coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण बढेको बढै

नेपालमा तीन सातादेखि कोरोना संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो चौबिस घण्टामा ३ सय ५७ जनामा कोरोना पुष्टि भएको जानकारी मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। १३ सय ५७ वटा नमुना परीक्षण गर्दा ३ सय ५७ मा संक्रमण देखिएको हो। मुलुकभर मंगलबार थपिएकासहित १९ सय ८२ जना सक्रिय संक्रमित छन्।

पछिल्लोपटक संक्रमितमध्ये सोमबार एक र आइतबार एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चौथो लहर सुरु भएपछि नेपालमा संक्रमितको तुलनामा मृतक संख्या अत्यन्त कम रहे पनि संक्रमणदर भने बढ्दो छ।  

संक्रमित बढेसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेको तथ्याकंले औंल्याएको छ। सक्रिय संक्रमितमध्ये १ सय १७ जनाको संस्थागत आइसोलेसनमा, १८ सय ६५ जनाको होम आइसोलेसनमा र १९ जनाको आइसियुमा उपचार भइरहेको छ।

यसअघि सोमबार ४ सय ५७ जनामा संक्रमण भएको थियो। त्यस्तै आइतबार १ सय ३५, शनिबार २ सय ५ र शुक्रबार २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।  

संक्रमणदर बढ्दो क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. चुमनलाल दासले बताए। खुला सिमाना, जनस्वास्थ्यका मापदण्ड पालनामा बेवास्ता र ओमिक्रोनको नयाँ उत्परिवर्तन बिडटए फाइभको संक्रमण तीव्र रुपमा हुँदा संक्रमित बढेका हुन्। सबैभन्दा बढी काठमाडौं, ललितपुर, सीमावर्ती नाकाहरू काँंकडभित्ता, जोगवनी, कृष्णनगर, बेलहियामा नयाँ संक्रमण तीव्र देखिएको उनले बताए। ‘अहिलेको संक्रमण हेर्दा अझै बढ्ने देखिन्छ, यो चौथो लहरको संकेत पनि हो’, उनले भने।  

संक्रमण नियन्त्रण गर्न सबैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने डा. दासले बताए। ‘सरकारले कोरोना परीक्षण र खोप अभियान विस्तार गरिरहेको छ, हरेक व्यक्तिले कडाइपूर्वक मापदण्ड पालना गरे नियन्त्रणमा ल्याउन सकिन्छ’, उनले भने। सरकारी स्वास्थ्य संस्थामा कोरोना परीक्षण निःशुल्क भइरहेको जानकारी उनले दिए ।

प्रकाशित: ४ श्रावण २०७९ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App