६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

हैजा संक्रमित १२ पुगे, दैनिक झाडापखालाका २५० बिरामी

काठमाडौं उपत्यकामा आइतबार थप तीनजनामा हैजा संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या १२ पुगेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार पाटन र स्टार अस्पतालमा उपचार गराइरहेका क्रमशः दुई र एकजनामा हैजा पुष्टि भएको हो। यसअघि नौजनामा हैजा पुष्टि भएको थियो।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा हालसम्म ६ जना हैजा संक्रमितलाई भर्ना गरिएको छ। भर्ना भएकामध्ये चारजना डिस्चार्ज भएका छन् भने दुईजनाको उपचार भइरहेको छ। बालाजुका एक पुरुष र चन्द्रागिरिकी एक महिलाको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए।

बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ, बल्खु, बालाजु, नैकाप, कपन, सानेपाबाट झडापखालाको उपचार गर्न अस्पताल पुगेकामध्ये १२ जनामा हैजाको जीवाणु पाइएको हो। सिन्धुपाल्चोकबाट उपचार गराउन आएका एकजनामा पनि हैजाको जीवाणु पाइएको छ। हैजा पुष्टि भएकामध्ये केहीले धाराको पानी नउमालीकन पिउने गरेको र केहीले जारको पानी पिउने गरेको बताएको उपचारमा संलग्न सरुवा रोग अस्पतालका चिकित्सक डा। किजन महर्जनले बताए। ‘बिरामीसँग बुझ्दा एकजनाले जारको पानी पिएको देखियोे, अरूले नउमालीकन धाराको पानी पिएको पाइयो.’ उनले भने।

झाडापखाला प्रभावितले प्रयोग गरिरहेको जार र धाराको पानीको नमुना परीक्षण गर्दा दुवैमा हैजा गराउने जीवाणु इकोलाई भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले बताए। प्रभावितहरूको व्यक्तिगत सफाइ सामान्य रहे पनि पानीको स्रोतबाटै झाडापखाला फैलिरहेको पाइएको अधिकारीको भनाइ छ। हैजा संक्रमितमध्ये धेरै घर निर्माण र फर्निचर उद्योगमा काम गर्नेहरू छन्। जनस्वास्थ्य कार्यालयका अनुसार केही गृहिणी पनि यसबाट संक्रमित भएका छन्।  

उपत्यकामा झाडापखालाका बिरामीको तथ्यांक संकलन गर्ने कार्य भइरहेको र दैनिक २ सय ५० भन्दा बढी बिरामी उपचारका लागि विभिन्न अस्पताल पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। अस्पताल नपुगी घरैमा उपचार गर्नेको संख्या उपत्यकामा योभन्दा बढी हुन सक्ने अनुमान गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख अधिकारीको अनुमान छ। प्रमुख अधिकारीका अनुसार पानीको स्रोत दूषित भएकै कारण पानीजन्य रोगहरूको संक्रमण बढिरहेको पाइएको छ।  

उपत्यकामा हैजासहित पानीजन्य अन्य रोग फैलिने क्रम बढेपछि शुक्रबार प्रमुख जिल्ला अधिकारीसहित सरोकारावाला अन्य निकायका अधिकारीहरूको बैठक बसेको थियो। बैठकले हैजा नियन्त्रणका लागि सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने निर्णय भएको जनस्वास्थ्य प्रमुख अधिकारीले बताए। जसअनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडले धाराबाट वितरण गर्ने पानीमा क्लोरिनको मात्रा थप्ने, खाद्य तथा गुण नियन्त्रण विभागले जार तथा अन्य खालका पानीको परीक्षण तथा अनुगमन गरी कारबाही गर्ने, सडकमा राखिने खाद्यजन्य पदार्थको गुणस्तर परीक्षण गर्ने, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ट्यांकरबाट घरघरमा वितरण गर्ने पानीमा क्लोरिनको प्रयोग गर्ने प्रबन्ध मिलाउनेलगायत काम गर्नुपर्नेछ।  

उपत्यकामा बर्खामा झाडापखालासहित पानीजन्य अन्य रोगको जोखिम हुने भएकाले सबै नागरिकलाई सचेत हुन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले अपिल गरेको छ। कार्यालयले उमालेको तथा शुद्धीकरण गरेको पानी मात्र पिउन, ताजा खाने कुरा खान र हातको सफाइमा ध्यान दिन सुझाव दिएको छ। ‘यति तीनवटा कुरामा ध्यान दिए पुग्छ.’ अधिकारीले भने।

प्रकाशित: १३ असार २०७९ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App