८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

युवा अवस्थामै डिमेन्सिया:अस्तव्यस्त जीवनशैलीको असर

सामान्यतया वृद्ध उमेरमा अल्जाइमर रोगका कारणले डिमेन्सिया (बिर्सिने समस्या) हुने चिकित्सकको मान्यता छ। विशेषगरी ६५ वर्ष उमेर कटेका मानिसमा देखिने यो समस्या नेपालमा पछिल्लो समय त्योभन्दा कम उमेरका मानिसमा देखिने गरेको विज्ञ चिकित्सकले औंल्याएका छन्।  

देशभरिबाट रेफर हुने वीर अस्पतालको न्युरोलोजी विभागमा कम उमेरमै डिमेन्सियाको समस्या लिएर आउने बिरामी उल्लेखनीय संख्यामा रहेको विभागीय प्रमुख न्युरोलोजिस्ट डा. सुनिल कोइरालाको अनुभव छ। कतिजनामा कम उमेरमै डिमेन्सिया देखापरेको छ भन्ने यकिन अध्ययन नभए पनि अस्पतालमा आउने बिरामीको स्थिति हेर्दा कम उमेरमा यो समस्या देखिने क्रम बढिरहेको कोइराला बताउँछन्।  

डा. कोइरालाका अनुसार विभागमा मासिक उपचारमा आउने औसत ७० जना डिमेन्सियाका बिरामीमध्ये तीन जना युवा उमेरका हुन्छन्। यो हिसाबले वार्षिक ३६ जना युवा उमेरमै डिमेन्सियाबाट पीडित हुन्छन्। कम उमेरमै डिमेन्सियाको समस्या हुने बिरामी चिकित्सकका लागि चासोको विषय बनेका छन्। २०६१ सालमा उक्त विभागमा २ हजार २ सयजना बिरामी उपचारका लागि पुगेकोमा गत आर्थिक वर्ष यो संख्या १६ हजार ५ सय पुगेको छ। जसमध्ये ५ प्रतिशत डिमेन्सियाका बिरामी छन्।  

पछिल्लो समय भिटामिन बी–१२ को कमीले डिमेन्सिया भएर उपचारमा पुग्ने बिरामी बढिरहेको राष्ट्रिय न्युरो अस्पतालका न्युरोलोजिस्ट डा. अनिल महर्जनले बताए। विभिन्न कारणले डिमेन्सिया भएर मासिक औसत ५ देखि ६ जना उपचारका लागि अस्पताल आउने गरेको महर्जनले बताए।  

चिकित्सकका अनुसार विभिन्न कारणले मस्तिष्कको स्नायु तथा कोषमा असर परी स्मरण क्षमतामा ह्रास आउने अवस्थालाई डिमेन्सिया भनिन्छ। डिमेन्सिया मस्तिष्कमा नयाँ सूचना भण्डारण गर्न नसक्ने र आवश्यक परेका बेलामा प्रतिक्रिया दिन नसक्ने अवस्था हो। यो समस्या बढ्दै गए आफूनिकटलाई पनि नचिन्ने, आफ्नै घर पुग्ने बाटो भुल्ने र कतिपय अवस्थामा हराउने स्थितिसमेत आउन सक्छ।  

दैनिक व्यायाम गर्ने, पोषणयुक्त खाना खाने, सागपात र फलफूल पर्याप्त मात्रामा खाने, धूमपान र मदिरा सेवन नगर्ने, जंकफुड प्रयोग नगर्ने, तौल नियन्त्रणमा राख्ने, तनावमुक्त रहने, स्वस्थ जीवनशैली अपनाउने गरेमा डिमेन्सियाको जोखिमबाट बच्न सकिने चिकित्सकको सुझाव छ।

डिमेन्सिया भएपछि आफ्नो नियमित काममा एकाग्र हुन सकिँदैन र भन्न खोजेको कुरा पनि बिर्सिइन्छ। कडा खालको डिमेन्सिया भएपछि त मान्छे नचिन्नेदेखि आफैं हराउने, बाटो बिर्सनेललगायत समस्या देखिन्छन्।  

पाको उमेरमा हुने अल्जाइमरका कारण डिमेन्सिया हुने भए पनि पछिल्लो समयमा अस्वस्थ जीवनशैलीका कारण नेपालमा कम उमेरका मानिसमा पनि यो समस्या बढ्दै गएको वीर अस्पताल न्युरोलोजी विभागका चिकित्सकको अनुभव छ। यो समस्या सहरमा बस्ने, व्यायाम  

नगर्ने, तौल बढी हुने, मधुमेह तथा उच्चरक्तचाप भएका, मदिरा र धूमपान गर्ने र जंकफुड बढी सेवन गर्नेमा बढी देखिएको डा. कोइराला बताउँछन्।  

गाउँका मानिसको हकमा विषादीसँग सिधै सम्पर्क हुने किसानमा युवा उमेरमै यो समस्या देखिएको छ। पुरुषमा डिमेन्सिया बढी देखिनुमा व्यायाम कम गर्ने र तनावयुक्त जीवनशैली मुख्य कारण हुन्। गलत जीवनशैलीका कारण उच्च रक्तचाप, मोटोपना, मधुमेहजस्ता समस्या निम्तिन्छन्। ‘अनियन्त्रित मधुमेह भए पनि रगतको नसा साँघुरो भई मस्तिष्कमा अक्सिन र पोषणको कमी हुन्छ,’ डा. कोइरालाले भने।  

त्यसैगरी धूमपान र मदिरा सेवनका कारण रगतको नसा साँघुरो हुन्छ। मस्तिष्कका स्नायु कोषलाई भिटामिन आवश्यक पर्छ। भिटामिन बी १२, फोलिक एसिड, थाइमिनजस्ता तत्व कमी भए पनि मस्तिष्क कोषमा पोषणको कमी भई डिमेन्सिया हुने चिकित्सक बताउँछन्।  

लिड नामक रसायन र अन्य विषादी रगत हुँदै मस्तिष्कमा पुगेमा पनि डिमेन्सिया समस्या आउँछ। उच्च रक्तचाप र मधुमेहका कारण पटकपटक सानो मस्तिष्कघात भएमा मस्तिष्क कोष सुकेर डिमेन्सिया हुने डा. महर्जन बताउँछन्। स्नायुसम्बन्धी १५ देखि २० वटा रोगको कारणले पनि डिमेन्सिया हुने उनको बुझाइ छ। ‘कारण अन्य हुन्छ तर समस्या डिमेन्सियाको रूपमा देखापर्छ’, उनले भने।  

कम उमेरमै हुने उच्च रक्तचाप, मधुमेह, थाइराइड जस्ता रोगले स्नायुमा असर पार्दा डिमेन्सिया हुन्छ। ‘युवा उमेरमै उच्च रक्तचाप र मधुमेह भइसकेको हुन्छ तर हामीले उपचार गरिरहेका हुँदैनौं, यसले डिमेन्सिया हुने गरेको देखिन्छ’, डा. कोइरालाले भने। गलत जीवनशैलीका कारण हुने डिमेन्सियालाई समयमै सम्बन्धित रोगहरूको उपचार गरेर रोक्न सकिन्छ। कतिपय अवस्थामा डिमेन्सिया निम्ताउने रोग नियन्त्रणमा आइसकेपछि डिमेन्सिया पनि निको हुन्छ तर अल्जाइमरका कारणले भएको डिमेन्सिया भने निको नहुने चिकित्सक बताउँछन्। यस्तो अवस्थामा बिरामी चिकित्सकको निगरानीमा बस्नुपर्छ। ‘निको हुँदैन र तर उचित व्यवस्थापन गरेर जीवनलाई सहज पार्न सकिन्छ’, उनले भने।  

दैनिक व्यायाम गर्ने, पोषणयुक्त खाना खाने, सागपात र फलफूल पर्याप्त मात्रामा खाने, धूमपान र मदिरा सेवन नगर्ने, जंकफुड प्रयोग नगर्ने, तौल नियन्त्रणमा राख्ने, तनावमुक्त रहने, स्वस्थ जीवनशैली अपनाउने गरेमा डिमेन्सियाको जोखिमवाट बच्न सकिने चिकित्सकको सुझाव छ। ‘डिमेन्सिया भइसकेपछि उपचार गर्नु सजिलो छैन, मुख्य कुरा स्वस्थ जीवनशैली रौजौं’, डा. कोइरालाले भने।

प्रकाशित: १५ श्रावण २०७९ ०१:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App