१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बैतडी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

बैतडी अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्ट। तस्बिरः नागरिक

बैतडी अस्पतालले अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालेको छ। संघीय सरकारको एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारको ८० लाख बजेटबाट प्लान्ट स्थापना भएपछि अस्पतालले आफँै अक्सिजन उत्पादन गर्न थालेको हो। यस अघि जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यता रहेको थियो।

भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ। कोरोना भाइरसको अघिल्लो लहरमा अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन परेको थियो।

कोरोना महामारीको दोस्रो लहरलाई मध्यजनर गर्दै विसं २०७८ असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्न बजेट छुट्याएको थियो। कोरोना महामारी र ठेकेदार कम्पनीको लापरबाहीले प्लान्ट स्थापनाको काममा ढिलाइ भएको हो। प्लान्ट स्थापना भएसँगै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सहज भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। प्लान्टबाट दैनिक ९० सिलिण्डर अक्सिजन उत्पादन हुनेछ।

प्लान्ट जडान गरेर सञ्चालनमा आएसँगै कोरोनाका बिरामीलाई अक्सिजन अभाव नहुने भएको छ। कोरोनाको चौथो लहर फैलिरहेको अवस्थामा बैतडीमा पनि पूर्वतयारी स्वरुप प्लान्ट सञ्चालनमा आएको हो। कोरोनाको पहिलो, दोश्रो र तेस्रो लहर फैलिएका बेला बैतडीमा अक्सिजनकै अभावमा धेरै बिरामीहरुलाई रेफर गर्नुपरेको थियो। सोही कुरालाई मध्यनजर गरेर अक्सिजन प्लान्ट सञ्चालनपछि अब सहज भएको छ।

उक्त प्लान्ट निर्माणाधीन ५० शैयाको अस्पतालका लागि पनि सहयोग पुग्ने अस्पताल प्रमुख डा. दीपेश श्रेष्ठले बताए। कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य शल्यक्रिया, सघन उपचार कक्ष सञ्चालनका लागि पनि सजिलो हुने उनले बताए।

प्रकाशित: १८ श्रावण २०७९ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App