coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अस्पताल खुल्यो, बिरामी आएनन्

कालिकोट सदरमुकाम मान्मामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको सरुवा रोग अस्पताल छ। अस्पतालमा १९ जना कर्मचारी छन्। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ मंसिरमा उद्घाटन गरेको यो अस्पतालमा बिरामी भने आउँदैनन्।

उद्घाटनको चार महिनासम्म सरुवा रोग अस्पतालमा जनशक्ति नहुँदा ताला लाग्यो। फागुन १८ गतेदेखि चिकित्सकसहित १९ जना कर्मचारी अरुवा रोग अस्पतालमा कार्यरत छन्।

‘अहिलेसम्म कुनै पनि बिरामी आउनु भएको छैन,’ सूचना अधिकारी कटक महतले भने, ‘कर्मचारी आउने, कार्यालय खोज्ने र जाने काम भइरहेको छ।’ १० जना मध्ये १८ जना कर्मचारीहरु सरुवा रोग अस्पतालमा कार्यरत छन्। एक जना देश बाहिर छन्। ‘हामी नियमित ड्यूटीमा छौं, बिरामी भने आउनु भएको छैन,’ उनले भने, ‘बिरामी आएपछि उपचार हुन्छ।’  

करारमा भर्ना गरिएका १९ जना कर्मचारीको अवधि असार मसान्तसम्म मात्रै छ। सरुवा रोग अस्पतालमा बिरामी नआउँदा केहीले कालिकोट जिल्ला अस्पतालमा सेवा गरिरहेका छन्। कालिकोटसहित जुम्ला, मुगु र दैलेखका बिरामीहरुलाई लक्षित गरेर यो अस्पताल स्थापना गरिएको थियो।  

जिल्ला अस्पताल कालिकोटका निमित्त प्रमुख डा. रत्नवीर सुनारले सरुवा रोग अस्पतालले दिने सबै सेवाहरु जिल्ला अस्पतालले दिइरहेको बताए। ‘दरबन्दी अनुसारका कर्मचारी भर्ना गरिएपनि विशेषज्ञ चिकित्सक प्रदेश सरकारले पठाउने भन्ने थियो,’ उनले भने, ‘प्रदेश सरकारले विशेषज्ञ चिकित्सक नपठाउँदा सरुवा रोग अस्पतालमा बिरामी नआएका हुन सक्छन्।’  

निमित्तको भरमा अस्पताल

जिल्ला अस्पताल कालिकोट स्थापनाकालदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको छ। दशौँ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल २०६१ सालदेखि निमित्तको भरमा छ। प्रमुख नहुँदा अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा प्रभावित छ। २०६१ सालबाट सेवा सुरु गरेको जिल्ला अस्पतालमा अहिले आठौँ तहका एमडीजीपी डाक्टर रत्नवीर सुनार निमित्त भएर सञ्चालन गरिरहेका छन्।

‘अस्पतालले पटक–पटक मन्त्रालय र मातहतका कार्यालयलाई जनशक्ति पठाउन अनुरोध गरेपनि त्यसको सुनुवाइ भएको छैन,’ महतले भने, ‘अस्पताल स्थापनादेखि हालसम्म दरवन्दी अनुसारको जनशक्ति पाउन सकेका छैनौं।’ जिल्ला अस्पतालमा प्राविधिक उपकरणहरू सञ्चालन गर्ने ६ जना मेडिकल अफिसर, एक जना एमडिजिपी र एक जना डेन्टल सर्जर मात्रै कार्यरत छन्। अस्पतालमा ल्याव टेक्निसियन, रेडियोग्राफर, भेन्टीलेटरजस्ता प्राविधिक जनशक्ति अभाव हुँदा भएका उपकरणहरूसमेत सञ्चालनमा छैनन्। सामान्य परीक्षणका लागि आउने बिरामीहरु पनि मोटो रकम खर्चेर निजी अस्पतालतर्फ धाउनुपर्ने बाध्यता छ।

४४ जनाको दरबन्दी रहेको जिल्ला अस्पतालमा १८ जना मात्रै स्थायी कर्मचारी छन्। दरवन्दी अनुसार अहिलेपनि चार जना बिषेशज्ञ चिकित्सकको अभाव छ। २५ शैय्याको अस्पतालमा कर्मचारी अभावकै कारण तोकिएका सेवाहरू प्रवाह गर्न समस्या भइरहेको जनस्वास्थ्य अधिकृत महतले बताए। उनले सयौँपटक कर्मचारी पठाउन अनुरोध गरे पनि मन्त्रालयले कर्मचारी नपठाएको बताए।

करार चिकित्सक धेरै

जिल्ला अस्पताल करार चिकित्सककै भरमा सञ्चालनमा छ। आठ जना दरबन्दी रहेको जिल्ला अस्पतालमा सात जना करार चिकित्सक छन्। जिल्ला अस्पताल एकजना पनि स्थायी चिकित्सक पुगेका छैनन्। स्थायी चिकित्सक एक जना पनि नखटाउँदा करार र प्रदेश सरकारका चिकित्सकले धान्दै आएको महतले बताए। उनका अनुसार तीन जना स्टाफ नर्स पनि करारका छन्। जिल्ला अस्पताल कालिकोटमा थाइराइड, टिबी, स्टेडी, एक्स–रे, ब्लड समूह छुट्याउने उपकरण राखिएका छन्।

प्रकाशित: ६ असार २०७९ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App