coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अस्पताल सम्बन्धी अध्ययन तथा अनुसन्धान हुन आवश्यक छ: डा. ज्ञवाली

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं शिखर सम्मेलनले स्वास्थ्य सम्बन्धी अनुसन्धनात्मक उत्पादनलाई जनतामाझ पुर्‍याउनु पर्नेमा जोड दिएको छ।

गत चैत्र २८ र २९ गते काठमाडौंमा बसेको सम्मेलनले छलफलमा उठाइएका कुरालाई नीति बनाएर स्वास्थ्यको क्षेत्रमा गरेका अनुसन्धानलाई सर्वसाधारण जनतामा पुर्‍याउनु पर्ने कुरामा जोड दिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए।

उनले अब अस्पताल सम्बन्धीका अध्ययन तथा अनुसन्धानहरु हुन आवश्यक रहेको पनि बताए। सदस्यसचिव ज्ञवालीले सम्मेलनमा विशेष गरेर क्लिनिकल ट्रायल (परीक्षण) गर्न सक्नेगरी विकास गनुपर्नेमा छलफल भएको पनि बताए।

उनले छलफलमा नेपालमा भएका जडिबुटीहरुलाई नेपालमै औषधि उत्पादन गरेर कसरी विश्व बजारमा पुर्‍याउन सकिन्छ भन्ने कुरामा पनि विशेष जोड दिइएको बताए। सदस्यसचिव ज्ञवालीले मुलुकलाई समृद्धितर्फ लैजानको लागि सहज परीक्षणको व्यवस्था हुनुपर्ने बताए। 

उनले सम्मेलनमा स्वास्थ्य सम्बन्धी अध्ययन, अनुसन्धानको विषयलाई संघीय स्तरमा लैजानु पर्ने र चाँडो जनताका आवश्यक्तालाई अध्ययनका उत्पादित सामग्रीले परिपूर्ति गर्न सक्नुपर्ने पनि बताए। उनले संघीय स्तरमा स्वास्थ्य सेवा प्रणालीको सुदृढिकरण, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा र यसको अवसर तथा चुनौतिका बारेमा छलफल भएको पनि बताए।

सदस्यसचिव ज्ञवालीले तीव्र गतिमा जनताका आवश्यक्तालाई सम्बोधन गर्न अध्ययन, अनुसन्धानको स्तरवृद्धि गर्नका लागि संघीय प्रणालीबाट जान आवश्यक रहेको पनि बताए। सदस्यसचिव ज्ञवालीले अनुसन्धान परिषद्लाई काम गर्न नसकेको भनेर मिथ्या आरोप लगाउन खोज्नु गलत भएको बताए।

उनले नेपालमा केहि नीतिगत र कानूनी अड्चनको कारणले क्लिनिकल ट्रायल गर्ने उपयुक्त ल्याब तथा परीक्षण केन्द्र नहुँदा कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गर्ने लगायतका कुरामा पछि परेको बताए।

कोरोनाकालमा गर्न सकिने धेरै अध्ययन अनुसन्धान हुन नसके पनि सदस्यसचिव ज्ञवालीले अहिले अनुसन्धान परिषद्मा बजेटको हिस्स बढेको र केहि नीतिगत सुधार भएकोले आगामी दिनमा यसले गति लिने बताए।

अनुसन्धान परिषद् कार्यप्रगतिले पनि नेपालीहरुको मन जित्नेमा विश्वस्त रहेको बताए। उनले अबका दिनमा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरु नेपालमा काम गर्न आउने वातावरण बनिरहेकोले वैज्ञानिकहरुको पुस्ता बढ्दै जाने पनि बताए। सदस्यसचिव ज्ञवालीले मुलुकमा रिसर्चका माध्यमबाट धेरै काम गर्न सकिन्छ भन्ने कुराको अवगत भएको पनि बताए।

सदस्यसचिव डा. ज्ञवालीले आठौं सम्मेलनमा करिव १० लाख (अनलाइन र भर्चुवल माध्यमबाट) अनुसन्धानकर्ताहरुले सम्मेलनमा सहभागी बनेको र आगामी दिनमा अनुसन्धानप्रतिको चासो बढ्दै जाने कुरामा विश्वस्त रहेको बताए।

उनले नेपालमा अध्ययन, अनुसन्धानका लागि टेक्नोलोजीको कमी रहेको र अभ्यास परीक्षणका कुराहरुको कमी भएकोले यसलाई बढाउन सके अनुसन्धानको क्षेत्रमा उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गरे।  

प्रकाशित: ३ वैशाख २०७९ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App