७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

आँखाको नानीमा देखिने सेतो दाग क्यान्सर हुन सक्ने!

फाइल तस्बिर

तपाईंको शिशु पाँच वर्षमुनिका छन्? आँखाको नानीको बीचभागमा असमान्य सेतो दाग देखिन्छ? यस्तो दात छ भने आँखाको क्यान्सर पनि हुन सक्छ। पाँच वर्षमुनिका शिशुको आँखा परीक्षण गरी समयमै आँखाको क्यान्सरको पहिचान गर्न ढिला भएमा आँखाको क्यान्सरको उपचार नहुने चिकित्सकले सुझाएका छन्।

विकसित देशमा बालबालिकामा हुने आँखाको क्यान्सरका कारण ५ प्रतिशतको मात्र मृत्यु हुने गरेकामा नेपालसहित विकासोन्मुख देशहरूमा क्याक्सर भएकामध्ये ५० प्रतिशतको मृत्यु हुने गरेको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताहको अवसरमा उक्त कुराको जानकारी दिएको हो।

बालबालिकाको दुवै आँखाको भित्री भागको पर्दाबाट पलाउने क्यान्सरलाई रेटिनोब्लास्टोमा भनिन्छ। यो नवजात शिशुदेखि पाँच वर्ष मुनिका बालबालिकाहरूमा देखापर्छ। प्रति १५ हजार नवजात शिशुमध्ये एक जनामा यस्तो समस्या हुन्छ। यो रोगमा ढिला उपचार भएमागमा फैलिएर शिशुको मृत्युसमेत हुनसक्छ। आँखाको क्यान्सर जटिल रोग भए पनि समयमै उपचार पाएमा बालबालिका पूर्ण रूपमा क्यान्सरमुक्त हुन सक्छन्।

नेपालमा आँखाको भागमा सेतो देखिनुलाई भाग्यमानी बालबालिकाका रूपमा हेरिने रुढीवादी परम्परा भएकाले आँखाको क्यान्सर भएकाहरूको सुरुमै उपचार हुन नसकेको प्रतिष्ठानकी डाक्टर पूर्णिमा राजकर्णिकार बताउँछिन्। ‘आँखाको नानीको भागमा सेतो देखिनु भनेको रोग हुन सक्छ भन्ने धेरैलाई ज्ञान छैन, यो कारण पनि रोग छिप्पिइसकेपछि मात्र उपचारमा पुग्छन्’ डा. पूर्णिमाले भनिन्।

चिकित्सकका अनुसार शिशुको आँखाको बीच भागमा सेतो ज्योति देखिए पनि बालबालिकाहरू स्वस्थ नै देखिन्छन्। जसका कारण बालबालिकामा रहेको समस्या बालबालिकालाई सुरुमै थाहा हुँदैन।

यसका साथै रंगिन फोटोमा आँखाको नानी सेतो देखिनु, आँखाको नानी डेडो देखिनु, दुवै नानी उस्तै नदेखिनु, आँखा डेडो हुनु, आँखा रातो हुनु, दृष्टि कम हुनु, आँखाको आकार ठूलो हुँदै जानु र आँखा बाहिरतिर आउनु, आँखाको आकार सामान्य रूपमा बढिरहनुजस्ता आँखाजन्य समस्यासमेत देखिन सक्छ। यो क्यान्सर आँखाको बाहिर या दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको मृत्युसमेत हुनसक्छ।

आँखाको क्यान्सर लागेका बालाबालिकामध्येमा ४० प्रतिशतमा एउटा मात्र आँखामा रोग देखिएमा यो रोग वंशाणुगत हुन सक्ने एवम् यस्तै समस्या परिवारका अन्य सदस्यमा पनि हुन सक्ने भएकाले आँखाको जाँच गर्नुपर्छ। रोगको पहिचान भइसकेपछि लेजर र शल्यक्रिया गरी उपचार गरिन्छ। यसका साथै किमोथेरापी, थर्मोथेरापी, क्रायथेरापी र रेडियोथेरापीजस्ता उपचार गरिन्छ।

नेपालमा तिलगंगा आँखा अस्पतालले १५ वर्षदेखि अकुलर अन्कोलोजी शाखामार्फत् यो रोगको उपचार गर्दैआएको छ। यो रोग लागेका तर आर्थिक अवस्था कमजोर भएका बालबालिकाका लागि अस्पतालले ओपन आइज नेपालको सहयोगमा निःशुल्क उपचारको सेवा प्रदान गर्दै आइरहेको छ।

नेपालमा बालबालिकामा हुने आँखाको क्यान्सरका कारण धेरै बालबालिकाको दृष्टि गुम्ने र मृत्युसमेत हुने गरेकोले प्रतिष्ठानले सप्ताहव्यापी जनचेतना अभियान चलाउँदै छ। जसअनुसार अन्तरक्रिया कार्यक्रम, बालरोग विशेषज्ञ र बालरोग आवसीय चिकित्सकलाई समयमै आँखाको समस्या पहिचान गर्न तालिम दिने र समयमै विशेषज्ञ अस्पतालमा रेफर गर्ने तालिमको उद्देश्य रहेको छ। कार्यक्रममा आँखाको क्यान्सर भएर निको भएका बालबालिकाहरू पनि सहभागी हुने छन्।

प्रकाशित: २८ वैशाख २०७९ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App