४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

ख्वप अस्पताल अब सय शैयामा

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नति गर्ने भएको छ। हाल सिमित शैय्यामा सञ्चालित अस्पतालमा शैया थपेर एक सय शैय्या सुविधाको अस्पताल बनाउन लागिएको हो।

त्यसका लागि बिहीबार यहाँं प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम गरियो। कार्यक्रममा सहभागीहरुले ख्वप अस्पताललाई यथासिघ्र सय शैया क्षमतामा सुविधा सम्पन्न बनाइनुपर्नेमा जोड दिए।

जिल्लाको पूर्वी क्षेत्रमा स्वास्थ्य उपचार सेवाको अभाव भएको अवस्थामा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालले त्यस क्षेत्रका जनतासँगै छिमेकी जिल्लावासीहरुले समेत स्वास्थ्य लाभ लिइरहेको चर्चा गर्दै उनीहरुले ख्वप अस्पताललाई स्वास्थ्य सेवाको हिसाबले देशकै नमूना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालमार्फत कम शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको उल्लेख गरे। उनले सबै नागरिकलाई स्वस्थ बनाई उत्पादनमूलक कृयाकलापमा सक्रिय बनाउन नगरपालिका लागिपरेको बताए।

उक्त अस्पताल भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहमा रहेको छ। उक्त वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले ख्वप अस्पताल भवन निर्माणको प्रगतिबारे जानकारी दिदै कार्यक्रमको उद्देश्यमाथि चर्चा गरे।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले नेपाल सरकार र वागमती प्रदेश सरकारले अस्पताल सञ्चालन सम्बन्धि तय गरेको मापदण्डको पूर्ण पालना गरी ख्वप अस्पताल सञ्चालन हुने विश्वास व्यक्त गरे।

परामर्शदाताको तर्फबाट वातावरणविद् हरिष्शप्रसाद भट्टले अस्पताल सञ्चालन गर्नु संवेदनशील विषय भएकोले सरोकारवाला सबै पक्षसँग सरसल्लाह गरेर यथार्थपरक प्रतिवेदन तयार गर्ने र सबैका लागि सुरक्षिप्त बनाउन सुझावहरु पेश गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा अस्पताल नजिक रहेको बागीश्वरी कलेजका ज्ञानसागर प्रजापति, बागीश्वरी मा. वि. का कृष्णप्रसाद धन्छा, इन्जिनियरिड्ड विष्णुकुमार प्रजापति, महिला स्वास्थ्य स्वयंसेविका तारादेवी धन्छा, अस्पताल व्यवस्थापक अनु ह्योंमिखा, वातावरणविद कमलराज गोसाईलगायतले ख्वप अस्पताल निर्माण र सञ्चालनको क्रममा आउनसक्ने नकारात्मक वातावरणीय प्रभावको विषयमा चर्चा गर्दै न्यूनीकरण कार्यमा यथासम्भव सबैले ख्वप अस्पताललाई स्तरीय र सुविधा सम्पन्न बनाउन लिखित सुझावहरु पेश गरे।

प्रकाशित: ८ वैशाख २०७९ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App