४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

अस्पतालको सेवा सुधारको मागसहित दैनिक प्रदर्शन

भवन र चिकित्सक अभाव

हेटौंडा अस्पतालको लापरवाहीका कारण बिरामी र आफन्तले सास्ती झेल्न बाध्य भएको भन्दै मकवानपुरका स्वतन्त्र युवाहरुले अस्पतालको मुख्य गेटमा दिनहुँ शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्। उनीहरुले अस्पतालको सेवा सुधारको मागसहित विभिन्न पर्चा बोकेर प्रदर्शन गरेका हुन्।

अस्पतालले बिरामीको सेवामा ढिलासुस्ती र मनलाग्दी गरेको भन्दै यहाँका युवाहरुले सोमबारदेखि अस्पतालमा प्रदर्शन थालेका हुन्। कुपनको लाइनदेखि ओपिडी, ल्याब र फार्मेर्सीसम्मै ढिलासुस्ती, मनलाग्दी र कोटा तोकिएको भन्दै बिरामीले गुनासो गरेपछि यहाँका सञ्चार माध्यम, राजनीतिक दल र युवाहरुले चासो दिएका हुन्।

यहाँका राजनीतिक दलले अस्पतालको सेवा सुधारको माग गर्दै ज्ञापनपत्र बुझाउँदै अस्पताल प्रशासनलाई झक्झक्याउँदा पनि सुधार हुन सकेको छैन। यता हेटौंडा अस्पताल प्रशासनले भने मंगलबार पत्रकार सम्मेलन गर्दै भवन र दक्ष चिकित्सकको अभावमा सेवालाई पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको जवाफ दिएको छ।

अस्पतालको सेवाको विषयलाई लिएर सबैतिर विरोध सुरु भएपछि अस्पताल प्रशासन पत्रकार सम्मेलन गर्न बाध्य भएको हो। हेटौंडा अस्पताल ५० बेडको भएकोले थोरै दक्ष जनशक्तिले धेरै काम गर्नुपर्ने अवस्था आएको अस्पतालका निमित्त मेडिकल सुपरिटण्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए।

‘आवश्यक पूर्वाधार छैन। निर्माणाधीन भवन ढिलासुस्ती भैरहेको छ। अस्पतालमा बिरामीको चाप बढेकोले पनि समस्या भएको हो,’ उनले भने। हेटौंडा अस्पतालमा अहिले दैनिक करिब ५ सय जनाले सेवा लिइरहेका छन्। बिरामीको चाप अनुसार भवन र वेड नभएकोले समस्या भएको उनले जानकारी दिए।

नयाँ भवन बनेपछि अहिले देखिएको ७० देखि ८० प्रतिशत समस्या हल हुने सापकोटाको विश्वास छ। ‘२५ बेडको पुरानो बिल्डिङको लागि बनेको काउन्टर र फार्मेसीबाट सेवा दिनुपरेकोले समस्या भएको हो। नयाँ भवन बनेपछि ५ देखि ७ वटा काउन्टर राख्छौं। भवन निर्माण पश्चात् ७० देखि ८० प्रतिशत समस्या समाधान हुनेछ,’ मेसु सापकोटाले भने। थोरै जनशक्तिबाट पनि डायलायसीस, आइसीयू सञ्चालन गरिरहेको बताइएको छ।

यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईंले अस्पतालमा बिरामीको चाप अनुसारको भवन र चिकित्सक नभएकोले केही समस्या भएको जानकारी दिँदै प्रतिष्ठान र अस्पतालको बीच कुनै विवाद नभएको बताए।

यता स्वतन्त्र युवाहरुको समूहले भने अस्पतालमा शान्तिपूर्ण धर्नासहित जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर अस्पताल सुधारको मागसहित ज्ञापनपत्र समेत बुझाएका छन्। साउनपछि नयाँ भवनबाट सिटी स्क्यान र ६ महिना भित्रमा एमआरआई मेसिन जडान गरी सेवा थप गर्ने योजना रहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित: ७ असार २०७९ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App