७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सुदूरपश्चिममा संक्रमण बढ्दै, सावधानीका मापदण्ड पालना गर्न तिर छैन ध्यान

सुदूरपश्चिममा कोराना संक्रमण पुन फैलिन थालेको छ। पछिल्लो एक साता यता सुदूरपश्चिममा कोराना संक्रमितको संख्या बढ्दै गएको छ। सेती प्रादेशिक अस्पतालमा पनि कोभिड-१९ संक्रमितहरु भर्ना हुने क्रम सुरु भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिककुमार श्रेष्ठले कोराना संक्रमणका बिरामी अस्पतालमा आउन थालेको बताए। अस्पतालमा १० जना संक्रमितका बिरामी भर्ना भएको उनले बताए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार परीक्षण गर्दा गत बिहीबार १८ जना, शुक्रबार १९ जना संक्रमित देखा परेकोमा शनिबार ३२ जनामा संक्रमण देखा परेको थियो।

यसैगरी आइतबार ३२ जना, सोमबार ३६ जना नयाँ संक्रमित देखा परेका थिए भने मंगलबार ६ सय ८९ जनाको परीक्षण गर्दा ५० जनामा संक्रमण देखा परेको छ। बुधबार ५ सय ४६ जनामा परीक्षण गर्दा ५४ जनामा संक्रमण देखा परेको छ। परीक्षण गरेकोमा १० पतिशतमा कोराना संक्रमण देखा परेको हो।

सुदूरपश्चिम प्रदेशमा २ सय १७ सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा बढी कैलालीमा र कञ्चनपुरमा संक्रमित देखा परेका छन्। गत एक महिनादेखि नयाँ संक्रमित देखा पर्न थालेकोमा पछिल्लो एक साता यता कोरानाको संक्रमण बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए।

‘पछिल्लो एक सातामा प्रत्येक दिन संक्रमितको संख्या बढ्दै गएको देखिएको छ’ उनले भने। कोराना संक्रमण बढ्दै गएपछि सर्वसधारणले कोराना संक्रमणबाट जोगिने उपाय अवलम्बन गर्ने र सावधानीका मापदण्ड अपनाउने नगरेको उनी बताउँछन्।

यसैगरी खोप नलगाउने व्यक्ती उच्च जोखिममा पर्ने भएपनि अझै कयौ जनाले खोप नलगाएको उनको भनाइ छ। सुरुका समय कोरानाको महामारी फैलिदा मास्क लगाएर हिड्ने, भीडभाडमा दुरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने लगायत सर्वसधारणले अपाउने गरेका सावधानीका उपाय पनि अपनाउन छोडेका छन्।

संक्रमण बढ्न थालेपनि सार्वजनिक ठाउँमा भिडभाडमा पनि मास्क प्रयोग नगरी हिड्डुल गरिरहेको देखिन्छन्। सेती प्रादेशिक अस्पतालका कोराना उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले एक महिना यता फाटफुट नयाँ केस देखा पर्न थालेकोमा एक साता यता संक्रमण बढ्दै गएको बताए।

कोराना संक्रमणको अर्को लहर सुरु हुन थालेको उनी बताउँछन्। समुदायमा संक्रमण फैलिन सक्ने भएकाले सावधानीको मापदण्ड अपनाउनु पर्ने उनको भनाइ छ। बालवालिका, जेष्ठ नागरिक र दिर्घरोगीलाई संक्रमणको जोखिम बढी रहेको उनले बताए।

रुघाखोकी लाग्ने, ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने र जिउ दुख्नेलगायतका लक्षण संक्रमितहरुमा देखा परेको उनले बताए। कैयौँले खोप लगाएको र कोरानाको संक्रमण समुदायमा फैलिदा मानवमा प्रतिरोधात्मक क्षमता बृद्धी हुने भएकाले पहिलो र दोश्रो लहरको जस्तो यो लहरले क्षति नपुर्‍याउने उनी बताउँछन्।

‘खोप र परिवारमा अर्कोलाई संक्रमण हुदाँ पनि शरिरमा भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्ने गरेको हुन्छ, यसैले पहिलेको जस्तो हताहती हुने सम्भावना त कम हुन्छ’ उनले भने, ‘तर बालवालिका, जेष्ठ नगारिक, दिर्घरोगी, खोप नलगाएकालाई जोखिम हुन सक्छ, सवैले कोरानाबाट जोगिन सावधानी अपनाउनु जरुरी छ।,’

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिममा सुरुदेखि अहिलेसम्म ६० हजार ७१ जनामा कोरानाको संक्रमणदेखा परिसकेको छ भने ६ सय ३३ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: १८ श्रावण २०७९ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App