८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सुत्केरी महिलालाई अस्पताल लान–ल्याउन दुई हजार पाँच सय दिने

श्रीलंका टापुका महिलालाई ठूलो राहत

सुनसरी वराहक्षेत्रका दुई वडामा विभाजित श्रीलंका टापु सप्तकोशीको पूर्वी र पश्चिमी भङ्गालोको बीचमा अवस्थित छ। सप्तकोशी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भङ्गालो पार गरेर करिव ३ किलोमिटर पार गरेपछि श्रीलंका टापु आउँछ। पछिल्लो समय सुनसरीबाट उदयपुरको बेलका नगरपालिकाबाट पनि श्रीलंका टापु पुग्न सकिन्छ।  

आँखाले देखिने क्षितिजभन्दा निकै टाढासम्म फैलिएको बस्तीमा बग्रेल्ती कच्ची घरहरु छन्। जताततैबाट हिँड्न सकिन्छ। श्रीलंका टापुमा १२ हजारभन्दा बढीको बस्ती छ। यो बस्ती बराहक्षेत्र वडा नं. ६ र ९ को आधाजसो भाग पर्छ।

श्रीलंका टापुमा महिनामा औसत १०–१२ देखि २०–३० जनासम्म महिला सुत्केरी हुने गरेका छन्। सरकारले गर्भावस्थामा चार पटक नियमित जँचाउने र स्वास्थ केन्द्रमा बच्चा पाउनेलाई  जँचाएको र स्वास्थ केन्दमा बच्चा जन्माए वापत पैसा दिने गरेको छ। तर, अधिकांशले घरमै बच्चा पाउँछन्, नियम अनुसार घरमा बच्चा पाउनेलाई पैसा पाउँदैनन्। वर्षाका चार महिना कोशी बढेको बेला कतिपय सुत्केरी जटिलतामा आफूहरुले केही गर्न र बिरामीलाई कतै लैजान पनि नसक्ने अवस्था हुने गर्छ।  

श्रीलंका टापुका महिलासहित सबै महिलाका लागि बराहक्षेत्र नगरपालिकाका मेयर–उपमेयरसहित वडाध्यक्षले बुधबारदेखि पदभार ग्रहण गरी पाँच बुँदे निर्णय सार्वजनिक गरेका छन्। पदभार ग्रहणपछि मेयर रमेश कार्की, उपमेयर नन्दकुमारी सुनुवारसहित वडाध्यक्षको संयुक्त पहिलो बैठकले बराहक्षेत्र नगरपालिकाभित्रका महिलाहरुलाई सुत्केरी गराउन नगरपालिकाभन्दा बाहिर अस्पतालमा लान–ल्याउन एम्बुलेन्स खर्च बापत दुई हजार पाँच सय दिने निर्णय गरेको छ। ‘यो निर्णयले सबैभन्दा बढी लाभ श्रीलंका टापुका महिलालाई हुने गर्छ, बराहक्षेत्रका अन्य थुप्रै विपन्न समूदायका महिलालाई ठूलो सहयोग पुग्नेछ,’ बराहक्षेत्रका पत्रकार बाबुराम कार्कीले भने।  

पाँच दशकअघि कोशीका दुबै किनारामा तटबन्ध थिएनन्। कोशी पश्चिमबाट बग्थ्यो। त्यसबेला श्रीलंका टापु थिएन। अहिले कोशी पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बीचमा टापु बन्न पुगेको हो।

बराहक्षेत्र नगरपालिकाबाट पहिलो बैठकले नगरभित्रका विपन्न र अति विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन स्वास्थ्य विमा गर्ने उल्लेख गरिएको छ। यस्तै, नगरपालिका भित्रका ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई तीन महिनामा एकपटक अनिवार्य घरमै गएर स्वास्थ्य चेकजाँच तथा उपचार गरिने भएको छ।

बैठकले नगरपालिकाभित्र महिला शिक्षिका सुत्केरी भएमा सरकारी नियम अनुसार ९८ दिन बिदा हुनेछ। त्यसरी महिला शिक्षिका बिदा बसेको बेला सट्टा शिक्षकको व्यवस्था गरिने भएको छ। नगरपालिकाले पहिलो बैठकबाट गरेका निर्णय कार्यान्वयन गर्न कार्यविधि बनाएर अघि बढ्ने जानकारी दिएको छ।

प्रकाशित: ११ जेष्ठ २०७९ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App