७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

पशुहरूमामा फैलियो खोरेत रोग

जिल्लामा पशुहरुमा लाग्ने खोरेत रोग प्रकोप फैलिन थालेको छ। यहाँका विभिन्न स्थानमा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो। 

बैतडीका चार स्थानीय तहमा खोरेत रोग देखा परेको भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए। पाटन नगरपालिका–५, दशरथचन्द नगरपालिका–७, मेलौली नगरपालिका–२ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो। उनले भने, ‘गाई, भैंसी, गोरु, बाख्रा लगायतका घरपालुवा जनावरमा खोरेत रोगको प्रकोपकै रूपमा देखिएको छ, रोगका कारण घरपालुवा पशु मर्ने समेत गरेका छन्।’

खोरेत रोग देखा परेका ठाउँमा  रोग नियन्त्रणको लागि खोरेत रोगविरुद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ। अहिले गाउँगाउँमा पुगेर प्राविधिकले खोप लगाउन थालिएको भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। भेटरनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले खोरेत रोगविरुद्ध खोप निःशुल्क उपलब्ध गराएको छ भने सम्बन्धित पालिकाका प्राविधिकले खोप लगाउने काम गरिरहेका छन्।

पशुहरूमा खोरेत रोग देखिएमा मुखमा घाउ हुने, खुट्टाको काप र खुरमा घाउ हुने, हिँड्न नसक्ने, जिब्रोमा समेत असर हुनेलगायतका लक्षण देखा पर्ने गरेका छन्। रोग लागिसकेपछि निको हुने सम्भावना कम हुने गरेकाले गोठहरू सफा राख्ने, सरसफाइमा विशेष ध्यान दिन  स्थानीय किसानलाई सुझाव दिइएको छ।

प्रकाशित: २ असार २०७९ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App