरुलाई तयारी अवस्थामा राख्न निर्देशन दिए। मुख्यमन्त्री शाहीले समुदायस्तरमा पुगेर कोरोना भाइरसविरुद्ध खोप नलगाएकाहरुलाई खोप लगाउन पनि निर्देशन दिए।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हाल कर्णाली प्रदेशमा २३० जना आइसोलेसनमा छन्। पछिल्लो एक महिनायता कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा. रवीन खड्काले जानकारी दिए। ‘परीक्षण गरिएका मध्ये ५० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ‘यसको रोकथामका लागि कर्णाली प्रदेश भित्रिने नाकाहरुमा कडाईका साथ चेकजाँच र परीक्षण आवश्यक छ।’

प्रकाशित: २६ श्रावण २०७९ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App