७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सरकारी स्वास्थ्य चौकीमा पठाइएका 'कटन गज' र 'ब्याण्डेज' भित्र फोहोरका टुक्रा

उत्पादन मिति नै सामान आउनुभन्दा तीन महिना पछिको

जिल्लाको कालिञ्चोक गाउँपालिका १ स्थित विकट गाउँ वेगुम्पामा रहेको सरकारी स्वास्थ्य संस्थामा पठाइएको ‘ब्याण्डेज’ र ‘कटन गज’ भित्र फोहोर भेटिएको छ। चोटपटक तथा घाउ सफा गरेपछि लगाईने ‘कटन ब्याण्डेज र गजमा’ स्वास्थ्य चौकीका कर्मचारीले फोहोर फेला पारेका हुन्। 

बुधबार स्वास्थ्य चौकीमा आएका बिरामीका लागि कटन ब्याण्डेजको प्याकेट खोल्दा परालका टुक्रा जस्ता कालो रङको फोहोर फेला परेको कर्मचारीले बताएका छन्। सन्तोष ब्राण्डको उक्त गज ब्याण्डेज चाभो हेल्थ केयर बिरगञ्जले उत्पादन गरेको प्याकेटमा देखिन्छ। घाउ नपाकोस र ‘ईन्फेक्सन’ नहोस भनेर जोगाउन लगाईने कटन गज तथा कटन ब्याण्डेज संवेदनशिल उपचार सामग्री मानिन्छ। यति संवेदनशिल सामग्रीमा फोहोर भेटिनुले गाउँमा सरकारी स्वास्थ्य संस्था भित्रै प्राथमिक उपचारमै झन जोखिम बढाएको भन्दै स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन्।  

गाउँपालिका कार्यालयले भक्तपुरको बासुकी मेडिसिन सप्लायर्स मार्फत स्वास्थ्य सामग्री खरिद गर्दै आएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुशिल श्रेष्ठले ब्याण्डेजमा भेटिएको फोहोर भेटिएको पुष्टी गरे। ‘१ नं वडाको स्वास्थ्य चौकीमा त्यस्तो भेटिएपछि यहाँ (पालिका)को स्टोरमा रहेका प्याकेटहरु पनि खोलेर हेर्‍यौं’ उनले भने, ‘अन्य प्याकेटहरुमा पनि परालको टुक्रा जस्ता फोहोर भेटियो।'

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले परालको टुक्रा जस्ता फोहोर भेटिएकोले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष खेलबाड गर्ने सप्लायर्सलाई कार्बाहीको दायरामा ल्याईने सुनाए। ‘घाउ तथा चोटपटक लाग्दा लगाईने ब्याण्डेजका प्याकेटहरु भित्र यस्तो भेटिनु गम्भीर लापरवाही हो’ प्रमुख प्रशासकीय अधिकृत ओलीले भने, ‘सबै सामान फिर्ता पठाएर भुक्तानी रोक्छौं र आवश्यक अनुसन्धान गरि कार्बाही गर्छौ’। उनले कटनबाट बनेका यि सामानहरु नरम प्याकेटमा प्याक भएर आउने र बिचमा खोल्न नमिल्ने सुनाए। ‘यस्ता सामानहरु खोलेर हेर्नै मिल्दैन’ उनले भने, ‘प्रयोग गर्ने बेलामा मात्र खोल्ने हाे।'  

उत्पादन मिति नै सामान आउनुभन्दा तीन महिना पछिको

फोहोरका टुक्रा भेटिएको उक्त ब्याण्डेजको प्याकेट बाहिर उत्पादन मिति नै सामान झर्नुभन्दा तीन महिना पछिको राखिएको फेला परेका छ। ब्याण्डेजको प्याकेट बाहिर उत्पादन मिति अंग्रेजीमा २०२२ अगस्त लेखिएको छ। अगस्त आउन अझै दुई महिना बाँकी छ। पालिका स्रोतका अनुसार सप्लायर्सले यि सामग्री एक महिना अघि सप्लाई गरेको थियो।  

२५ रुपैयाँ पर्ने ब्याण्डेजलाई १ पैसा हालेर टेण्डर

गाउँपालिकाले यस वर्ष २० लाखमा औषधि तथा स्वास्थ्य सामग्रीहरुको टेण्डर लगाएको थियो। भक्तपुरको बासुकी मेडिसिन सप्लायर्सले कालिञ्चोक गाउँपालिकाको उक्त टेण्डर ७५ प्रतिशत घटेर करिब ५ लाखमा लिएको थियो। स्रोतका अनुसार पालिकामा आईपुगेका यि ब्याण्डेजहरुको मुल्य १ पैसामा दिन सक्ने कबोलसहित सप्लायर्सले टेण्डर लिएको थियो। 

सदरमुकाम चरिकोट बजारमा १८ मिटर लम्बाई र ९० सेन्टीमीटर चौडाई रहेको यस्तै कटन ब्याण्डेजको खुद्रा मुल्य २५ रुपैंया सम्म रहेको छ। ७५ प्रतिशतसम्म कम हालेर टेण्डर लिएको सप्लायर्सले वडाबासीको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। यता सप्लायर्सका राजकुमार हुमागाईसँग प्रतिक्रियाका लागि पटक पटक सम्पर्क गर्न खोज्दा उनले मोबाईल उठाएनन्।

प्रकाशित: २ असार २०७९ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App