coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन्। भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जोेखिमलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र अन्तर्राष्ट्रिय विमानास्थलको हेल्थ डेस्कलाई उच्च सर्तकता अनपाउन निर्देशन दिएको जनाइएको छ।

बिहीबार राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार विज्ञप्तिमार्फत भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकी सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको जनाएको हो। ‘हामीले प्रत्येक नाकालाई निर्देशन दिइसकेका छौं। भारतबाट आउनेमा संक्रमण फेला परे जिन सिक्वेन्सिङ गर्छौैं,’ राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने।

महाशाखाका अनुसार सीमा नाकाहरू सुनौली, पशुपतिनगर, काँकडभिट्टा, रानी, इनरुवा, गौर, माडर, रसुवागढी, तातोपानी, जमुनाह, बेलहिया, कृष्णनगर, त्रिनगर, गड्डाचौकी, भिट्टामोड, झुलाघाट, पुलघाट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हेल्थ डेस्कलाई स्क्रिनिङ र परीक्षण कार्यलाई उच्च प्राथमिकता दिन सरकारले निर्देशन दिएको छ।

भारतमा देखिएको संक्रमण नेपालमा आउने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धानका शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए। चौथोपटक फैलिने अबको कोरोना संक्रमणको स्वरूप भने तेस्रो लहरकै रूपमा आउने उनको भनाइ छ। अहिले देखिएको कोरोना संक्रमण ओमिक्रोन भेरियन्ट बिए १ र बिए २ को मिलेर बनेको एक्स ई रहेको र यसको असर डेल्टाको जस्तो घातक नपाइएकाले ओमिक्रोन कोरोना अर्थात् तेस्रो लहरकै रूपमा फैलिने उनको दाबी छ।

अहिले एक्स ई कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अति वृद्धावृद्धा र खोप नलिएका मात्र देखिएकाले यसको असर तेस्रो लहरकै रूपमा आउने पुनले बताए। तर अति जोखिम समूहहरू अहिले पनि नेपालमा बाँकी रहेकाले उनीहरूको सुरक्षाका लागि खोप अभियानलाई तीव्र पार्नुपर्ने उनको सुझाव छ।

‘भारतमा फैलिरहेको कोरोना संक्रमण नेपालमा नफैलिँदै जोखिममा रहेका समूहहरू जो अहिले पनि कोभिड–१९ विरुद्धको खोप लिएका छैनन् या बुस्टर डोज खोप लिएका छैनन्। उनीहरूलाई छिटो खोप दिएर सुरक्षित राख्नुपर्छ,’ पुनले बिहीबार नागरिकसँग भने।

भारतमा फैलिरहेको एक्स ई भाइरसको संक्रमणदर तीव्र रहेकाले अति जोखिम समूहलाई छिटो खोप दिनु अहिलेको उचित उपाय भएको उनले बताए। साथै पहिलाकै जस्तो जनस्वास्थ्यको मापदण्ड अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबैलाई अपिल गरेको छ। भिडमा जाँदा मास्क लगाउने, हातको सफाइमा ध्यान दिने र भौतिक दूरी कायम राख्न सुझाव छ।

प्रकाशित: ९ वैशाख २०७९ ००:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App