coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठान सुधार कार्यदलले बुझायो प्रतिवेदन

ओपिडी काउन्टर छिटो खुल्ने, फार्मेसीमा सुलभ मुल्यमा औषधि पाउने

वीपी प्रतिष्ठानका निमित्त भिसि प्रा.डा.गुरु खनाललाई कार्यदलको प्रतिवेदन बुझाइँदै। तस्बिर: वीपीकेआईएचएस

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वास्थ्य उपचार सेवा सुधार गर्न ‘घोपा बचाउ आन्दोलन’ चर्किएपछि गठित कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ।

एक साताको अवधिमा अध्ययन गरेर तयार गरेको प्रतिवेदन कार्यदलले प्रतिष्ठानका शिक्षाध्यक्ष एवं निमित्त उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाललाई मंगलबार साँझ बुझाएको हो। घोपा बचाउ आन्दोलन चर्किएपछि जेठ १६ गते धरानका मेयर हर्कराज राईको रोहवरमा वार्ता भएको थियो। उपकुलपति डा.ज्ञानेन्द्र गिरीको उपस्थितिमा भएको वार्ताले अस्पताल सेवा सुधारको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो। कार्यदलमा सेभ घोपा अभियान र प्रतिष्ठानबाट ४/४ जना थिए भने एक जना मेयरका प्रतिनिधि रहेका थिए।

कार्यदलले एक सातासम्म सरोकारवाला, महाशाखा, शाखा तथा विभागहरुसँग अस्पताल सेवा सुधार गर्न तथा प्रभावकारी बनाउने उपायहरुको विषयमा छलफल तथा परामर्श गरेको थियो। घोपा बचाउ अभियानका प्रमुख अभियन्ता सुदन गुरुङले सुधार गर्नुपर्ने बिषयलाई तत्काल १५ दिनभित्र, मध्यकालीन र दीर्घकालीन गरि ३ भागमा विभाजन गरेर प्रतिवेदनले सिफारिस गरिएको बताए।  

तत्काल गर्न सकिने कामहरु कार्यान्वयन भए नभएको निरन्तर निगरानी गर्ने र कार्यान्वयन नभए आन्दोलन चर्काउने उनले चेतावनी दिएका छन्। वार्ता भएर कार्यदल बनाउने सहमति भएपनि घोपा बचाउ आन्दोलन स्थगित भएको छैन। अभियन्ताहरु हरेक दिन दिउँसो ४ बजेदेखि ६ बजेसम्म डेन्टल गेट अघि धर्ना बस्ने गरेका छन्। तत्काल सुधार गर्न सकिने कामहरु भए नभएको निगरानी गर्ने भन्दै आन्दोलन जारी छ। ‘मध्यकालिन र दीर्घकालिनरुपमा गर्नुपर्ने कामहरुको पनि ग्यारेन्टी गर्नुपर्ने हुन्छ। भिसि सर आएपछि हामी कुरा गछौ, र निरन्तर फलोअप गर्छौ,’गुरुङले भने,‘तत्काल सुधार गर्न सकिने कामहरु पनि कार्यान्वयन नगरिए फेरि आन्दोलन चर्किन्छ।’

निमित्त उपकुलपति डा.खनालले प्रतिवेदनमा औल्याइएको सुझावहरु अध्ययन गरि कार्यान्वयनमा लैजाने बताए। उनले प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनमा लैजानको लागि विस्तृत कार्ययोजना ५ दिनभित्र उपकुलपति कार्यालयमा पेश गर्न सम्बन्धित विभाग, शाखा र महाशाखाहरुलाई निर्देशनसमेत दिएको बताए।

ओपिडी काउन्टर छिटो खुल्ने

वीपी प्रतिष्ठानले विरामीहरुको सुविधाको लागि ओ.पी.डी. काउन्टर छिटो खोल्ने भएको छ। सधै बिहान ८ बजे मात्र खुल्ने टिकट काउन्टर अबदेखि ७: ३० बजे नै खोल्ने निर्णय भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए। ‘यसअघि ओ.पी.डी. काउण्टर विहान ८ बजेदेखी खुल्ने गरेकोमा विरामीहरुको सुविधालाई ध्यानमा राखेर अबदेखि ७ः३० बजेदेखी नै काउण्टर खुल्ने व्यवस्था गरिएको छ,’सहप्रवक्ता डा.पोखरेलले भने। सहप्रवक्ता डा.पोखरेलका अनुसार काउण्टर विहान ७ः३० बजेदेखी १२ः०० बजेसम्म खुल्नेछ र दिउँसो भने पुरानै समय २ बजेदेखि ३ बजेसम्म खुल्नेछ।

सबै औषधि फार्मेसीमा उपलब्ध हुने  

प्रतिष्ठानले नेपाल सरकारको विपन्न नागरिक कार्यक्रम अन्तरर्गत उपचार सेवाको क्रममा आवश्यक पर्ने निःशुल्क औषधिहरु आफ्नै फार्मेसीमा उपलब्ध गराउने जनाएको छ। साथै, असार १ गतेदेखि प्रतिष्ठान बाहिरको औषधि पसलबाट उक्त सेवाअन्तरर्गतको औषधि खरिद गरेर शोधभर्ना पनि नगर्ने प्रतिष्ठानले जनाएको छ।

सहप्रवक्ता डा.पोखरेलका अनुसार मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स, अल्जाईमर, मृगौला रोगका विरामीहरुले वीपी प्रतिष्ठानमा उपचार गर्ने क्रममा चिकित्सकले लेखेको औषधी अबदेखि अनिवार्यरुपमा प्रतिष्ठानकै फार्मेसीबाट खरिद गर्नुपर्ने छ। यसरी प्रतिष्ठानको फार्मेसीबाट खरिद गरेवापत प्राप्त हुने बिलविजक फार्मेसीको अधिकार प्राप्त कर्मचारीबाट प्रमाणित गराएर शोधभर्नाको लागि दाबी गर्नुपर्ने पनि सहप्रवक्ता डा.पोखरेलले बताए।  

कारणवश प्रतिष्ठानको फार्मेसीबाट कुनै औषधी तथा औषधीजन्य सामग्री उपलब्ध हुन नसके अधिकारप्राप्त फार्मेसीको कर्मचारीबाट प्रमाणित गराएर बाह्य फार्मेसीबाट खरिद गरेको भएमात्र शोधभर्ना दाबी गर्न पाउनेछन्। सहप्रवक्ता डा.पोखरेलका अनुसार प्रतिष्ठानको फार्मेसी पूर्णरुपमा संचालनमा आईसकेको र अन्यत्रभन्दा सहुलियत दरमा औषधि तथा औषधीजन्य सामाग्रीहरु उपलब्ध रहेको छ। यसअघि, प्रतिष्ठानको फार्मेसी सञ्चालनमा नआउदा नेपाल सरकारको विपन्न नागरिक कार्यक्रम अन्तर्गतको उपचारको औषधी तथा औषधिजन्य सामग्रीहरु बाहिरको औषधि पसलबाट खरिद गर्दा बिल शोधभर्नाको लागि सिधै अस्पताल प्रशासनमा दाबी गर्ने गरिएको थियो।

प्रकाशित: २५ जेष्ठ २०७९ १४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App